किसानलाई ज्ञान दिन बर्दियामा कृषक पुस्तकालय तथा ज्ञान कक्ष


गुलरिया : एकिकृत कृषि तथा पशुपन्छि विकास कार्यालय बर्दियाले कृषक पुस्तकालय तथा ज्ञान कक्षको शुभारम्भ गरेको छ । एकिकृत कार्यालयले एक कार्यक्रमको आयोजना गर्दै ज्ञान कक्षको शुभारम्भ भएको जनाएको छ । कृषक पुस्तकालय तथा ज्ञान कक्षको उदघाटन भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशका सचिव याम नारायण देवकोटाले गर्नुभएको थियो ।

कृषकहरुलाई विषयगत ज्ञान बृद्धिका लागी सबै प्रकारका प्राविधिक पुस्तकहरु, उपयोगि सामाग्रीको प्रर्दशनी सहितको पुस्तकालय स्थापना गरिएको एकिकृत कृषि तथा पशुपन्छि विकास कार्यालय बर्दियाका प्रमुख विनोद घिमिरेले जानकारी दिनुभयो । कार्यालयमा सेवा लिन आउने किसानहरुलाई समयको सदुपयोग तथा कृषि ज्ञानका कुरा सिकाउन कक्षको निर्माण गरिएको हो । ज्ञान कक्षमा किसानहरुले तत्काल भोगिरहेका समस्या समाधानका लागि अडियो तथा भिडियो मार्फत पनि सेवा प्रदान गरिने कार्यालयका प्रमुख घिमिरेले जनाउनुभयो ।

शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव देवकोटाले कृषकहरुको ज्ञान क्षमतामा वृद्धि गर्न, तत्काल समस्या समाधान र प्रविधि हस्तान्तरण समेतका लागी कृषक पुस्तकालय, किसान कल सेन्टर, कृषक सहयोगी कक्ष र बल्क एस एम एस सेवा संचालनमा ल्याइएको बताउनुभयो । कृषक पुस्तकालय तथा ज्ञान कक्षको स्थापना पछि कृषि प्रविधि हस्तान्तरण, समस्या समाधान र सुचनाको पहुंचमा बृद्धि हुने अपेक्षा लिइएको कार्यालय प्रमुख घिमिरेले जनाउनुभयो ।

Leave a Reply

Your email address will not be published.