पाकिसकेको धान खेतमै सोत्तर


  • 501
    Shares

खगेन्द्र दाहाल, नेपालगन्ज : पुरै खेत जलमग्न छ । धान पानीमा डुबेको छ । ओसार्न ठिक्क पारेको धान पानी परेर खेतमै तैरिएको दृष्यले किसान होम बहादुर थापालाई पिरोल्छ । बाँके खजुरा गाउँपालिका–४ डि गाउँका थापा बुधबार अधियाँमा धान लगाएको खेतमा भेटिदाँ निकैबेर भक्कानिए । उनको आफ्नै खेतबारी छैन ।


छिमेकीको खेत अधियाँमा ल्याएर धान लगाएका उनको गाँसै खोसिएको छ । बेमौसममा परेको पानीले किसान थापाको दुःख पानी मै मिसियो । वर्षभरी खानलाई अरूको खेती अधियाँमा लगाएका थापालाई अब के खाने भन्ने पिरलो छ । काटेर थ्रेसर लगाउन तयार रहेको धानमा लगातारको पानीले सबै डुबाउँदा आफू दुःखी भएको बताए । ‘पानीले मेरो परिवारको गाँस खोसिदियो । पाकिसकेको धान खान लायक समेत भएन ।’ उनले भने । डुबाएको धान उठाउन श्रीमतीसँगै पुगेका उनी खेतको आली मै आँशु खसालेको दृष्य निकै कारुणिक थियो ।


जानकी–४ का सिताराम अहिरको पनि हालत थापाको भन्दा फरक छैन । उनले २४ कठ्ठामा राधा– ४ धान लगाएका थिए । उनले सबै धान काटिसकेका थिए । तर उठाउन पाएनन् । खेत मै राखेको अवस्थामा रहेको धानमा क्षति पुगेको छ । किसान अहिर ३० देखि ४० प्रतिशत क्षति भएको जानकारी दिए । पानीका कारण खेर गएको धानले ३ देखि ४ महिनासम्म पुग्ने उनी बताउँछन् । अहिर भन्छन्, ‘धान बालीमा लगानी धेरै लाग्यो । यसको उत्पादन राम्रो देखिएकाले लगानी गरेको थिए । तर मेरो लगानी खेर गयो ।’ केही धान बिक्रि गरेर घर खर्च चलाउने उनको इच्छा पुरा हुन सकेन । यो वर्ष खानाको लागि पनि किन्न पर्ने देखिएको भन्दै उनले चिन्ता व्यक्त गरे ।


यसैगरी बैजनाथ–४ बोरिङ्ग बस्तीका किसान मान बहादुर सिंहको ३६ कठ्ठामा लगाएको ४० प्रतिशत धान ढलेर पानीमा डुबेर नोक्सान भएको छ । बुधबार मिसन टुडे उनको खेतबारीमा पुग्दा पानीमा डुबेको धान आलीमा निकाल्दै थिए । किसान सिंह धानको उत्पादन राम्रो भएको भन्दै खुसी थिए । तर प्राकृतिक विपत्तिले उनको खुसी धेरैबेर टिकेन । किसानको खुसीलाई दुःखमा परिणत गरिदियो, बेमौसमको झरीले । बैजनाथकै सुलोचना चौधरी र हरि चौधरीले २÷२ बिघा क्षेत्रफलमा दुःख गरेर लगाएको धान पनि पानीमा भिजेको छ । उनीहरुले २५% धान काटिसकेका थिए । ५ प्रतिशत धान मात्रै सुरक्षि रहेको उनीहरुको भनाइ छ ।


बाँके, बर्दिया, दाङ लगायतका अधिकांश किसानको पीडा उस्तै छ । काटेका धान डुबेका छन् भने नकाटेका अधिकांश धान ढलेका छन् । ढलेका र डुबेका धान खेतमै उम्रिन थालेका छन् । कृषि ज्ञान केन्द्र बाँकेले किसानहरुलाई परेको नोक्सानीको बारेमा लगत संकलन गर्ने कार्यलाई तिब्रता दिएको छ । अबिरल बर्षाका कारण धानमा भएको क्षतिको एकिन गर्नका लागि जिल्लाका जानकी, खजुरा, बैजनाथ गाउँपालिका र कोहलपुर नगरपालिकाका प्रमुख, उप– प्रमुख, अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, तथा स्थानीय तहका कृषि प्राविधिकहरुसँग क्षतिको बारेमा जानकारी लिनुका साथै विभिन्न स्थानहरुको अनुगमन समेतलाई तिब्रता दिईएको ज्ञान केन्द्रका कृषि अधिकृत दिनेश भट्टराईले जानकारी दिए ।


दसैँ अगाडि र लगत्तै बाँकेसहित तराईका जिल्लाका साना तथा ठूला किसानले धान काट्न शुरु गरेका थिए । मौसम बिभागले केही दिनमा खराव मौसमको संकेत गरेपनि धेरै किसानले त्यो संकेतको मेसो पाएनन् । समयमै पानी परेको र मल पनि समयमै पाएकाले अन्य वर्षको तुलनामा यो वर्ष धान खेती बढी हुने अनुमान गरिएको थियो । समयमै वर्षा भएपछि पश्चिम तराईका जिल्लामा रोपाई छिटो भएको थियो ।

Leave a Reply

Your email address will not be published.