वेलायत छाडेर नेपालमै कुखुरा पालेरै मासिक ३० लाख आम्दानी


  • 338
    Shares

कुरा करिब दुई दशकअघिको हो । विदेश गएर श्रम र सीप बेच्ने लहर चलिसकेको थियो । वरिपरिका साथी-सर्कल विदेश हेलिइसकेको, यता कुनै इलम नमिलेकाले उनलाई पनि त्यतैतिर जाउँ, जाउँ भइरहेको थियो ।

यस्तै मनोदशामा अल्झिरहेका उनलाई एक दिन बेलायतबाट आफन्तले फोन गरेर सोधनी गरे- के गर्दैछौं ?

उनी अर्थात् नेपाल फुड एण्ड मिट प्रोडक्सन कम्पनीका कृष्ण श्रेष्ठले धक नमानी गुनासो पोखे- खासै केही छैन । विदेशको चाँजोपाँजो मिले उतै जाने विचारमा छु ।’

आफन्तले उताबाट उकेरा हालिहाले-वर्किङ भिसामा बेलायत आऊ । मेरै रेस्टुरेन्टमा कामदार चाहिएको छ । यहीँ काम दिन्छु ।’

रोजगारीका लागि कुनै एक देश जाने सोचमा रहेका कृष्ण बेलायतबाट, त्यसमा पनि रेस्टुरेन्ट भएका आफन्तले नै बोलाएपछि उत्साहित नहुने कुरै भएन ।

‘बेलायतमा रहेका आफन्तले वर्किङ भिसामा आऊ, काम दिन्छु भनेपछि मेरो मन संसार नै जितेजस्तो गरी फुरुंग उड्यो,’ प्याजको पत्रपत्रजस्तो गरी बसेको स्मरणको एउटा पत्र उप्काउँदै उनले भने ।
बेलायतका लागि भिसा आयो । उनी आफ्नो परिवार र देशलाई छाडेर सात समुन्द पार गर्दै बेलायत पुगे ।

उनलाई लागेको थियो- बेलायत आइपुगेँ । अब धीत मर्नेगरी पैसा कमाउने छु । पूरा हुन नसकेका सपनालाई सरप्राइज दिनेछु ।
३-४ महिना त्यहाँ काम गरे । तर उनको उत्साह धेरै समय टिक्न पाएन । आर्थिक नोक्सानीका कारण आफन्तको रेस्टुरेन्ट बन्द भयो । भिसा पनि त्यही बेला सकियो । आपतमाथि आपत पर्‍यो ।
घन बजारेजस्तो उनका सपना मुर्छित् भए ।
‘आफन्तको रेस्टुरेन्ट बन्दको समाचार नेपालमा भएको भए एउटा सामान्य घटना हुन्थ्यो । तर आफ्नो भविष्यसँग जोडिएकाले टाउकोमा घन बजारेजस्तै पीडादायक भयो,’ कृष्णले बिर्संनलायक त्यो अतीतबारे खुलाए ।

त्यसपछि त उनको दुःख र कष्टको महाभारत सुरु भइहाल्यो । आफन्तले संरक्षण दिएनन् । अन्यत्र काम गर्न कानूनी जटिलता थिए ।

जीवनमा पहिलो पटक अति संकटले घेरा हाल्यो । उनी सडकमा पुगे ।
झण्डै सात दिन सडकलाई ओछ्यान र खुला आकाशलाई ओढ्ने बनाएको कृष्ण सुनाउँछन् ।
स्वदेशमा भए कसैले सोधनी गर्दो हो- बाबु के भएर सडकमा बस्यौं । तिमीले के खायौं ।’

तर त्यो बिरानो मुलुकमा उनलाई न कसैले केही खान दियो, न सोधनी नै गर्‍यो ।
धन्न, खल्तीमा पैसा थियो र सुत्नजस्तो समस्या परेन ।

