नेपालगन्जमा १३ करोड लगानीमा कुखुरा पालन (भिडियो सहित)


  • 4.1K
    Shares

बार्षिक डेढ करोड बचत गर्ने योजना

खगेन्द्र दाहाल, नेपालगन्ज : पूर्व मन्त्री समेत रहेका प्रतिनिधि सभा सदस्य मो.इस्तियाक राईको परिवारका सदस्यहरुले आधुनिक प्रविधिको प्रयोग गरी बोइलर कुखुरा पालन सुरु गरेका छन् । नेपालगन्ज उप महानगर पालिका वडा नं २१ तेलनपुर्वामा राई परिवारले रजा ग्रुप प्रा. लि. मार्फत १३ करोड बढी लगानी लगाएर अत्याधुनिक खोर निर्माण गरि बोइलर कुखुरा पालन गरेका हुन् ।

तेलनपुर्वामा ५४ कट्ठा क्षेत्रफलमा फैलिएको कुखुरा पालनमा ७५ हजार बोइलर कुखुरा एकै लटमा पालन गर्न सकिन्छ । सञ्चालक सदस्य रहेका मुक्तार राईका अनुसार, करिव ६ महिना अघि देखि निर्माण कार्य सुरु गरेको खोरमा एक लट कुखुरा पालिसकिएको छ । अत्याधुनिक बातानुकुलित खोर निर्माण गरेर पालिएको कुखुराहरु छिटो बढ्ने, रोग कम लाग्ने, दाना पानी खुवाउन धेरै जनशक्ति खर्चिन नपर्ने हुँदा लगाएको लगानी केही बर्षमै उठाउन सकिनेमा विश्वस्त रहेको राई बताउँछन् ।

संचालक राई भारतमा आफ्नो सफ्टवेयर इन्जिनियरको पढाई पुरा गरेर १२ वर्षसम्म भारत र विभिन्न देशमा आफ्नो पढाई अनुसार काम पनि गरे । जव लकडाउन भयो उनी नेपाल फिर्ता भए । नेपालमै केही उद्योग संचालन गर्नुपर्छ भन्ने लागेर योजना बनाएका उनले कुखुराको व्यवसाय रोजेका हुन् । ईन्जिनियर भएर विभिन्न कम्पनिमा कार्य कुशलता निभाइसकेका राईले आफ्नै ठाउँमा केही गरौ भन्ने लागेर कुखुराको व्यवसाय सुरु गरेका हुन् ।

आफ्नै व्यवसायबाट आफ्नो र देशको विकास गर्न सकिन्छ भन्ने लागेर नेपालगन्जका राई परिवारका सदस्यहरुद्वारा संचालित रजा ग्रुप मार्फत कुखुरा पालनका साथै कुखुरालाई चाहिने दाना उत्पादन समेत हात हालेका छन् । दाना उद्योगका लागी हाल सम्म २० करोड बढी लगानी भैसकेको छ । उद्योगको निर्माण कार्य भैरहेकाले लगानी केही करोड थप हुने उनले बताए । सञ्चालनमा रहेको बोइलर कुखुरा पालनका लागि फुल अटोमेटिक व्यवस्थापन मिलाइएको राईले उल्लेख गरे । यो सगै दाना, ह्याचरी, अण्डा उत्पादन, मिट मार्ट लगाएको योजना रजा ग्रुपले बनाएको छ ।

हरेक खोरमा १५ हजार पालन गर्ने क्षमता रहेकोमा रजा ग्रुपले ५ वटा खोर निर्माण गरेको छ । १० दिनको फरकमा हरेक खोरमा बोइलर कुखुराको चल्ला हाल्ने योजना अनुरुप काम भैरहेको सञ्चालक मुक्तार राईले बताए । पहिलो लट निकाली सकिएकोले यसले थप हौसला मिलेको राईले बताए ।

हामीले व्यापार गर्न मात्र कुखुरा पालन नगरेको राईले बताए । राईले आर्थिक अवस्था कमजोर रहेको समुदायमा समेत यसले समारात्मक प्रभाव पार्न सक्ने गरि यस व्यवसायमा काम गरिएको सञ्चालक राईले उल्लेख गरे । अत्याधुनिक बातानुकुलित खोर रहेकोले पनि यसको सुरक्षामा विशेष ध्यान दिइएको छ । रजा ग्रुप र किसान मिल प्रालि मार्फत कुखुरा पालन र दाना उद्योग संचालनको तयारी छ । १० टन प्रति घण्टा दाना उत्पादन गर्ने गरि दाना उद्योग समेत निर्माण भैरहेको छ । सम्पूर्ण खर्च कटाएर कुखुरा फार्म बाट बार्षिक डेढ करोड बचत गर्ने गरि यो व्यवसायको सुरुवात गरिएको रजा ग्रुप प्रालीले जनाएको छ । दाना उद्योगको लगानी र उत्पादनको हिसाव अहिले तत्काल नगरिएको सुरु भएपछि यसको बारेमा पनि थाहा हुने उनले बताए ।

पूर्वि जिल्ला चितवन तिर यस्तो किसिमको कुखुरा पालन उद्योग संचालनमा रहेपनि पश्चिममा भने सरकारी फर्म कुखुरा विकास फार्म खजुरा बाहेक राई परिवारले पहिलो पटक अत्याधुनिक खोर निर्माण गरि बोइलर कुखुरा पालन गरेका हुन् । राई परिवारले सञ्चालन गरेको बोइलर कुखुरा फार्ममा ३० जनालाई रोजगारी दिइएको छ ।

केही आफ्नो र बैंकबाट लिइएको ऋणले व्यवसायलाई सञ्चालनमा ल्याइएको रजा ग्रुपले जनाएको छ । ५ जना घर परिवार भित्रकै सदस्यको लगानी रहेको उक्त फार्ममा पूर्व मन्त्री राई सेयर होल्डर नभएपनि उनको श्रीमति र दाई भाईहरु रहेका छन् ।

राई परिवारको फार्ममा खजुरामा रहेको सरकारी फार्म कुखुरा विकास फार्मका प्रवन्धक डा. शंकर न्यौपानेले प्रावधिक सहयोग प्रदान गरिएको बताए । डा. न्यौपानेले आवश्यक परेको बेला फार्ममै पुगेर आवश्यक सेवा प्रदान गर्ने गरेको उल्लेख गरे । डा. न्यौपानेले मुख्य गरि नेपालगन्ज जस्तो गर्मी ठाउँका लागि यस्तो खालको तापक्रम मिलाउन सकिने, दाना पानी अटोमेटिक रुपमा दिन सकिने फार्म आवश्यक रहेको अवस्थामा यस फार्मले उक्त आवश्यकता पुरा गरेको बताएका छन् । ठुलो मात्रामा कुखुरा पाल्नेहरुले यस्तो किसिमको खोर निर्माण गरे फाइदा राम्रो लिन सकिने बताए । उनले साना किसानका लागि भने यस्तो फार्म चुनौती हुने उल्लेख गरे । डा. न्यौपानेले लामो समयसम्म कुखुरा पालन गर्ने ठुला किसानका लागी यस्तो अत्याधुनिक खोर आवश्यक नै रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *