प्रदेश स्तरीयका कृषि प्राविधिक कार्यसमूह बैठक खजुरामा


खजुरा(बाँके) : कृषि अनुसन्धान निर्देशनालय लुम्बिनी प्रदेश खजुरा बाँकेको आयोजनामा प्रदेश स्तरीय कृषि प्राविधिक कार्यसमूह बैठक आज सम्पन्न भएको छ । निर्देशनालयका निर्देशक डा.समिद अहमदको सभापतित्व एवम् कृषि विकास निर्देशनालय लुम्बिनी प्रदेश बुटवलका निर्देशक याम नारायण देवकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यसमूह बैठकमा लुम्बिनी प्रदेशका कृषि र कृषि अनुसन्धानसंग सम्बन्धित विभिन्न कार्यालय र शैक्षिक निकायहरुका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता थियो ।

कोशेबाली अनुसन्धान कार्यक्रम खजुरा बाँकेका संयोजक डा.राजेन्द्र दराईले स्वागत गर्दै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेको कार्यक्रममा विभिन्न प्रस्तुतिहरु रहेका थिए । कृषि अनुसन्धान निर्देशनालय लुम्बिनी प्रदेश खजुराका प्राविधिक अधिकृत रविन गिरीले विभिन्न एग्रो इकोलोजीका लागि हालसम्म विकसित कृषि र पशुसंग सम्बन्धित प्रविधिहरु र कृषि अनुसन्धान, प्रसार/विकास र शिक्षा बीचको समन्वयमा नार्कको भूमिकाका विषयमा प्रस्तुति राखेका थिए ।

कृषि, खाद्य प्रविधि तथा भूमी व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेशको योजना तथा अनुगमन महाशाखा प्रमुख हरि प्रसाद पण्डितले प्रदेशस्तरमा कृषि अनुसन्धान तथा अन्य सरोकारवालासंग समन्वयका लागि मन्त्रालयको भूमिका तथा आगामी कार्यदिशाका विषयमा प्रस्तुतिकरण गरेका थिए । कार्यसमूह बैठकमा कृषि विकास निर्देशनालयका निर्देशक देवकोटाले प्रदेशस्तरका कृषिसंग सम्बन्धित निकायहरुको तर्फबाट अनुसन्धानमूलक समस्याहरुको प्रस्तुति र कृषि अनुसन्धान, प्रसार/विकास र शिक्षा बीचको समन्वयमा प्रदेश सरकारको भूमिका विषयमा आफ्नो प्रस्तुतिकरण राखेका थिए ।

यस्तै निर्देशक देवकोटाले नै प्रदेशस्तरमा पशुपंक्षी एवम् मत्स्यसंग सम्बन्धित निकायहरुको तर्फबाट अनुसन्धानमूलक समस्याहरु र पशुपंक्षी एवम् मत्स्य अनुसन्धान, प्रसार/विकास र शिक्षा बीचको समन्वयमा प्रदेश सरकारको भूमिकाका विषयमा प्रस्ततिकरण राखेका थिए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रुपन्देहीका बरिष्ठ कृषि अधिकृत नारायण काफ्लेले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत् लुम्बिनी प्रदेशस्थित कार्यालयको तर्फबाट अनुसन्धानमूलक समस्याहरु र कृषि अनुसन्धान, प्रचार/विकास र शिक्षा बीचको समन्वयमा प्रदेश कार्यालय इकाईको भूमिका र प्राकृतिक स्रोत व्यवस्थापन कलेज रोल्पाका प्रिन्सिपल सुमन ढकालले प्रदेशस्तरका कृषिसंग सम्बन्धित शैक्षिक निकायहरुको तर्फबाट अनुसन्धानमूलक समस्याहरु र कृषि अनुसन्धान, प्रचार/विकास र शिक्षा बीचको समन्वयमा विश्वविद्यालय क्याम्पसको भूमिकाका विषयमा प्रस्तुतिकरण राखेका थिए ।

त्यसक्रममा सहभागी बीच समूह गठन गरी कृषि अनुसन्धानसंग सम्बन्धित समस्या पहिचान, प्राथमिकीकरण र अबको कार्यदिशाका विषयमा गहन छलफल गरिएको प्राविधिक अधिकृत बशिष्ठ आचार्यले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *