बाँसगढी नगरपालिकालाई कृषि ऐनको मस्यौदा हस्तान्तरण


  • 121
    Shares

बर्दिया : राष्ट्रिय कृषक समूह महासंघ नेपालले बाँसगढी नगरपालिकाकालाई स्थानीय सरकारको कृषि ऐनको मस्यौदा हस्तान्तरण गरेको छ । राष्ट्रिय कृषक समूह महासंघका तर्फबाट महासंघका लुम्बिनी प्रदेश कार्यसमिति अध्यक्ष सर्वजित विष्टले बाँसगढी नगरपालिकाका अध्यक्ष शालिकराम अधिकारीलाई ऐनको मस्यौदा हस्तान्तरण गर्नुभयो ।

हस्तान्तरण कार्यक्रममा महासंघका विभिन्न तहगत समितिका पदाधिकारी, लिबर्डका प्रतिनिधि र पत्रकारहरुको उपस्थिति रहेको थियो । यसैगरी  नगरपालिकाको तर्फबाट नगर प्रमुख अधिकारी र  प्रमुख प्रशासकीय अधिकृत धन बहादुर चन्दको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै महासंघका प्रदेश अध्यक्ष विष्टले विभिन्न चरणमा कृषि र स्थानीय पालिकासँग सम्बन्ध राख्ने विभिन्न सरोकारवालहरुसँगको छलफलबाट कृषि ऐनको यो मस्यौदा तयार पारिएको र यसलाई अहिले चलिरहेको गाउँ परिषदमा पेश गरी कार्यन्वयनका लागि अघि बढाइने विश्वास रहेको कुरा बताउनुभयो ।

पालिकाका तर्फबाट बोल्दै नगर प्रमुख अधिकारीले गाउँ परिषदबाट पास गरी ऐन निर्माण गर्ने प्रतिबद्धता जनाउनुभएको छ। कृषि क्षेत्र नेपालको संविधान २०७२ को अनुसुची ९ ले स्थानीय तहलाई प्रदान गरेको एकल अधिकारको क्षेत्र हो । स्थानीय तहमा कृषकका आवश्यकता र समस्याहरुलाई नीतिगत तहमा सम्बोधन गर्न स्थानीय तहको कृषि ऐन अपरिहार्य देखिन्छ तर दुर्भाग्य अधिकांश स्थानीय तहले आफ्नो कृषि ऐन तर्जुमा गर्न सकेका छैनन् ।

कृषकहरुको हक अधिकारकारको लागि नीतिगत तहमा निरन्तर पैरवी गरिरहेको संस्थाको नाताले राष्ट्रिय कृषक समूहले कृषि ऐन तर्जुमाको लागि पहलकदमी  लिएको बताउनुहुन्छ महासंघका केन्द्रिय सदस्य खेमराज घिमिरे । राष्ट्रिय कृषक समूह महासंघले विभिन्न संघसंस्थासँगको सहकार्यमा देशैभरी ऐन निमार्णको प्रक्रियामा स्थानीय पालिकाहरुलाई सघाइराखेको छ ।बाँसगढी नगरपालिकाको हकमा लिबर्डसँगको साझेदारीमा महासंघले कृषि ऐन निर्माण प्रकृयामा सघाउँदै आएको छ ।

कृषक, कृषकसँग सरोकार राख्ने स्थानिय निकाय र जनप्रतिनिधिहरुसँगको चरणबद्ध छलफलबाट तयार पारिएको कृषि ऐनको मस्यौदाले किसान पहिचान, वर्गिकरण, संरक्षण र सशक्तिकरण सम्बन्धी व्यवस्था, कृषि भूमि उपयोग सम्बन्धी व्यवस्था, कृषि विमा, अनुदान र सहुलियत कर्जा , सामाजिक सुरक्षा, पोषण बगैचा, कृषि उद्यमको ब्यवस्थापन, उत्पादनको समर्थन मुल्या जस्ता महत्वपूर्ण विषयहरुलाई समेटेको छ ।

Leave a Reply

Your email address will not be published.