खजुरा गाउँपालिद्वारा कृषि ऐन पारित


  • 117
    Shares

खजुरा गाउँपालिकाको दशौँ गाउँ सभाले पालिकाको कृषि तथा पशुपञ्छी ऐन २०७८ पारित गरेको छ । ऐन पारित भएपछि बोल्दै खजुरा गाउँपालिकाका विधान समिति संयोजक योगमाया खनालले निर्वाचन भएको पहिलो वर्षबाटै कृषि तथा पशुपञ्छी ऐन निर्माणको कुरा चले पनि बन्न नसकेको र ढिलै भए पनि ऐन पारित भएकोमा सबै जना खुशी हुनुपर्ने बताउनुभयो । ऐनको मस्यौदा निर्माणमा सहयोग गरेकोमा राष्ट्रिय कृषक समूह महासंघ नेपाललाई विशेष धन्यवाद ज्ञापन  समेत गर्नुभयो ।

कृषि क्षेत्र नेपालको संविधान २०७२ को अनुसुची ९ ले स्थानीय तहलाई प्रदान गरेको एकल अधिकारको क्षेत्र हो । स्थानीय तहमा कृषकका आवश्यकता र समस्याहरुलाई नीतिगत तहमा सम्बोधन गर्न स्थानीय तहको कृषि ऐन अपरिहार्य भएपनि अधिकांश स्थानीय तहले आफ्नो कृषि ऐन तर्जुमा गर्न सकेका छैनन् । यही कुरालाई मध्यनजर गर्दै कृषकहरुको हक अधिकारकारको लागि नीतिगत तहमा निरन्तर पैरवी गरिरहेको संस्थाको नाताले राष्ट्रिय कृषक समूह महासंघले देशैभरी ऐन निमार्णको प्रक्रियामा स्थानीय पालिकाहरुलाई सघाउँदै आएको छ र सोही क्रममा खजुरा गाउँपालिकालाई पनि ऐनको मस्यौदा निर्माण गर्न सघाएको हो । ऐन पारित भएपछि कृषि र कृषकका समस्याहरु नीतिगत तहबाट समाधान हुने र स्थानीय तहमा कृषिले एउटा लय समात्ने विश्वास गरिएको छ ।

कृषि ऐनको मस्यौदा निर्माणको क्रममा महासंघले  केएर नेपाल डिफ्याट परियोजनाको स्रोत साझेदारीमा कृषक र विभन्न सरोकारवालहरुसँग छलफल चलाई वहाँहरुका महत्वपूर्ण सुझाव संकलन गर्ने काम गरेको थियो । यसरी कृषक, कृषकसँग सरोकार राख्ने स्थानिय निकाय र जनप्रतिनिधिहरुसँगको चरणबद्ध छलफलबाट तयार पारिएको कृषि ऐनले किसान पहिचान, वर्गिकरण, संरक्षण र सशक्तिकरण सम्बन्धी व्यवस्था, कृषि भूमि उपयोग सम्बन्धी व्यवस्था, कृषि विमा, अनुदान र सहुलियत कर्जा , सामाजिक सुरक्षा, पोषण बगैचा, कृषि उद्यमको ब्यवस्थापन, उत्पादनको समर्थन मुल्या जस्ता महत्वपूर्ण विषयहरुलाई समेटेको छ ।

Leave a Reply

Your email address will not be published.