झण्डै एक साता त्यसरी नै युकेको सडकमा गुजारेको र त्यसपछि चिनेका दाइहरूको सहायताले त्यो संकटबाट मुक्त भएर बेलायतमा ३ वर्ष संघर्ष गरेको कृष्ण सुनाउँछन् ।

त्यसपछिका दिनमा पनि उनी कहिले दुबई पुगे त कहिले द्वन्द्वग्रस्त मुलुक अफगानिस्तान । अफगानिस्तानमा उनी ३ वर्ष बसे । यो दौरानमा भोगेका हण्डर, ठक्कर अनि भुक्तमान बेहिसाब छन् । व्यावसायिक सफलताबाट करोडौंका मालिक बनेका कृष्ण आफैंलाई अहिले ती संघर्ष सपनाजस्ता लाग्छन् ।

भनिन्छ, कोशौं गुल्टिँदा गुल्टिँदा खँदिलो बन्छ ढुंगा । मानवले भोग्ने हण्डर, ठक्कर पनि नदीमा ढुंगाले भोगेजस्तै एउटा गुल्टाइ रहेछ । त्यही गुल्टाइले उनको आँखा खुल्यो । उनी स्वदेशमा केही गर्ने सच्चाइ बोकेर झण्डै एक दशकको विदेशयात्रा बिट मारेर स्वदेश फर्किए । यो एक दशकअघिको कुरा हो ।

घुम्दा-घुम्दै पोल्ट्रीमा

विदेशबाट फर्किए पनि सुरुमा कृष्णलाई पोल्ट्री (कुखुरापालन) को सोच फुरेकै थिएन । बरू उनलाई विदेशबाट चामल आयात गरेर नेपालमा बिक्री गर्ने भूत चढेको थियो ।

तीन वर्ष उनले भारतबाट चामल आयात गरेर नेपालीको भान्छामा पुर्‍याए । भोक मर्‍यो तर उनलाई खासै पोस आएन ।
त्यसको विकल्पबारे कृष्ण सोच्दै थिए । एक मनले भन्दै थियो, फेरि विदेश जाऊ । तर विदेशमा त्यति ठूलो भुक्तमान खेपिसकेकाले अर्को मनले यतै बस्न भन्यो ।

भाइले रामपुरमा जग्गा प्लटिङ गरेका थिए । बेलाबेला उनीसँगै टहलिन पुग्थे । त्यही क्रममा उनलाई त्यहाँ पालिएको कुखुराले लोभ्यायो । मनमा हुटहुटी जाग्यो- मैले पनि कुखुरापालन गरे कसो होला ?
मनमा टुसाएको त्यही सोचले छिट्टै आकार लियो । तर एक्लै गर्ने हिम्मत नै आएन । उनीजस्तै ३/४ जना मिलेर २ हजार ब्रोइलर कुखुरा खोर बनाएर हुले ।
पहिलो लटको कुखुराले खल्तीमा मुनाफा हालिदियो ।

केही समय साझेदारीमै यो काम अघि बढ्यो । पछि अलग अलग गर्ने सोच आयो । सहमतिमै उनीहरू छुट्टिए ।
दुई हजार बोइलर कुखुरापालनबाट यो क्षेत्रमा प्रवेश गरेका उनले संख्या बढाउँदै बढाउँदै लगे । अहिले खोरमा ६५ हजार लेयर्स छन् । आगामी दिनमा यसलाई अझै बढाएर एक लाख पुर्‍याउने सोच कृष्णको छ ।

‘अहिले मेरा फार्ममा ६५ हजार लेयर्स छन् । त्यसलाई अझै बढाएर एक लाखसम्म पुर्‍याउने सोच छ,’ फरासिला कृष्णले भावी योजनाको पोको सरक्क फुकाए ।
यही मेसोमा हामीले कृष्णलाई सोधिहाल्यौं- यो व्यवसाय कतिबाट सुरु गर्नु भएको हो ?
कृष्णका अनुसार, उनले सुरुमा १० लाख मात्र लगानी गरेका थिए । उनले पछि लगानी थप्दै गए । तर त्यही कुखुराको आम्दानीबाट ।

कृष्णले १० लाखको थैलीबाट सुरु गरेको व्यवसायको ढुकुटी अहिले कतिको भयो होला ?
प्रसन्न मुद्रामा कृष्णले हिसाब सुनाए- त्यही १० करोड जति पुग्यो होला ।

मिहिनती कृष्णले हासिल गरेको सफलता देखेर चिन्नेहरू अचम्मित छन् । अधिकांशले एउटै प्रश्न दोहोर्‍याउँछन्, फलानोले कुखुरामा गरेको लगानी डुबायो । तिलानो ऋणमा डुबेर परदेश भास्सियो । तिमीले कसरी छलाङ हान्यौं ?
तिनलाई कृष्णले दिने एक शब्दको सरल जवाफ छ- धैर्यता ।

कृष्णका अनुसार, केही हजार कमाउन विदेश जानै पर्दैन । त्यहाँ हुने कमाइ यही परिवारसँग बसेर सजिलै आर्जन गर्न सकिन्छ । तर त्यसका लागि एउटा सर्त चाहिँ पूरा गर्नुपर्छ । सर्त छ-धैर्यता ।

‘धेरैको मनस्थिति हुन्छ कि लगानी गर्ने बित्तिकै करोडौं मुनाफा होस् । व्यवसायमा एकै पटक सफलता मिल्दैन । यसका लागि धैर्यता चाहिन्छ । धैर्यतासँगै काम गर्ने ज्ञान र सीप भए सफलताबाट व्यक्तिलाई कसैले अलग गराउन सक्दैन,’ कृष्णले आफ्नो सफलताको राज भेट टाइम्ससँग खोले ।

सफलताले धेरै मान्छे उन्मुक्त हुन्छन् । घमण्डले चूर बन्छन् । किसान पृष्ठभूमिबाट संघर्ष गरेका कृष्णले अहिले हासिल गरेको सफलता तरतरो हुँदै होइन । तर उनमा न कुनै दम्भ छ न बडप्पन । फरासिला कृष्ण शान्त छन्, नदीको तलाउजस्तै ।
सफल पोल्ट्री व्यवसायी कृष्ण सामाजिक उत्तरदायित्वप्रति उत्तिकै सचेत छन् । आफूलाई ठूला व्यवसायीको पगरी गुथाउने पाप धर्मको प्रवाह नगरी पसिनामाथि खेलबाड गरिरहेका छन् । तर कृष्णको भावना निकै फराकिलो छ । तल छुटेकालाई हात दिएर माथि उकाल्नुपर्छ भन्ने उन्नत सोच छ उनमा । त्यसैले उनी आफ्नो व्यस्त दैनिकीबाट केही समय निकालेर कुखुरापालक साना किसानको दैलो चहारिरहेका हुन्छन् । कसैलाई कुखुरापालनको व्यवहारिक ज्ञान बाँड्छन्, कसैलाई दाना बनाउने टिप्स दिन्छन् ।

‘साना किसानहरू ज्ञानको अभावले निकै ठगिएका छन्, उनले किसानप्रतिको दायित्व निर्वाह गर्नुको कारण खुलाउँदै कुराकानीको बिट मारे, ‘मानिस हुनुको नाताले तिनको उत्थानमा भूमिका छ भन्ने ठानेर यस्तो प्रयास गरेको हुँ ।’

तीन दर्जनलाई जागिर
कुनै बेला रोजगारीका निम्ति आफैं विदेशतिर भौतारिएका कृष्णले अहिले झण्डै तीन दर्जनलाई इलम दिएका छन् । त्यसमध्ये ४-५ जना कार्यालयमा र बाँकी फार्म तथा दाना उद्योगमा काम गर्छन् ।
‘नेपालमा आफैंले युवाहरूलाई रोजगारी दिन पाउँदा निकै खुसी लाग्छ,’ रोजगारीका लागि कुनै समय भौतारिएको दिन सम्झिँदा अहिले कस्तो लाग्छ भन्ने भेटको जिज्ञासामा उनले प्रसन्नता व्यक्त गरे ।
त्यसो त पुगीसरी आयो भनेर कृष्ण आफैं पनि गजक्क परेर बस्दैनन् । ‘म मिहिनती मान्छे । केही नगरी उसै बस्न मनले मान्दैन,’ उनले सुनाए ।
पोल्ट्री क्षेत्रको कार्य प्रकृति नै त्यस्तै भएकाले उनी बिहानदेखि राति अबेरसम्म कार्यक्षेत्रमा खटिइरहेका हुन्छन् । ‘काम गर्‍यौं भने नै माम पाइने हो । त्यसैले म अल्छी नमानी बिहानैदेखि व्यस्त हुन्छु ,’ उनले सुनाए ।

प्रारम्भमा उनले ग्लोबल, पोषकलगायत कम्पनीको कम्पनीका दाना खुवाएर कुखुरा हुर्काए । ठूला बनाएर बजार पठायो, पैसा हातमा पर्दा हिसाब किताब बराबर । कहिले त अझै उल्टै नोक्सानी झेल्नुपर्ने ।
कुखुरापालन बालुवामा पानी हालेजस्तो भएपछि एक समय कृष्ण निकै दिक्दारिए । ‘मनभित्रै द्वन्द्व चल्थ्यो । एक मनले भन्थ्यो, कुखुरा पाल्न छाडिदिऊ । अर्कोले भन्थ्यो- केही नयाँ तरिका अपनाऊ,’ त्यतिबेलाको मनोदशाबारे कृष्ण बोले ।

यत्तिकैमा उनको मनमा एउटा जुक्ति फुर्‍यो-दाना पनि आफैं बनाउने । जुक्ति फलिफाप भयो । अहिले उनका खोरका कुखुराले अन्यत्रको दाना खानु पर्दैन । आफ्नै उत्पादनले हुर्किरहेका छन् । यति मात्रै होइन, झण्डै १५-१६ हजार साना किसानको मन पनि उनले उत्पादन गरेको दानाले जितेको छ ।
दाना आफैंले उत्पादन नगरी खरिद गर्दा कुखुरापालक किसानले धेरै मुनाफा आर्जन गर्न नसकेको कृष्णको बुझाइ छ । त्यसैले उनले अहिले साना किसानहरूलाई दाना बनाउने ज्ञान बाँडेर सामाजिक उत्तरदायित्व निर्वाह गरिरहेका छन् ।
‘आफ्नै दाना बनाएर खुवाउँदा किसान लाभान्वित हुने भएकाले अहिले यो कार्यलाई अगाडि बढाइरहेको छु,’ उनले भने ।
ठूलाले पेल्दा खिन्न

काठमाडौंका सडकमा वर्ग-विभेदका रोचक दृश्य बरोबर देखिन्छन् । बसले कार, कारले मोटरसाइकल र मोटरसाइकलले साइकललाई दपेटिरहेका हुन्छन् । धनीले गरिबलाई हेर्ने दृष्टिकोण अझै खोटो छ ।

ठ्याक्कै यस्तै प्रवृत्तिले पोल्ट्री क्षेत्र पनि ग्रसित छ । ठूला ठूला आदर्शका कुरा गर्ने घाघडान पोल्ट्री व्यवसायीले नै साना किसानलाई देखिनसहेको कृष्णको बुझाइ छ ।
उनका अनुसार मार्केटलाई आफ्नो पकडमा राख्न ठूला फार्मले दाना र अण्डाको भाउ तलमाथि गरिरहन्छन् ।
हजारौं कुखुरापालक किसानले झै भुक्तमान खेपेका कृष्णलाई यो दृश्यले आक्रोस पनि पार्छ, दुःखी पनि बनाउँछ ।
उनका अनुसार, केही समयअघि प्रति बाक्सा रु. २९५० मा अण्डा बिक्री भइरहेको थियो । तर ठूला कम्पनीले चलखेल गरेर २७०० मा झारिदिए । यस्तो हर्कतले आफैंले दाना उत्पादन गरेर कुखुरा पाल्नेलाई समेत टिक्न कठिन हुने उनको अनुभव छ ।

