जयसपुरमा स्मार्टको अनुदानले ल्याएको परिवर्तन


  • 377
    Shares

देवेन्द्रराज पौडेल, जयसपुर: नेपालगन्ज उपमहानगरपालिका वडा नं. १६ भारतसँग सीमा जोडिएको वडा हो । यहाँका किसानहरु खेतीपाती तथा पशुपालन गर्दछन् । बजारसँग जोडिएको वडा भएकाले मासु, दुध र तरकारी जति उत्पादन हुँदा पनि बजारीकरणको समस्या नभएपछि यहाँका किसानहरु कृषि तथा पशुपालनमा आकर्षित भएका हुन् ।

अझ त्यसमा स्मार्ट कृषि गाउँ कार्यक्रम लागु भएपछि किसानको लागत कम भई नाफामा वृद्धि मात्रै भएको छैन पहिले भन्दा व्यवस्थित रुपमा बाख्रा पालन हुन थालेको छ । वडाका अधिकांस घरमा बाख्रा पालन हुने गरेको भएपनि पक्की खोर बनाएर राख्ने गरिएको थिएन । अव्यवस्थित रुपमा बाख्रा पालना हुँदा बस्ने घर नै फोहोर हुने, गन्हाउने, विभिन्न खालका रोगव्याधी लाग्ने समस्या थियो । कतिपय किसानले कच्ची खोर भएपनि कतिपयले दिउँसो बाहिर र राती घरभित्रै बाख्रा बाध्ने गरेको बाख्रा पालक किसानहरु बताउँछन् । ‘स्मार्ट कृषि गाउँले अनुदानमा खोर उपलब्ध गराएपछि धेरै सजिलो भएको छ’, किसानहरु भन्छन्, ‘बाख्रा कसरी व्यवस्थित रुपमा पाल्ने भन्ने प्रशिक्षणका कारण अब व्यवस्थित रुपमा बाख्रा पालन थालेका छौं ।’

जयपुरका महिद्दिन कवडियाले बाख्रा पालन गर्न थालेको १५ बर्ष भयो । तर, स्मार्ट कृषि गाउँ कार्यक्रम लागु हुनुभन्दा अघि व्यवस्थित रुपमा बाख्रा पालन गर्नु भएको थियो । ‘घरभित्रै बाख्रा बान्नु पर्दा धेरै समस्या थियो, रोगव्याधीले कति बाख्रा मर्दथे’, उहाँ भन्नुहुन्छ, ‘अहिले धेरै सहयोग पाएका छौं, राम्रो हुँदै गएको छ ।’ हाल कवडियासँग १२ वटा बाख्रा रहेका छन् । ‘खोर पाएका छौं, अब बढाएर २०÷२५ वटा पुर्याउँछु’, उहाँ भन्नुहुन्छ ।

कृषि स्मार्ट गाउँ कार्यक्रम अन्तर्गत किसानलाई अनुदानमा खोर, घाँस, औषधी, तालिम, प्रशिक्षण, भ्रमण, सिचाईका लागि मोटर, चापकटर लगायको व्यवस्था छ । चार बर्षे कार्यक्रमको चार वटै बर्षमा विभिन्न खालका किसानलाई लाभ हुने कार्यक्रम सञ्चालन गरिन्छ । जसले गर्दा किसान प्रत्यक्ष रुपमा लाभान्वित हुने गरेका छन् । अहिले जैसपुरका अन्य किसान पनि कार्यक्रममा समेट्नका लागि दबाब दिंदै आएका छन् । ‘कृषि गाउँ कार्यक्रम लागु भएपछि धेरै किसानहरुले आफुलाई पनि सदस्य बनाउन माग गरिरहनु भएको छ’, समितिका संयोजक मकबुल अहमद कुरैसी भन्नुहुन्छ, ‘पहिले भन्दा बाख्राको संख्या पनि बढिरहेको छ ।’ ५ सय घर रहेकोमा ५० जना मात्रैलाई कृषि गाउँमा समेटिएकाले माग स्वभाविक भएको धारणा उहाँको छ । ‘व्यवस्थित रुपमा बाख्रापालन र तरकारी खेतीमा सपोर्ट पाएको देखेपछि अरुले पनि समेट्न आग्रह गर्नु भएको हो’, सहजकर्ता सिता कुमार चन्द शाही बताउनुहुन्छ ।


मुबारक अली कबडिया पनि दशकदेखि बाख्रा पालन गर्नुहुन्छ । ‘हामी त्यही काम पहिला पनि गर्दथ्यौं, स्मार्टले व्यवस्थित बनाएको छ, लागत घटाइदिएको छ’, उहाँ भन्नुहुन्छ ।
जयसपुरका किसान पहिले तरकारी तथा मासुका लागि भारत जाने गरेको सुनाउँदै भन्छन्, ‘पहिला भारत किन्न जान्थ्यौं अहिले आफैले बेच्छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *