सकियो कृषिको प्रगति गोष्ठी, कार्य प्रगति गर्न निर्देशन


  • 361
    Shares

खगेन्द्र दाहाल, नेपालगन्ज : बाँकेको खजुरामा जारी लुम्बिनी प्रदेश, कृषि, खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालय अन्तर्गतका कार्यालयहरुको  प्रथम चौमासिक प्रगति समिक्षा गोष्ठी सकिएको छ ।

कृषि विकास निर्देशनालय र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको संयुक्त आयोजनामा दुई दिन सम्म चलेको समिक्षा गोष्ठीको समापन कार्यक्रममा बोल्दै कृषि, खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालयका मन्त्री सुमन शर्मा रायमाझीले कर्मचारी प्रदेशको पिलर भएकाले कृषिलाई अघि बढाउन कर्मचारीले नै आफ्नो कार्यलाई तिब्रता दिन आवश्यक रहेको बताउनुभयो ।

मन्त्री रायमाझीले कृषिमा देखिएका समस्यालाई सम्बोधन हुने गरी मन्त्रालय अघि बढेको उल्लेख गर्नुभयो । उहाँले कृषिमा आधुनिकरण गरी व्यवसायीक किसान उत्पादन गर्न कार्यालयहरुले उपयुक्त योजना बनाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री रायमाझीले स्मार्ट कृषि गाउँको बारेमा बारम्बार समस्या भएको गुनासो आइरहेकाले यस तर्फ विशेष ध्यान दिन कर्मचारीलाई अनुरोध गर्नुभयो ।

मन्त्रालयका सचिव डा. शान्ता कार्कीले गोष्ठीको समापनमा बोल्दै ससर्त आएका संघिय बजेटका कार्यक्रम पहिले सक्न निर्देशन दिनुभयो । सचिव डा. कार्कीले कार्यक्रम गर्दा आउने समस्या समाधान तर्फ मन्त्रालय कटिवद्ध रहेको भन्दै र कार्यबिधि जटिलताका कारण भएको असहजतालाई सहज बनाउन कार्यविधि नै परिमार्जन गरिने उल्लेख गर्नुभयो । उहाँले स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन गर्ने समितिको कार्यप्रति निरन्तर अवलोकन, अनुगमन गरी प्रभावकारिता तिर लैजान कार्यालयलाई निर्देशन दिनुभयो । गोष्ठीमा प्रगति देखाउन सुहाउने गरी कार्य गर्न सम्बन्धित कार्यालयहरुका प्रमुखहरुलाई विशेष निर्देशन दिनुभयो ।

कृषि विकास निर्देशनालयका निर्देशक याम नारायण देवकोटाले कृषिको अस्तित्व जोगाउन पनि प्रभाकारीरुपमा कार्यालयहरुको काम गरेर देखाउन जरुरी रहेको बताउनुभयो । निर्देशक देवकोटाले कार्यालयहरुले डेली रिपोर्टिङ्गको कार्यलाई पनि निरन्तरता दिन आग्रह गर्नुभयो । उहाँले कृषिका कार्यालयहरुले तथ्याङ्कलाई व्यवस्थित गर्न पर्नेमा जोड दिनुभयो । निर्देशक देवकोटाले मन्त्रालयले छिट्टै किसान सूचीकरण गर्न लागेको बताउँदै यसबाट किसानले थप सेवा पाउनेमा विश्वस्त रहेको उल्लेख गर्नुभयो ।

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निमित्त निर्देशक प्रबेज आलमले काम गर्न नसकिने कार्यक्रमलाई बेलैमा मर्ज गर्न तर्फ लाग्न अनुरोध गर्नुभयो । निर्देशक आलमले कुनै पनि कार्यक्रम किसानलाई जबरजस्ती नलाध्न अनुरोध गर्नुभयो । उहाँले बहु सरोकारवाला कार्यक्रमले सबैलाई समेट्न नसकेको भन्दै यस तर्फ सचेत रहेर काम गर्न सुझाब दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *