कृषि अनुसन्धानमा वीउ प्रशोधन प्लान्टको शुभारम्भ


  • 431
    Shares

खजुरा : कृषि अनुसन्धान निर्देशनालय खजुराले वीउ प्रशोधन प्लान्टको शुभारम्भ गरेको छ । नेपाल कृषि अनुसन्धान परिषद, बाली तथा बागवानी अनुसन्धानका निर्देशक राम बहादुर केसीले वीउ प्रशोधन प्लान्टको उद्घाटन गर्नुभयो । निर्देशनालयले आज (विहिबार) एक कार्यक्रमको आयोजना गर्दै बिउ प्रशोधन प्लान्टको उद्घाटन गरेको हो ।

केहि बर्ष अघि निर्माण सम्पन्न भएको भवनमा बिउ प्रशोधन प्लान्ट जडान गरिएपछि यसको शुभारम्भ गरिएको निर्देशनालयले जनाएको छ । ५० लाख ४० हजार बढिको लगानि लागेको उक्त प्रशोधन प्लान्टले अनुसन्धानमा उत्पादन हुने धान, गहु जस्ता वीउहरुलाई थप गुणस्तरीय बनाउन टेवा पुग्नेछ । औसतमा प्रति घण्टा एक टन वीउ प्रशोधन गर्ने क्षमता रहेको कृषि अनुसन्धान निर्देशनालय खजुराका प्राविधिक अधिकृत तथा सुचना अधिकारी रविन गिरीले जानकारी दिनुभयो ।

कृषि अनुसन्धान निर्देशनालय लुम्बिनी प्रदेश बाँके खजुराका निर्देशक अमर बहादुर पुनको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बाली तथा बागवानी अनुसन्धानका निर्देशक केसीले अनुसन्धानका गतिविधिका बारेमा किसानलाई जानकारी हुन पर्नेमा जोड दिनुभयो । कृषि अनुसन्धानले गरेका विभिन्न जातहरु जुन किसानले चासो लिएर लगाउन सके उत्पादन बढाउन सकिने उल्लेख गर्नुभयो । उहाँले वीउ प्रशोधन प्लान्ट निर्माण भएपछि गुणस्तरीय विउ किसानमाझमा पुग्न समस्या नहुने उल्लेख गर्नुभयो । कृषि अनुसन्धान निर्देशनालय खजुराका निर्देशक पुनले अनुसन्धानका कार्यक्रम लाई जोडेर किसानलाई जानकारी गराउने उदेश्य रहेको बताउनुभयो ।

उहाँले अनुसन्धानले गरेका काम नजिकका किसानले फाईदा लिन नसकेको बताउदै यस तर्फ किसानले पनि चासो दिनुपर्नेमा जोड दिनुभयो । अनुसन्धानले गरेका कामको बारेमा जानकारी लिन किसानहरुलाई निर्देशनालयमा आउन आग्रह गर्नुभयो । पालिकाहरुले किसानहरुलाई कृषि अनुसन्धान निर्देशनालयमा पालै पालो सिकाई गर्न पठाउन समेत उहाँले अनुरोध गर्नुभयो । एग्री इन्जिनियर सागर महर्जनले मेसिनहरुले गर्ने कामका बारेमा उपस्थित किसान तथा सरोकारवालाहरुलाई जानकारी दिनुभयो ।

कार्यक्रममा किसानहरुले पनि अनुसन्धानले गरेको कामका बारेमा चासो व्यक्त गरेका थिए । कृषि अनुसन्धान निर्देशनालयले आफ्ना गतिविधिहरु बाहिर ल्याउन वेबसाईट पनि निर्माण गरेको छ । उक्त वेभ साइडको पनि निर्देशक केसीले सोहि कार्यक्रममा उद्घाटन गर्नुभएको थियो । कृषि अनुसन्धानको वेबसाईट यस्तो रहेको छ । हेर्नका लागी यहाँ doarkhajura.narc.gov.np क्लिक गर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *