खगेन्द्र दाहाल,नेपालगन्ज : बाँकेमा गेहेन्द्र धिताल कुनै नयाँ नाम होइन । व्यवसायिक किसान देखि राजनितिक क्षेत्रमा उनले आफ्नो पहिचान बनाइसकेका छन । खजुरा गाउँपालिका वडा नम्बर २ के गाउँ निवासी गेहेन्द्रको मुख्य पेसा भनेको कृषि नै हो । कृषिमै उनको लगाव लोभलाग्दो छ । व्यवसायिक किसानहरुका पनि अगुवाका रुपमा चिनिदै आएका गेहेन्द्रले बनाएको पहिचान छोटो समयमै बनेको भने होइन ।
लामो समय देखि व्यवसायिक कृषिमा लागेका उनले धेरै नयाँ किसान पनि जन्माएका छन । गेहेन्द्रको घरमा जानेहरु उनको प्रशन्सा नगरि फर्कदैनन् । साथैमा केहि न केहि तरकारी पनि लिएरै फर्कन्छन । वर्षभरी नै केहि न केहि तरकारी उनको बारीमा फलेको देख्न सकिन्छ । गेहेन्द्र धिताल व्यवसायिक किसान सगैं नेकपा एमाले खजुराका अध्यक्ष पनि हुन । खेतमा तरकारी र बाहिर राजनितिक गतिविधि यि सबै कामले गर्दा उनलाई छिनभर फुर्सद मिल्दैन । गेहेन्द्र राजनितिक गर्नु भन्दा पहिले व्यवसायिक किसान नै हुन ।

२०५७ साल देखि व्यवसायिक कृषिमा लागेका उनले १३ वर्ष सम्म खजुरामै रहेको कपास विकास समितिमा जागिरे थिए । जागिरमा समय दिदाँ कृषि कर्म तिर ध्यान दिन नसकिएको भनेर उनले छदाखादाको जागिर छाडे अनि होमिए कृषिमा । गेहेन्द्रले विषेशगरी टमाटर खेती गर्ने गरेका छन । टमाटर सगैं अन्य तरकारी पनि लगाउछन् । गेहेन्द्र भन्छन्, ‘यो वर्ष मौसम राम्रो भएरपनि टमाटर खेती फस्टाएको छ । सुरुवातमा लगाउन पानिका कारण केहि समस्या भएपनि विस्तारै टमाटरका लागी अनुकुल मौसम भैदिदाँ किसानलाई फाइदै पुगेको छ ।

गेहेन्द्रले यो पटक पनि एक विगाह क्षेत्रफलमा टमाटर लगाएका छन । गत वर्षपनि एक विगाह क्षेत्रफलमा लगाएका उनले २७५ क्विइन्टल विक्री गरेको सम्झदै यस वर्ष पनि टमाटरको उत्पादन राम्रो देखिएकाले विक्रि पनि सोहि अनुरुप गरिने बताउँछन । टमाटरमा मल्चिङ प्रविधि अपनाएका उनले हाल १÷२ दिनको फरकमा ३÷४ क्विइन्टल विक्रि गर्दै आएका छन । अहिले टमाटरले मुल्य पनि राम्रो पाएकाले आम्दानी पनि सन्तोषजनक हुनेमा विस्वस्थ छन । गेहेन्द्रले टमाटरमा मल्चिङ प्रविधि अपनाउन लागेको तिन वर्ष मात्र भयो ।
यसअघि उनले मल्चिङ प्रविधि अपनाउने गरेका थिएनन् । मल्चिङ प्रविधि अपनाउँदा भने कृषक गेहेन्द्रलाई फाइदै भएको छ । मल्चिङले गर्दा टमाटरमा रोग कम लाग्ने, झार नआउने, मेहेनत कम गरेपनि हुने र यसबाट हुने उत्पादनको गुणस्तर समेत राम्रो हुने भएकाले यो प्रविधि मन परेको उनले बताए । सिदै जमिनमा टमाटर फलाउनुभन्दा मल्चिङ प्रविधि मार्फत फलाउँदा उत्पादन दोव्बर हुने गरेको अनुभव गहेन्द्रले लिइसकेका छन । बाँकेको हकमा अभिलास जातको टमाटर उपयुक्त देखिएकाले अधिकाश किसानले पनि यहि जातको लगाउने गरेको बताउँदै गेहेन्द्रले यसको फल ५० ग्राम देखि १०० ग्रामसम्मको हुने उल्लेख गरे । उनले टमाटर विक्रि गर्न लागेको १२÷१५ दिन भयो । ३० क्विइन्टल बढि टमाटर उनले विक्रि गरिसकेका छन ।

अन्न बालि भन्दा तरकारी खेती गर्दा यसको उत्पादन र बजारले गर्दा अन्न बालिले १० वर्ष सम्म दिने आम्दानी भन्दा तरकारी खेतीबाट १ वर्षमै लिन सकिने उनले बताए । ‘मैले दिनहुँ समय मिलाएर काम गर्ने गरेको छु, राजनिति गर्ने मान्छेले त झनै व्यवसाय गर्न जरुरी रहेकाले मैले रोजेको कृषि कर्मलाई अघि बढाउँदै लैजाने छु’– उनले भने । ‘मैले राजनितिक कुनै बेला छाडुला तर कृषिको कामलाई भने सधै निरन्तरता दिनेछु, यो मेरो प्रतिवद्धता नै भयो ।’ बाँकेमा किसानहरु पछिल्लो दिनमा कृषिमा निकै आर्कषित भएको र यहाँका किसानहरुले उत्पादन गरेको तरकारीहरु पश्चिम नेपालका विभिन्न जिल्लामा समेत निर्यात समेत हुँदै आएकोमा मेहेनत गरेर लाग्ने किसान र कृषिको भविष्य शुरक्षित रहेको गेहेन्द्रले बताए ।



