अहिले देशैभर पशुमा लम्पीस्किन फैलिँदै गएको छ । तनहुँमा पनि हाल लम्पीस्किन फैलिँदै गइरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ।
यही जेठ १४ गतेसम्म तनहुँमा छ सय ४६ गाईगोरुमा लम्पीस्किनको सङ्क्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए।
जिल्लाका १० वटै पालिकामा लम्पीस्किन फैलिएको उनले बताए। लम्पीस्किनको सङ्क्रमणबाट आँबुखैरेनी गाउँपालिका बढी प्रभावित रहेको डा श्रेष्ठले बताए।
उनका अनुसार आँबुखैरेनीमा दुई सय ३५, भिमाद नगरपालिकामा एक सय ८५, देवघाट गाउँपालिकामा ३८, घिरिङ गाउँपालिकामा ८७, शुक्लागण्डकी नगरपालिकामा ४५, बन्दीपुर गाउँपालिकामा २४, भानु नगरपालिकामा २१ र व्यास नगरपालिकामा १० पशु लम्पीस्किनको सङ्क्रमणबाट प्रभावित भएका छन्। म्याग्दे गाउँपालिकाको हालसम्म तथ्याङ्क नआएको उनले बताए।
ऋषिङ गाउँपालिकामा भने कम सङ्ख्यामा पशुमा सङ्क्रमण देखिएको उनले बताए। डा श्रेष्ठका अनुसार सङ्क्रमण भएका पशुमध्ये ४३ गाईगोरु मरेका छन्। आँबुखैरेनीमा १६, भिमादमा ११, घिरिङमा ११, बन्दीपुरमा दुई, देवघाटमा दुई र म्याग्देमा एक गाईगोरु लम्पीस्किनको सङ्क्रमणबाट मरेको उनले बताए।
‘खासगरी यस रोगबाट मर्ने नै अवस्था होइन, तर समयमा पशुपालक किसान, स्थानीय सरकार र विज्ञ केन्द्र नै सचेत हुनुपर्ने हुन्छ,’ उनले भने।
व्यवसायिकरुपमा बढी पशु पालिएका क्षेत्रमा सङ्क्रमण फैलिए बढी नोक्सान हुनसक्ने उनको भनाइ छ। ‘यसको निर्मूल तथा नियन्त्रणका लागि पालिका मुख्यरुपमा सचेत हुनुपर्छ, यसका लागि सर्कुलेशन गरिसकेका छौँ,’ उनले भने, ‘विशेषगरी लम्पीस्किन लागिसकेका पशुको उपचार र नियन्त्रणका मुख्य उपाय नै खोप हो, यसका लागि पालिकाका सचेतता आवश्यक छ, पालिकाले खोप खरिद गर्नुपर्छ।’
खोप लगाएर पशुवस्तुको ‘इम्युनिटी पावर’ वृद्धि गर्नुपर्ने उनले बताए।