विराटनगर: विराटनगर महानगरपालिकाले कुकुर व्यवस्थापनमा ४० लाख रुपैयाँ खर्चिने भएको छ । महानगरले साहारा एनिमल केयरसँगको सहकार्यमा कुकुर व्यवस्थापनको काम थालेको छ । कुकुरको संख्या बढ्न नदिन महानगरले बन्ध्याकरण गर्ने काम गरिरहेको छ । त्यस्तै कुकुरलाई रेविजमुक्त बनाउन रेविजविरुद्धको खोप लगाउन थालिएको महानगरको पशुपंक्षी विकास शाखा प्रमुख शुभनारायण यादवले बताए ।
यादवअनुसार एउटा कुकुरको बन्ध्याकरण र खोपमा २ हजार ५ सय रूपैयाँ खर्च हुन्छ । महानगरले ६ महिनामा १ हजार ६ सय कुकुर व्यवस्थापन गर्ने योजना बनाएको छ । महानगरभित्रका कुकुरको व्यवस्थापन गर्न ४० लाख रूपैयाँ खर्च लाग्ने र त्यो सबै महानगरले व्यहोर्ने यादवले बताए ।
महानगरका मेयर नागेश कोइरालाले कुकुर व्यवस्था कार्यक्रमको सोमबार विराटनगर–१९ को वडा कार्यालयबाट उद्घाटन गरेका छन् । यो अभियानको पहिलो दिन विराटनगरका विभिन्न स्थानका ३४ कुकुरलाई नियन्त्रणमा लिएर बन्ध्याकरण गरिएको छ ।
विराटनगर–१९ मा रहेको पशुसेवा सम्पर्क कार्यालयमार्फत बन्ध्याकरण गर्न थालिएको यादवले बताए । विराटनगरका सबै वडाभित्र रहेका सामुदायिक कुकुर नियन्त्रणमा लिएर बन्ध्याकरण र खोपका लागि केन्द्रमा पुर्याइनेछ । केन्द्रमा पशु विशेषज्ञबाट मेल र फिमेल कुकुरको बन्ध्याकरण गरिने उनले बताए । बन्ध्याकरण गर्दै रेविजको खोप लगाएपछि कुकुरलाई नियन्त्रणमा लिएकै स्थानमा लगेर छाडिनेछ । बन्ध्याकरण गरिएका कुकुरलाई मासु, अण्डालगायतका खानेकुरासमेत खुवाइने शाखा प्रमुख यादवले बताए ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाका अनुसार पहिलो चरणमा ४ सय कुकुरको बन्ध्याकरण गर्नुका साथै रेविजविरुद्धको खोप लगाइनेछ । त्यसको सबै खर्च महानगरले बेहोर्ने र प्राविधिक सहयोग सहाराले गर्ने सम्झौता छ । त्यसपछि महानगर र सहाराले ६/६ सय कुकुरको बन्ध्याकरण गर्ने र रेविजविरुद्धको खोप लगाउने सम्झौता भएको अधिकृत कोइरालाले बताए ।
मेयर कोइरालाले विराटनगरमा सामुदायिक कुकुरको समस्या रहेकाले व्यवस्थापनका लागि अभियान सञ्चालन गरिएको जानकारी दिए । ‘हिँडडुल गर्दा कुकुरले झम्टिने, टोक्ने तथा जथाभावी सडक पार गर्दा दुर्घटनाको जोखिम बढ्न थालेपछि कुकुर नियन्त्रण अभियान थालिएको हो । कोइरालाका अनुसार बन्ध्याकरण गरिएका र खोप लगाएका कुकुरलाई ‘रिफ्लेक्टिभ बेल्ट’समेत बाँधिने छ । बेल्ट बाँध्दा बन्ध्याकरण र खोप लगाएको सहजै थाहा हुने उनको भनाइ छ ।