स्मार्ट कृषिले परम्परागतबाट प्रविधि तर्फ


  • 18
    Shares

गणेश बिशु, राजापुर : बर्दियास्थित राजापुर–५, मुखियाजयपुरका २९ वर्षीय रामप्रकाश चौधरीले वैदेशिक रोजगारीका सिलसिलामा दुई वर्ष साउदी अरबमा बिताए । तीन वर्षदेखि उनले घरैमा व्यावसायिक रुपमा खाद्यान्न उत्पादन गरिरहेका छन् । परम्परागत ढंगबाट हुँदै आएको खेतीलाई यान्त्रिकरणसहित खाद्यान्न उत्पादनमा जोडिएका हुन् ।

अन्नको भण्डारण भनेर चिनिने बर्दियामा खाद्यान्नबाट आम्दानी बढी हुने ठानेपछि बर्खे धान, चैते धान र मकै खेतीमा लागेको बताउँछन् । चार बिगाह खेतमा उनी खेती गर्छन् । ‘पहिला पनि चार बिगाहमा खेती गथ्र्ये,’ उनी भन्छन्, ‘अहिले पनि त्यही जग्गामा खेती गर्छु तर उत्पादन पहिलाको भन्दा अहिले बढी हुन्छ ।’ यसभन्दा पहिला दुई बाली मात्र लगाउने गरेका उनले आजभोलि तीन बाली लगाउँछन् । यसले गर्दा उनको उत्पादनसँगै आम्दानी पनि बढेको छ । ‘पहिला उत्पादन भएको खाद्यान्न वर्षभरि खान ठीकै हुन्थ्यो,’ उनी भन्छन्, ‘अहिले त खाएको बचेर बिक्री गर्छु ।’ अहिले बर्सेनि ६ लाख ८९ हजार रुपैयाँ आम्दानी गर्छन् । दुई १० क्विन्टलजति खाद्यान्न उत्पादन हुने गरेको उनी बताउँछन् ।

स्वदेशमा रोजगारी नपाइँदा र रोजगारीका माध्यम थाहा नपाउन विदेश गएको बताउने उनी जीविकोपार्जनका लागि बाध्य भएर बिदेसिएको बताए । विदेशबाट कमाएर ल्याएको पैसा खेतीमा लगाएर व्यावसायिकरुपमा काम गरेको उनले बताए । ‘अब विदेश नफर्काउने सोचमा छु,’ उनी भन्छन्, ‘यसलाई अझ बढाएर यही खेती गर्छु ।’ गाउँमा स्मार्ट कृषि गाउँ कार्यक्रम लागू भएपछि आफूलाई खेती गर्न सहज भएको उनी बताउँछन् । उक्त कार्यक्रमबाट तालिम, आवश्यक यान्त्रिकीकरण पाएपछि खेती गर्नमा उत्साह र हौसलासँगै काममा सहज भएको उनको भनाइ छ । ‘तालिमपछि कुन समयमा कुन बालीको खेती गर्ने, माटो सुहाउँदो बाली लगाउने, बालीमा लागेको रोगको विषयमा समयमै उपचार गर्नुपर्ने कुराको ज्ञान भयो,’ उनी भन्छन् ।

साथै कृषि औजार प्राप्त गर्दा पनि खेती गर्न सजिलोसँगै समय र पैसाको बचत भएको उनले बताए । उनको उत्पादनसँग सँगै नेतृत्व विकास पनि भएको छ । पहिला गाउँमा आउने पाहुनासँग राम्रो सँग बोल्न सक्दैन्थ्ये तर अहिले धारबाहिकरुपमा बोल्छन् । स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यान्वयन समितिको अध्यक्ष भएर उनले काम गरिरहेका छन् ।

बर्दियास्थित राजापुर नगरपालिका–५ मुखियाजयपुरका ५४ वर्षीय खिमलाल थारुको परिवार अहिले धान खेती स्याहार्न व्यस्त छ । थारुले करिब दुई बिगाहभन्दा धेरै जग्गामा धान लगाएका छन् । यसभन्दा उनले चैते धान लगाएका थिए । अघिल्लो वर्षको तुलनामा खेतीसमेत बढेकाले यस वर्ष राम्रो आम्दानी हुने आशा उनको छ ।

केही वर्ष अघिसम्म उत्पादन कम हुने खेतमा स्मार्ट कृषि गाउँ कार्यक्रम लागू भएपछि उत्पादन र बाली बढेको थारुले बताए । कार्यक्रम लागू नहुँदासम्म वर्षमा दुई खेती गर्दै आएका थारुले कार्यक्रम लागूसँगै तीन बाली लगाउँछन् । प्राविधिक ज्ञान र यान्त्रिकरण सहयोग पाएपछि अहिले चैते धान, बर्खे धान र मकै खेती गर्छन् । जसले उनको आम्दानी बढाएको छ ।

‘पहिले घरका लागि मात्र धान मकै उत्पादन हुन्थ्यो,’ उनले भने, ‘अहिले खाएर पनि बच्छ र बचेको खाद्यान्न बिक्री गर्छु ।’ उक्त कार्यक्रमबाट तालिमसँगै खेत जोत्नलाई ट्याक्टरदेखि गोड्न, बाली भित्र्याउनलाई यन्त्र सहयोग गरेपछि सजिला भएको उनले बताए । कुनैबेलामा गोरुले खेत जोत्ने र मकै, धान रोप्ने र फरुवाले खनेर मकै धान, गोड्ने गरेका थारुले अहिले प्रविधिको प्रयोेग गरेर मकै, धान रोप्नेदेखि गोड्ने र बाली भित्र्याउनेसम्मको काम गर्दै आएका छन् । प्रविधिको प्रयोगले खेती गर्न सहज भएको उनले बताए । प्रविधि सहयोग पाएपछि बाली लगाउँदा र भित्र्याउँदा लाग्न खर्च र समय घटेको उनले बताए । ‘पहिला १०÷दिन लगाएर खेत रोप्थ्ये,’ उनले भने, ‘अहिले यान्त्रिकरणबाट एक दिनमै धान रोपेर सकिन्छ । जसले समयसँगै पैसा बचाएको छ ।’ ‘पहिले धान खेती बर्षादको समयमा मात्र गरिन्थ्यो,’ उनी भन्छन्, ‘तर अहिले चैते धानको पनि खेती गर्ने गरेको छुँ ।’

कार्यक्रमले किसानलाई प्राविधिक सहयोग गर्दै आएको छ । परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्न कृषिमा यान्त्रिकरणको प्रयोगसँगै धानमकै रोप्ने तरिका, सिँचाइसँगै किसानले उत्पादन गरेको खाद्यान्नको बजार व्यवस्थापनका लागि सहयोग गर्दै आएको खिमलाले जनाए । खिमलालले खाद्यान्न उत्पादनमा बृद्धि भएपछि बजारमा एक बिगाह दुई कठ्ठा आठ धुर जग्गासमेत खरिद गरेका छन् । उत्पादन राम्रो भए पनि बजारीकरण नहुनु र भण्डारसँगै संकलन केन्द्र नहुँदा थप चुनौती भएको उनी बताउँछन् । पर्याप्त कृषि औजार भए झन किसानलाई खेती गर्न सहज हुने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *