हर्दिनाथ १ हाइब्रिड जातको धान परीक्षण सफल


(गोरखा) — नेपालले नै विकास गरेको हर्दिनाथ १ हाइब्रिड जातको धान परीक्षण सफल भएको छ । परीक्षणस्वरूप गोरखामा लगाइएको धानले औसतभन्दा राम्रो उत्पादन दिएको हो ।

१३ किसानको ४५ रोपनीमा गरिएको परीक्षण सफल भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ गोरखाका कृषि अधिकृत रवीन्द्र पौडेलले बताए । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमले धानको हाइब्र्रिड जात बनाएको थियो । गोरखामा प्रतिहेक्टर ७ मेट्रिक टन उत्पादन भएको पौडेलले बताए । विज्ञ र कृषि प्राविधिकले हर्दिनाथ १ को उत्पादन प्रतिहेक्टर ६.५ मे.टन हुने अनुमान गरेका थिए । ‘यहाँको हावापानीमा उत्पादकत्व अपेक्षाभन्दा बढी भयो,’ पौडेलले भने । गत असारमा प्रतिरोपनी एक केजीका दरले बीउ वितरण गरिएको थियो । धान जोन सञ्चालन समन्वय समितिसँगको समन्वयमा किसान छनोट भएका थिए ।

नदी किनार, पाँगो माटो, पर्याप्त सिँचाइ सुविधा र मौसमअनुकूल हुँदा लक्ष्यभन्दा बढी उत्पादन भएको उनले बताए । उत्पादन राम्रो भएपछि किसान पनि उत्साहित छन् । धान जोन कार्यक्रम लागू भएको सिरानचोक गाउँपालिका–६, पालुङटार नगरपालिका–१ र ९ को १५/१५ रोपनी क्षेत्रफलमा परीक्षणका रूपमा हर्दिनाथ १ लगाइएको थियो । यूएस ३०५, ३१२, पृथ्वीलगायत विदेशी हाइब्रिड धानको खेती पनि जिल्लामा हुँदै आएको छ । जिल्लाका अन्य क्षेत्रका किसानले लगाएको अन्य उन्नत जातको धानको उत्पादन प्रतिहेक्टर ४.५८ मे.टन रहेको परियोजनाले जनाएको छ ।

‘विदेशी हाइब्रिड जातमा ब्लास्ट रोग, कालोपोके देखियो,’ पौडेलले भने, ‘स्वदेशमै उत्पादन भएको यो हर्दिनाथ १ मा कुनै पनि रोग देखिएन, उत्पादकत्व पनि बढी, अब आगामी वर्ष यही हाइब्रिड जातको धान खेतीको क्षेत्र विस्तार गर्छौं ।’ नार्कले दुई वर्षअघिबाट हर्दिनाथ १ सिफारिस गरेको हो । ‘हर्दिनाथ १ चैते धानमा पनि परीक्षण भएको थियो, सन्तोषजनक उत्पादन भएन,’ पौडेलले भने, ‘बर्खे धानमा चाहिँ सफल परीक्षण भयो ।’ गत चैतमा चोरकाटे र छेवेटार क्षेत्रको ५/५ रोपनीमा चैते धानमा परीक्षण भए पनि प्रतिहेक्टर करिब ५ मेट्रिक टन उत्पादन भएको उनले बताए ।

‘बर्खे धानलाई मौसमअनुकूल हुँदो रहेछ, किसानलाई अब सिफारिस गर्छौं, गोरखाको हावापानीमा सुहाउँदो पनि छ,’ उनले भने, ‘अब विदेशी हाइब्रिडभन्दा स्वदेशी हाइब्रिड लगाउन प्रोत्साहन गर्छौं ।’ गोरखाका १७ वडालाई समेटेर ७ सय ७५ हेक्टर क्षेत्रफलमा २०७६ साउनबाट धान जोन कार्यक्रम सुरु भएको थियो । अजिरकोट–५, सिरानचोक–४, ५, ६, ७ र ८, गोरखा नगरपालिका ३, ५, १०, ११, १२, १३, १४, पालुङटार नगरपालिकाको १ र ९, सहिद लखन गाउँपालिकाको १ र ३ वडाका धान खेती हुने क्षेत्र जोन कार्यक्रमले समेटेको छ । कान्तिपुर बाट साभार

Leave a Reply

Your email address will not be published.