खगेन्द्र दाहाल, नेपालगन्ज : केही समयअघिसम्म खाद्यबालीमा रोगकिराको समस्याले किसान चिन्तित हुन्थे । दुःखजिलो गरी लगाएको बाली भित्र्याउने बेला रोगकिराले नष्ट गर्ने समस्या आम थियो । तर, अहिले किसानको उक्त गुनासो विस्तारै कम हुँदै गएको छ ।
नेपालगन्जको धम्बोजीस्थित मोर्डन एग्रो टेक्नोलोजीका अनुसार तरकारी तथा खाद्यान्न बालीमा लाग्ने रोग किराको समस्या लिएर आउने किसानको मागमा परिवर्तन आएको छ । केही वर्ष पहिलेदेखि नियमित आउने किसानको मूल्यांकन गर्दा उनीहरूले माग्ने विषादीमा हाल परिवर्तन देखिन लागेको हो । किसानहरू स्वयम् विषादीभन्दा पनि आइपीएम प्रविधि अपनाउन चाहिरहेका छन् ।
पहिले तिनै किसानले तरकारीमा कडा डोजका विषादी माग्ने गरे पनि अहिले विषादी प्रयोग नगरेर आइपीएम प्रविधिमार्फत अनावश्यक किरा नष्ट गर्ने वा भगाउने गरेका छन् । सोही कारण विषादीको प्रयोग घट्दै गएको मोर्डन एग्रो टेक्नोलोजीका सञ्चालक तारा आचार्य खनालले जानकारी दिए । पश्चिम नेपालमै आइपीएम प्रविधिका साथै कृषिमा आधुनिकीकरण गर्ने आवश्यक सामग्री भित्र्याउने मोर्डन एग्रोले विषादीभन्दा पनि अर्गानिकतिर विशेष जोड दिन थालेको जनाएको छ । ‘हामीले विषादी बिक्री नगर्ने होइन । विषादी लिन आउने किसानलाई सकभर खेतीमा विषादीको प्रयोग नगर्न सुझाव दिने हो । ‘संचालक आचार्यले भने ।
विषादी लिन आउने किसानलाई केहीबेर सम्झाए मात्र आवश्यकता अनुसार विषादी प्रयोग गर्न सल्लाह दिने गरेको उनले जानकारी दिए । शुक्रबार युएसएआईडीबाट आएको एक अवलोकन टोलीले नेपालगन्जको मोर्डन एग्रो टेक्नोलोजीमा समेत जानकारी लिने काम गरेको छ । कृषिमा युएसएआईडीले विभिन्न परियोजना मार्फत किसानलाई सचेतना जगाउँने, प्रविधिबारे ज्ञान दिने र कृषि क्षेत्रलाई प्रचार–प्रसार गर्ने काम गर्दै आएको छ । युएसएआईडीबाट आएका टोलीले बाँके र बर्दियाका किसान माझमा गएर किसानका कुरा सुन्ने र आगामी योजना सोही अनुसार तयार पार्ने जनाएको छ । शुक्रबार नै बाँके र बर्दियाका किसानसँग उक्त टोलीले भेटघाट गरेको थियो । टोलीले कृषिमा आधुनिकरणसँगै आइपीएम प्रविधितिर लाग्न आवश्यक रहेको बताएको छ ।
हाल आइपीएम प्रविधिको माग धेरै रहेकाले अनुगमन गर्दा विषादीलाई कम प्रयोग गर्दै आइपीएम अपनाउन किसान सहमत देखिएको बताएका थिए । आइपीएम प्रविधिबाटै किसानहरूले कृषि उपजको उत्पादन राम्रो भएको बताएका छन् । आइपीएम प्रविधि धेरै महंगो नपर्ने भएको हुँदा किसानको रोजाईमा परेको मोर्डन एग्रोका सञ्चालक आचार्यले बताए । किसानलाई अझै सस्तो मूल्यमा प्रदान गर्न सकिए आइपीएम प्रविधिलाई सहजै रुपमा प्रयोगमा ल्याउन सकिने आचार्यले उल्लेख गरे । ‘मोर्डन एग्रोमार्फत बाँके, बर्दिया, कैलाली लगायत पश्चिमका अधिकांश जिल्लाका झण्डै १५० बढी एग्रोभेटमा आइपीएम प्रविधिका सामान हामीले नै उपलव्ध गराउँदै आएका छौं’, सञ्चालक आचार्यले भने । हरेक वर्ष ३० देखि ४० प्रतिशत किसान यो प्रविधिप्रति आकर्षित भएका छन् ।
अवलोकनका क्रमममा युएसएआईडी फिड द फिचर अन्तर्गत आईडीई नेपालमार्फत सञ्चालित नेपाल आईपीएम परियोजना तथा अन्य परियोजनाका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो । तरकारी बालीमा आईपीएम प्याकेजको विकास गर्ने र अनुसन्धानमार्फत वातावरण मैत्री नयाँ प्रविधिहरू ल्याउने, विकासित आईपीएम प्रविधि विभिन्न परियोजना तथा सरोकारवालामार्फत कृषकसम्म पु¥याउने, आवश्यक कृषि जन्य जैविक परिणामको सहज आपूर्तिको निम्ति संरचना विकास र सहजीकरणमा सहयोग गर्ने र सरोकारवालाहरूको क्षमतामा अभिवृद्धि गर्ने लक्ष्य राखिएको आईडीई नेपालका कृषि कार्यक्रम प्रमुख ललित प्रसाद शाहले जानकारी गराए । कृषि क्षेत्रको विकासका लागि आधुनिकिकरणका साथै अर्गानिकलाई समेत जोड दिन आवश्यक रहेको उनको भनाइ छ ।
