राप्ती सोनारीमा घर दैलोमै पशुपन्छीको उपचार


  • 88
    Shares

खगेन्द्र दाहाल, राप्ती सोनारी (अगैया) : राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ गोभारपुरका किसान जित बहादुर थारुका खोरमा भरिभराउ बाख्रा,खसि, बोका छन । पालन गरेको बाख्राहरुलाई स्याहार सुसार गर्न जित बहादुर र उनका ४ जना परिवारलाई भ्याई नभ्याई हुन्छ । बाख्रा पालन जित बहादुरको नयाँ पेसा होइन । पहिले देखिनै थोरै मात्रामा बाख्रा पालन गर्ने उनको परिवारले यसैलाई व्यवसायिक बनाएका छन ।

बाख्रा पालनलाई व्यवसायिक बनाउँदा घरकै सदस्यले रोजगारी पाएको अनुभुति किसान जित बहादुरले लिएका छन । किसान जित बहादुरले २०७५ सालदेखि अनुप बाख्रा पालन फर्म दर्ता गरेर व्यवसायिक यात्राको सुरुवात गरेका हुन । व्यवस्थित खोर निर्माण गरेर गरिएको बाख्रा पालनबाट जितबहादुर र उनको परिवार खुृसि देखिन्छ । यसैमा राप्ती सोनारी गाउँपालिकाले खोर मर्मतका लागी १ लाख २५ हजार अनुदान दिएपछि उनको बाख्रापालन प्रतिको लगन झनै बढेको हो । जित बहादुर भन्छन्, ‘सामान्य रुपमा पालिन गरिरहेको मलाई व्यवसायिक बनाउन गाउँपालिकाले ठुलो सहयोग रहयो अनि यसैमा लागिपरेर काम गरिरहेको छु ।’ किसान जित बहादुर संग साना ठुला गरेर ६० बढि बाख्रा,खसि, बोका तथा पाठा पाठी पुगिसकेका छन ।

हरेक वर्ष उनले ३ लाख बढिको खसि बोका विक्रि गर्ने गर्छन । बाख्रा पालनका लागी आवश्यक पर्ने दाना, घाँसको जोहो उनले आफ्नै खेतबाट उत्पादन गर्छन । बोयर तथा स्थानिय जातका बाख्राहरु उनको खोरमा देख्न सकिन्छ । जित बहादुर बाख्रा पालनबाट पनि गाउँमै बसेर रमाउन सकिन्छ भन्ने एक उदाहरणिय व्यक्ति हुन । अगैया राप्ती पुल नजिकै राधिका वलिले व्यवसायिक रुपमै बंगुर पालन गरेकि छन । २०७० सालमा ६ वटा पाठापाठि ल्याएर व्यवसायिक सुरुवात गरेकि राधिकाको आफ्नो फार्ममा २३ वटा माउ र २ वटा विर पुगाइसकेकि छन । उनको मुख्य उदेश्य भनेकै पाठापाठी उत्पादन गरी विक्रि वितरण गर्नु हो । एक पाठापाठिलाई ५ हजारमा विक्रि गर्ने उनले बार्षिक रुपमा झण्डै ३० लाख बराबरको पाठापाठी विक्रि गर्ने गरेका हुन । दुई छोरा र श्रीमानले उनलाई यस व्यवसायमा सघाउने गरेका छन । गाउँपालिका देखी अन्य जिल्लामा उनको पाठापाठी माग आउने गरेको छ ।

राप्ती सोनारी गाउँपालिकामा राधिका जस्तो किसानले गर्दा किसानी क्षेत्रमा पनि केहि गर्न सकिन्छ भन्ने उदाहरण बनेको छ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ३ साहिपुरमा पंचराम थारुले जय गुरुदेव भैसी पालन फार्म संचालन गरेका छन । पंचरामको परिवार सयुक्त परिवार हो । उनको परिवारमा ४० जनाको सदस्य हुनुहुन्छ । अधिकाश परिवारले भैसी पालनमा सहयोग गर्ने गरेका छन । उनको फार्ममा २५ वटा भैसी पाडापाडी छन । अगैया बजारमा उनले उत्पादन गरेको दुध विक्रि हुने गरेको छ । गाउँपालिकाले पनि उहाँको मेहेनतलाई हेरेर गत आर्थिक वर्षमा १ लाख २५ हजार गोठ सुधारका लागी अनुदान प्रदान गरेको थियो । किसानलाई व्यवसायिक बनाउन पालिकाले किसानको माग अनुरुप सहयोगको कार्यक्रम पनि ल्याउने गरेको छ ।

यि त केहि प्रतिनिधि मुलक पात्र मात्र हुन । राप्ती गाउँपालिकामा धेरै किसानहरु छन जो व्यवसायिक रुपमै पशुपालन गर्दै आएका छन । पशुपालन बाटै सम्भावना देख्नेहरुले गरेको मेहेनतले गर्दा राम्रो आर्थिक आम्दानी समेत गरेको देख्न पाइन्छ । धेरै जनसङख्या भएको पालिका भएको राप्ती सोनारीका किसानहरु विस्तारै व्यवसायिक बन्दै गरेको र त्यसले गर्दा बाहिर जिल्ला बाट गरिने आयात समेतमा कमि आएको प्रमुख प्रशासकिय अधिकृत लोक बहादुर शाहिले बताए । पालिकाका किसानले उत्पादन गरेको माछा, मासु, दुध, अण्डाको विक्रि वितरणका लागी हाल सम्म त्यस्तो समस्या नआएकोले उत्पादन बढ्दा अझै फाइदा हुनेमा विस्वास व्यक्त गर्नुभयो । राप्ती सोनारी गाउँपालिका पशुसेवा शाखाका प्रमुख जय बहादुर कार्किका अनुसार बाँकेको राप्ती सोनारी गाउँपालिकामा रहेका किसानहरुले पालन गरेका पशुपन्छीको घरदैलोमै पुगेर प्राविधिकहरुले उपचार सेवा पुगाइएको छ ।

किसानले पालन गरेका पशुपन्छीलाई समस्या परेको खण्डमा प्राविधिक खटिएर घरदैलो सम्मै सेवा दिने गरिएको पशुसेवा शाखाले जनाएको छ । पशुसेवा प्रसार, पशु स्वास्थ्य, आहार व्यवस्थापन, युवालाई प्रोत्साहन गर्ने कार्यक्रमहरुलाई जोड दिईएको शाखा प्रमुख कार्किले जानकार िदिए । चालु आर्थिक वर्षमा पनि पशुसेवा तर्फ केहि कार्यक्रमहरु संचालन गर्न सुरु भैसकेका छन । किसानलाई व्यवसायिक बनाउन पालिकाले किसानलाई गर्ने सहयोगलाई निरन्तरता दिएको शाखा प्रमुख कार्किले जनाए । घाँस खेती बाट पशुपालन गर्न सहज हुने भएकाले किसानलाई घाँस खेतीतर्फ आर्कषण बढाउन हिउँदे घाँसका विउहरु वितरण पालिकाले गरिसकेको अवस्था छ । राप्ती सोनारीमा अधिकाश कृषि पेसा गर्ने हुँदा किसानलाई व्यवसायिक बनाउने तर्फ पालिका लागेको गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले जानकारी दिए ।


अधिकाश किसानहरुलार्य अझै पालिकामा उपलव्ध पशुसेवाका कार्यक्रमका बारेमा थाहा नभएकाले यसबारेमा जानकारी दिदै सेवा प्रदान गरिरहेको शाखाले जनाएको छ । पशुपन्छी विकासको क्षेत्रमा गाउँपालिकाले बजेट छुट्टाउदाँ अझै थप छुट्टाएको खण्डमा किसानलाई सेवा दिन सहज हुने शाखाले जनाएको छ । राप्ती सोनारीमा गाई, भैसी, बाख्रा, बंगुर, कुखुरा र माछा गरेर १६६ वटा व्यवसायिक फार्म दर्ता भैसकेको छ । केहि प्रालि अन्तर्गत पनि फार्महरु दर्ता भएको पशुसेवा शाखाले जनाएको छ । फार्महरु दर्ता भएसगै किसानहरु व्यवसायिक बन्नेतर्फ अग्रसर देखिएका छन । पालिकाले गाउँपालिका भित्रका किसानहरुलाई नष्ल सुधार लगाएर पशु स्वास्थ्यका कार्यक्रमहरु संचालन गर्दै आएको शाखा प्रमुख कार्किले जनाए ।

उपलव्ध बजेटले पालिकाका किसानलाई सेवा पुगाउनुपर्ने बाध्यता रहेकाले सोचेजस्तो काम गर्न नसकिएको पशुसेवा शाखाले जनाएको छ । तर पनि किसानले बोलाएको बेला घरदैलोमै पुगेर सेवा प्रदान गरिरहेका छा’ै ‘शाखा प्रमुख कार्किले जनाए । राप्ती सोनारी गाउँपालिकामा दर्ता भएका गाई फार्म १० वटा, भैसी फार्म २६ वटा, बाख्रा फार्म ९१ वटा, बंगुर फार्म ३५ वटा, कुखुरा फार्म ४८ वटा दाना सस्लायर्स १ वटा रहेका छन । राप्ती सोनारीका विकट क्षेत्रहरुमा पनि पशुपन्छी पालनलाई व्यवसायिक बनाउन नयाँ कार्यक्रमहरु किसानमाझमा ल्याउने तयारी रहेको गाउँपालिकाका उपाध्यक्ष धनि कुमारी खत्रिले जानकारी दिईन ।

पशुपालनलाई एक अव्वल पेसाको रुपमा स्थापित गर्न बाख्रापालन बंगुरपालन माछापालन जस्ता पकेट क्षेत्र निर्धारण गरि अनुदानका कार्यक्रमहरु, राहतका कार्यक्रमहरु संचालन गर्ने गरि योजना पालिकाले बनाएको उपाध्यक्ष खत्रिले जनाइन । पशु स्वास्थ्य शिविर संचालन गरि बस्ती स्तरमा सेवा विस्तार गर्ने, माछा, मासुमा पालिकालाई आत्मनिर्भर बनार्य निकासी पैठारीलाई प्रवद्र्धन गरी जनताको आर्थिक अवस्थामा परिवर्तन ल्याइने कार्यक्रम पालिकाले ल्याएको उपाध्यक्ष खत्रिले जनाइन । उपाध्यक्षले किसानको पक्षमा पालिकाले नयाँ योजना बनाइरहेको हुँदा थप टेवा पुग्नेतर्फ विस्वस्थ रहन आग्रह गरिन । हाइवे पोष्टबाट साभार ।

Leave a Reply

Your email address will not be published.