आयात घटाउन बाँकेमा मसिनो धान खेती


बैशाख, नेपालगन्ज : भारतबाट हुने आयात घटाउन नेपाल सरकारले विगत १०/१५ वर्ष यतादेखी मसिनो धानको उत्पादनमा जोड दिएको छ । धान बढी फल्नुका साथै महंगोमा विक्रि हुन थालेपछि बाँकेका किसानहरु मसिनो धान उत्पादन गर्नेतर्फ आर्कषित भएका छन् ।

बाँके राप्तिसोनारी गाँउपालिका वडा नं ६ हब्रहवाका कृषक जमुना थारुले विगत ३ वर्ष देखी मसिनो धान रोप्दै आएकी छिन् । २ विघा जग्गामा मोटो धान (राधा ४) ४० क्विन्टलसम्म फल्ने गरेकोमा मसिनो धान (सुपरमोति) ६७ क्विन्टल उत्पादन हुने गरेको उनले बताइन् ।

उत्पादनमा दोब्बरले वृद्धि हुनुका साथै महंगोमा विक्रि हुने भएकाले मसिनो धान रोप्नतर्फ किसानहरुको आर्कषण बढ्दै छ । जमुनाजस्तै राप्तिसोनारी ६ सिधनुवाकि रामप्यारी थारुले पनि डेढ विघामा मोटो धान ३० क्विन्टल उत्पादन भएकोमा मसीनो धान ४० क्विन्टल उत्पादन भएको बताइन् ।

राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजनाका कारण सिंचित क्षेत्र बढेपछि मसिनो धान रोप्ने किसानहरु बढ्न थालेका छन् । बाँकेमा ३६ हजार हेक्टरमा धान खेति हुने गरेकोमा ३० प्रतिशतमा मसिनो धान रोप्ने गरीएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । मसिनो धानको उत्पादन बढाउन सरकारले पनि प्रोत्साहन गरीरहेको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले बताए ।

तर मसिनो धान उत्पादन गर्न सिँचाई धेरै चाहिने, मोटो धान भन्दा करीब एक महिना ढिलो पाक्ने भएकाले वरपरको धान पसाउने बेलामा अन्य धानबाट किराहरु आउने समस्या रहेको किसानहरुले बताएको उनले जानकारी दिए । सबै क्षेत्रमा सिंचाई सुविधा पुगेपछि यो समस्या हट्ने ढकाल बताउछन् ।

भारतबाट हुने आयात घटाउन विगत १० वर्ष देखि सरकारले मसिनो धानको उत्पादनमा जोड दिदै आएको उनले बताए । विगत २ वर्ष यता यूएसएडको किसान २ परीयोजनाले पनि बाँकेका ३ वटा राइसमिल मार्फत मसिनो धान उत्पादनमा जोड दिएको छ । नेपालगन्ज फुल्टेक्रास्थित साहु राइस मिलका सन्चालक जवारलाल तेलीले किसानहरुलाई आवश्यक परेको बेलामा सहयोग गर्ने गरेको बताए । किसानलाई मल, विउ किन्दा आवश्यक परेको रकम दिएर सहयोग गर्ने गरेको उनले बताए ।

बाँकेमा स्थानीय जात सावा मन्सुली, श्याम जिरा, काला नमक लगायतका मसिनो धानको खेति हुँदै आएको छ । साथै ज्ञान केन्द्रले कृषि अनुसन्धानबाट विकास भएका मसिनो धानको जातलाई प्रवद्धन गरीरहेको छ । यसवर्ष अभियानका रुपमा बैजनाथ ८ मा १६ हेक्टरमा मसिनो धान रोप्ने तयारी गरेको ज्ञान केन्द्र प्रमुख सागर ढकालले जानकारी दिए । केन्द्रले मसिनो धानको उत्पादन बढाउन विउमा अनुदान दिन स्थानीय तहलाई सुझाव समेत दिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published.