चितवनका युवा उधमी लेखनाथ भुसालको रहरलाग्दो कृषि,कृषि ब्यबसायबाट बार्षीक लाखौंको आम्दानी गर्दै”- भरतपुर महानगरपालिका २५ अमृतनगरका ३१ वर्षीय लेखनाथ भुसाल पनि तरकारी खेतीमा रमाईरहेका छन् । समिर एग्रो इन्टरप्रेनरसिप एण्ड मार्केटिङ्ग फार्म सञ्चालन गरी भरतपुर २० भिमनगर र बद्रर्यानीमा उनले सात वर्षदेखि तरकरी खेती गर्दै आएका छन् । तरकारी खेती गर्नु अघि उनी शिक्षण पेसामा थिए । उनी जागिर छोडेर तरकारी खेतीमा लाग्नुको कारण २०७२ सालको भूकम्पपछि भारतले लगाएको नाकाबन्दी हो ।
नाकाबन्दीले नै उनलाई तरकारी खेती गर्न सिकायो । नाकाबन्दीमा देखिएको अभाव महसुस गर्दै उनले व्यवसायीक तरकारी खेती सुरु गर्ने योजना बनाए । उनले एक बिघाबाट खेती सुरु गरे । अहिले क्षेत्रफल बढेर पाँच बिघा भइसकेको छ । टमाटर, काउली बन्दा करेला, लौका, घिरौला, फर्सीलगायतका मौसन अनुसार तरकारी उत्पादन गर्ने गरेको उनी बताउँछन् । चितवनसँगै पोखरा, बुटवल, भैरहवाको बजारमा तरकारी पठाउने गरेको उनी बताउँछन् ।
तरकारीबाट नै वार्षिक पाँच लाखसम्म आम्दानी हुने गरेको उनी बताउँछन् । बजारमा तरकारीको माग बढ्दै गएको तर आवश्यक मल र राम्रो खालको बिउ नपाउँदा भने समय समयमा समस्या हुने गरेको उनी गुनासो गर्छन् । यस्तै बिचौलियाका कारण पनि किसान मारमा पर्ने गरेको उनको गुनासो छ । त्यस्तै उनले भरतपुर २५ अमृतनगरमै १ सय बिघामा १८ जना साथीहरु मिलेर सामुहिक तरकारी खेती पनि गरेका छन् । ६० बिघामा सुरु गरेको तरकारी खेती अहिले अहिले एक सय बिघा पुगेको छ । तरकारी खेतीलाई थप विस्तार गर्दै लैजाने योजना रहेको उनी बताउँछन् ।
चितवनमा अहिले तरकारी खेती गर्नेको संख्या बढ्दै गएको कृषि ज्ञान केन्द्रको तथ्याङ्कले देखाउँछ । आर्थिक वर्ष २०७७-७८ मा सात हजार तीन सय २० हेक्टर क्षेत्रफलमा तरकारी खेती गरिएको थियो । जसमा ९६ हजार चार सय चार मेट्रिक टन तरकारी उत्पादन भएको थियो । यस्तै आव २०७६-७७ मा सात हजार दुई सय ६५ हेक्टर तरकारी खेती गरिएकोमा ९५ हजार ६ सय मेट्रिक टन उत्पादन भएको थियो । आव २०७५-७६ मा सात हजर दुई सय हेक्टरमा तरकारी खेती गर्दा ९४ हजार आठ सय २४ मेट्रिक टन उत्पादन भएको थियो । तस्वीर तथा जानकारी – लेखनाथ भुषाल