‘महँगो दाना खुवाएर किसानले कुखुरा हुर्काएर पालिएको हुन्छ । तर दाना र ह्याचरीले मूल्य घटाएर नोक्सानीमा पारिदिन्छन्,’ उनले साना कुखुरापालक किसानले ठूलाबाट झेलिरहेको समस्याबारे गुनासो गरे ।
बजारमा राजनीति चले पनि उत्पादन खपत नहुने समस्याचाहिँ छैन । उनका अनुसार उनले अहिले उत्पादन गरिरहेको अण्डा काठमाडौं खाल्डोमा सर्लक्कै खपत हुन्छ । बजारका लागि अन्यत्र जानु परेको छैन । लोकल र चिसो मौसममा उत्पादन भएकाले काठमाडौंका अण्डाको माग उच्च रहेको उनको हिसाब छ ।
अहिले कृष्णका फार्ममा ६५-७० हजार कुखुरा हुर्किरहेका छन् । अण्डा पारिरहेका छन् । यति ठूलो संख्यामा कुखुरापालन गर्नु सजिलो पक्कै छैन । तर कृष्णलाई अझै जोखिम मोल्नु छ । भन्छन्- अहिले ६५-७० हजारका हाराहारीमा कुखुरा छन् । आगामी दिनमा त्यसलाई बढाएर १-२ लाखसम्म पुर्‍याउने योजना छ ।

बर्डफ्लूको त्यो प्रकोप
ठ्याक्कै महिना त उनलाई थाहा छैन । सालचाहिँ भूकम्प गएको ०७२ हो । देशको कुनै ठाउँमा बर्डफ्लू देखियो । कुखुराको पर्याप्त बीमा नभएको र भर्खंर भर्खंर व्यवसायले लय पक्डिएकाले कताकता बर्डफ्लूको त्रास मनमा पसिसकेको थियो ।
कहिलेकाहीँ जेसँग मानिस डराएर भाग्छ, त्यसैले शिकार गरिछाड्छ । कृष्णको जीवनमा पनि त्यस्तै भयो । ५०-६० लाख रूपैयाँ बराबरको कुखुरा उनले मारेर खाल्डोमा हाल्नुपर्‍यो । हुनलाई सरकारले केही रकम क्षतिपूर्ति उपलब्ध नगराएको होइन । लाखौं नोक्सानी बेहोरेका बेला त्यसले छोप लागे पो । तर अहिले अवस्था परिवर्तन भएको कृष्णको बुझाइ छ । सरकारले कुखुरापालक कृषकको हितमा निकै राम्रो काम गरिरहेकाले लाभान्वित हुन उनले सुझाए ।

राइजिङ हुन लागेको कुखुरापालन व्यवसायले धक्का खाएपछि कृष्ण निकै निरास भए । तर उनीसँग यो व्यवसायबाट भाग्ने सुविधा थिएन, किनकि, उनी पोखरीमा हेलिइसकेका थिए ।
त्यसपछि उनले निणर्य लिए, कुखुरा पालन गर्ने तर ब्रोइलर होइन, लेयर्स । जुन निणर्यले अहिले उनलाई फलिफाप भइरहेको छ । लेयर्स कुखुराले १८ महिनासम्म अण्डा पार्ने भएकाले यसको पालन गर्न नवप्रवेशीलाई उनले सुझाव दिन चाहेका छन् ।

(भेट टाइम्स मासिक बाट)

Leave a Reply

Your email address will not be published.