मल नपाएपछि बाँकेका किसान चिन्तामा


नेपालगञ्ज : धानको व्याडमा हाल्ने मल नपाएपछि बाँकेका किसान चिन्तामा परेका छन् । असार लागिसक्दा पनि धानको विउ राख्ने व्याडमा हाल्नका लागि समेत रासायनिक मल नपाएको किसानहरुको गुनासो छ । ब्याडमा मल हाल्न नपाए बीउ नसप्रिने र उत्पादनमा कमी आउने नेपालगञ्ज उपमहानगरपालिका– १८ लग्दहवाका मनोजकुमार सोनकरले बताउनुभयो । मल खरिदका लागि दैनिक सयौँ किसान नेपालगञ्जस्थित कृषि सामग्री कम्पनी पुग्ने गरेका छन् ।

मल नपाउदा उनीहरू रित्तो हात घर फर्किन बाध्य छन् । नेपालमा मल नपाएपछि यहाँका किसान भारतीय बजार धाउन बाध्य भएको डुडुवा गाउँपालिका–६ का कृषकहरुले बताएका छन् । कृषि सामग्री कम्पनीमार्फत किसानलाई वितरण गरिने अनुदान सहुलियतको मल पर्याप्त नआउदा वर्षेनी किसानहरुले तनाव झेल्ने गरेका छन् । बाँकेमा धान खेतीका लागि एक हजार २०० मेट्रिक टन डिएपी, तीन हजार मेटिक टन युरिया र ५० मेट्रिक टन पोटास मल आवश्यक पर्छ । न्यून परिमाणमा मात्र मल प्राप्त भएको कार्यालय प्रमुख रमेश पौडेलले बताउनुभयो ।

हाल ३३५ टन डिएपी मल प्रदेश कार्यालय भैरहवाबाट प्राप्त भएको र युरिया तथा पोटास धान रोपाइँको समयमा आउने प्रदेश कार्यालयले जनाएको छ । कार्यालयले बाँकेका १०७ सहकारी संस्थामार्फत किसानलाई मल वितरण गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published.