खगेन्द्र दाहाल, नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिकाले कृषि क्षेत्रलाई मध्यनजर गरेर बजेट विनियोजन गरेको थियो । जस मध्य एक वडा एक नमुना फर्म कार्यक्रम पनि एक हो । गाउँपालिकामा दर्ता भएका पहिले नै व्यवसायिक रुपमा कृषि कर्म गरिरहेका किसानहरुलाई प्रोत्साहन दिने उदेश्यले कार्यक्रम तय भएको भएपनि किसानहरुले भने उक्त कार्यक्रममा चासो नदेखाएको पाइएको हो ।
गाउँपालिकाको कृषि शाखाले निर्वाचन अघि नै अनुगमन गरि आर्थिक विकास समितिमा पेस गरेको र आर्थिक विकास समितिले कार्यपालिका बैठकमा कार्यक्रम संचालनको कुरा उठाएपनि हाल सम्म उक्त कार्यक्रम किसानमाझमा संचालन हुन सकेको छैन । किसानको कार्यक्रम प्रति चासो नबढ्नु र परेका सिमित निवेदन प्रति पालिकाले निर्णय गर्न ढिलाई गर्नुले खजुराको कृषि विकासमा ढिलासुस्ति हुँदै गएको देखिएको छ । खजुराका ८ वडामा संचालन गर्ने गरि ५ लाख कुल बजेट मात्र पालिकाले उक्त कार्यक्रमका लागि छुट्याएको हो । कृषि शाखाका प्रमुख पुनम पोखरेलले कृषिमा प्रर्वद्धन गर्ने उदेश्यका साथ उक्त कार्यक्रम संचालन गर्न लागिएको जानकारी दिइन ।
उक्त कार्यक्रमका लागि वडा नम्बर १ बाट १ वटा फार्म, वडा नम्बर २ बाट २ वटा फार्म, वडा नम्बर ३ बाट तिन देखि चार वटा फार्म, वडा नम्बर ४ बाट एकवटा फार्म, वडा नम्बर ५ बाट चारवटा फार्म, वडा नम्बर ६ बाट कुनै पनि फार्मले निवेदन नदिएको, वडा नम्बर ७ बाट तिनवटा र वडा नम्बर ८ बाट दुई देखि तिन वटा फार्मले मात्र कार्यक्रम प्रति चासो दिएर मागस्वरुप निवेदन दिएको कृषि शाखाले जनाएको छ । किसानको निवेदन माथि अनुगमन भएर प्रक्रिया अघि बढाइएको खजुरा गाउँपालिका आर्थिक विकास समितिका संयोजक तथा वडा नम्बर ५ का वडाध्यक्ष गरिवे शेखले जानकारी दिए । आर्थिक विकास समितिका संयोजक शेखका अनुसार हरेक वडाका एक फार्मलाई ६० हजारका दरले विउ विजन, कृषि सामग्री, सिचाँई तथा किसानको आवश्यकता अनुसार उपलव्ध गराईने छ ।
कार्यक्रम संचालनका लागि खजुराका च्याउ उत्पादक किसान, तरकारी उत्पादन र ड्रागन फुड उत्पादन गरिरहेकाहरुले आवेदन दिएको कृषि शाखाले जनाएको छ । सबै प्रक्रिया लगभग सकिएको छ केहि दिन भित्रै उक्त कार्यक्रम किसानमाझमा पुगाउने छौं आर्थिक विकास समितिका संयोजक शेखले जनाए । शेखले यो कार्यक्रम संचालन गर्न छुट्याइएको सिमित बजेटले नपुग्ने भएकाले अर्को बजेटमा थप परिमार्जन गरि किसानको फार्मलाई नमुना बनाउने उल्लेख गरे । जुन रुपमा किसानको आर्कषण देखिएको छैन त्यसलाई पनि मध्यनजर गर्दै किसानको चाहना बमोजिम आगामि कार्यक्रम निर्माण गरिने शेखले जनाए ।
खजुरा गाउँपालिकाले चालु आर्थिक वर्षमा पशुसेवा छाडेर कृषि तर्फ मात्र १ करोड ८८ लाख ३७ हजार बजेट विनियोजन गरेको थियो । जसमा ३४ बुदे शिर्षकमा कृषि तर्फ विभिन्न कार्यक्रमहरु निर्धारण गरिएका छन । जसमध्ये १ वडा १ नमुना फार्म कार्यक्रम पनि एक हो ।