तिलक गाहा मगर, नेपालगन्ज : डुडुवा गाउँपालिका ३ भैसी पालनका लागि उत्कृष्ट स्थान हो । अधिकांस किसान खेतीपातीमा रहेकाले भैसी पालनका लागि डुडुवा राम्रो मानिन्छ ।
नजिकै रहेको खोला तथा खेतीपातीका कारण भैसी पाल्न सहज छ । त्यहाँका किसानहरु पहिलेदेखि नै भैसीपालन गर्दै आएको पाइन्छ । भैसीका लागि स्मार्ट कृषि गाउँमा छनोट भएपछि किसानहरुले त्यसबाट प्रशस्त लाभ लिन पाएका छन् । कच्चि गोठ तथा खोलाको किनारमा राखिने भैसीहरु अहिले स्मार्ट कृषि गाउँको अनुदानमा बनेको व्यवस्थित गोठहरुमा राखिन थालिएको छ ।
जसले भैसीपालनलाई व्यवस्थित बनाएको छ । व्यवस्थित रुपमा भैसीपालनबाट आम्दानी देखेपछि यसतर्फ अन्य किसान आकर्षित त भएका छन् नै पहिले देखि भैसी पाल्दै आएका किसानले भैसीको संख्या बढाउन थालेका छन् ।
डुडुवा–३ हल्कारापुरवाका किसान रामेश यादव स्मार्ट गाउँ कार्यक्रमले धेरै सघाएको बताउनुहुन्छ । ‘भैसी पालन गर्ने किसानले गोठ, मल, बिउ, औषधी लगायतमा अनुदान पाउनु भएको छ’, उहाँ भन्नुहुन्छ, ‘यसले किसानको लागतमा कमी आएर आम्दानी वृद्धि हुँदै जान्छ ।’ व्यवस्थित रुपमा गोठ बनेपछि ४ वटा पाल्दा होस् वा १० वटा जनशक्ति करिब उत्तिनै लाग्ने भएकाले भैसी थप्दै जाने उहाँ बताउनुहुन्छ ।
जगदीश यादवको परिवार नै भैसी पालनमा छ । ८० वटा बढी भैसी पालन गर्ने उहाँको परिवारले काम त पाएको छ नै अरुलाई समेत काम दिनु भएको छ । ‘चापकटर, फ्रिज, औषधी, पानी तान्ने मोटर, भैसी गोठमा अनुदान पाएपछि किसान प्रत्यक्ष लाभान्वित हुनुहुन्छ’, उहाँ भन्नुहुन्छ । उहाँको परिवारको आम्दानी दैनिक ५ हजार जति रहेको छ । जसमा केही खर्च भैसीमा पनि हुने गरेको छ ।