डेनमार्कमा मासिक ८ लाख रुपैयाँ तलब छाडेर स्वदेशमै अर्गानिक खेतीपातीमा व्यस्त


  • 221
    Shares

डेनमार्कको चर्चित कृषि कम्पनीमा अनुसन्धान निर्देशक भानिश्वर पोखरेल मासिक ८ लाख रुपैयाँ तलब पाउनुका साथै पर्याप्त सेवा सुविधा र भौतिक सुख सयलमा बसेका थिए।

धेरै मानिसको सपना राम्रो पढ्ने, विदेश जाने र उतै बस्ने हुन्छ। स्वदेश फर्किए पनि राम्रो जागिर खाने इच्छा हुन्छ।

तर, पोखरेल डेनिस सुख सयलमा सन्तुष्ट थिएनन्। उनलाई आफ्नै गाउँघरको सम्झनाले पिरोलिरह्यो। त्यसपछि सबै सेवा सुविधा चटक्क छोडेर झोला बोकी नेपाल फर्किए। 

राम्रो कमाइ र रमाइ दुबै छाडेर देश फर्केका कृषि वैज्ञानिक भानिश्वर पोखरेल (भानु) हिजो-आज नेपाली माटोमै अर्गानिक सपना हुर्काउँदैछन्। पछिल्लो ९ महिनादेखि चितवनको माडीमा अर्गानिक खेतीपातीमा व्यस्त उनी खुसी छन्।

‘आफ्नै माटोमा अर्गानिक खेती हुर्काइरहेको छु,’ उनले सेतोपाटीसँग भने, ‘धेरै नै खुसी छु, मजाले रमाएर काम गरिरहेको छु।’

उनले अर्गानिक फलफूल र खेतीसँगै रसायनिक मलको विकल्पमा गुणस्तरीय अर्गानिक मल उत्पादन गरिरहेका छन्। माडी नगरपालिका-४ खैरहनीमा ‘माडी प्रांगारिक कृषि तथा अनुसन्धान केन्द्र प्रा.लि.’ फर्मलाई प्रांगारिक सिकाइ केन्द्रका रूपमा विकास गर्न उनी लागिपरेका छन्।

देशको अवस्थालाई कारण देखाउँदै अधिकांश शिक्षित युवा विदेसिन्छन्। पढ्छन् र उतै सेटल हुन्छन्। पोखरेलले त्यसो गरेनन्। जे सोचेर उनी विदेश गएका थिए, त्यो पूरा गरे।

‘विदेश गएर विज्ञता हासिल गर्ने र देश फर्केर पढेको/सिकेको ज्ञान सीप लागू गर्ने योजना अनुसार चलेको छु,’ पोखरेलले भने। १३ वर्षसम्म डेनमार्क बसेर विज्ञता हासिल गरेपछि उनी आफ्नै देशमा आधुनिक कृषि कर्म गर्न फर्किएका हुन्। 

बाग्लुङको बोहोरागाउँमा जन्मिएका उनको परिवार चितवनमा बसाइ सरेको हो। डेनमार्कको आरुष युनिभर्सिटीबाट कृषिमा पिएचडी गरेका पोखरेल ग्रिन एप कम्पनीमा अनुसन्धान निर्देशकका रूपमा जागिरे थिए।  

एग्रो बायोलोजीमा मास्टर्स, अर्गानिक एग्रिकल्चरमा पिएचडी गरेका उनले झोल मल (लिक्युड फर्टिलाइजर) र खाद्य पोषणमा विज्ञता हासिल गरेका छन्। अर्गानिक ग्रोइङ मेडिया, सुक्ष्म जीवाणु विकास, अर्गानिक झोल मल उत्पादन तथा अनुसन्धानमा उनको सक्रियता थियो।

कृषि कर्ममा होमिनु १ वर्षअघि नेपाल गएर उनी देशभर घुमे। नेपाली कृषिमा तत्कालको आवश्यकता योजना बनाएर फर्किएका उनी सबै बन्दोबस्तीसहित नेपाल गएका हुन्। 

‘सन् २०२० फेब्रुअरीमा नेपाल गएर उनले जग्गा छनोट गरें। २२ विगाहा जग्गालाई अनुसन्धान भूमि बनाएको छु। २ वर्षमै ५० विगाहा पुर्‍याउने लक्ष्य छ । जग्गामा ड्रागन फ्रुट, एभोकाडो, आँप, लिची, कटहर र अम्बा रोपिसकेको छु,’ उनले भने। 

डेनमार्क आउनुअघि उनले इजरायल गएर अध्ययनसमेत गरेका थिए। 

चितवनको रामपुर कृषि क्याम्पसबाट स्नातक पास गरेका उनले मुलुकले लगाएको गुन तिर्न स्वदेश फर्किएको प्रतिक्रिया दिए।

‘मेरो देशले मलाई लगानी गरेर पढाएको छ, त्यो पूरा गर्न पनि देश फर्कनुपर्छ विदेशमा बस्न हुन्न भन्ने लाग्छ र फर्किएँ,’ पोखरेलले देश फर्कनुको कारण खुलाए। 

श्रीमती प्रिया पुरी र छोरा आरोहणले उनलाई सपना र योजनामा सहयोग गरेका छन्।

‘मेरो सपनालाई साकार पार्न सघाउने मुख्यगरी श्रीमती र छोरा हुन्। बाबा आमा परिवारसँगै डेनमार्कमा रहेका साथी र रामपुर कृषि क्याम्पसका साथीको हौसलाले आज म यहाँ छु,’ परिवार र साथीलाई श्रेय दिँदै पोखरेलले भने।  

सचेत मान्छेहरू सधैँ विदेश बस्न नहुने, ज्ञान सीप सिकेर देश फर्कनु पर्ने उनले बताए।

उनको चाहना देश फर्केर अर्गानिक कृषिको विकास र विस्तारमा नीति निर्माणमै परिवर्तन गर्ने भन्ने थियो। सोचअनुसार गर्न नसकिएको बताउँछन्। कसैको हस्तक्षेपबिना काम गर्न निजी कम्पनी नै चाहिन्छ भन्ने सोचे। त्यसैअनुरूप निजी फार्म खोलेर कृषि कर्ममा उनी होमिए।

झन्डै साढे २ करोड लगानी गरेका उनले आगामी वर्ष ४ करोड पुर्‍याउने योजना सुनाए।

‘केही आफ्नो कमाइ, पुर्खौली सम्पति र ऋण गरेर लगानी गरेको छु, राम्रै हुने अपेक्षा छ,’ उनले भने।

विश्वमा धेरै अर्गानिक फुड मार्केटको देशका रूपमा चिनिएको डेनमार्क छाडेर नेपाल फर्केका उनले माडीमा ज्ञान सीपसँगै तन, मन र धन लगानी गरेका छन्।

उनको कृषि योजनामा माडी नगरपालिका र बागमती प्रदेश सरकारले समेत सहयोग गरेका छन्।

पोखरेलको कृषि फर्मले माडीमा व्यावसायिक उत्पादन सुरू गरिसकेको छ। खैरहनीमा चक्लाबन्दीमा आधारित बहुआयामिक व्यावसायिक कृषि फर्म सञ्चालन गरेका छन्। फार्ममा अर्गानिक मल प्रयोग गरेका छन्। हाल, फर्मबाट तरकारी र दूध उत्पादन भइरहेको छ। माछा तथा मासुको उत्पादन छिट्टै बजारमा जाने पोखरेलको भनाइ छ। 

करिब ९ महिनाको खटाइबाट २२ विगाहा क्षेत्रफलमध्ये साढे तीन विगाहामा थोपा सिँचाइ जडानसहित ५ विगाहामा तरकारी खेती, १० कठ्ठामा मेवा खेती, ८ कठ्ठा जग्गामा बेसार खेती, १ विगाहामा वहुवर्षीय घाँस र ड्रागन फ्रुट, एभोकाडो, आँप, लिची, कटहर र अम्बा रोपिसकेका छन्। २ विगाहा जमिनमा कागती रोपेका छन्।  

१ विगाहा माछा पोखरी, २ वटा नेचुरल्ली भेन्टिलेटेड प्लास्टिक घर, ५ कोठे अफिस र आवास भवन, ४ कोठे कर्मचारीको आवास घर, १८०० वर्गफिटको गाई–भैंसी गोठ, २००० वर्गफिट कम्पोस्ट पिट, ७०० बर्गफिटको साइलो पिट, १००० बर्गफिटको हाँस कुखुराको खोर, १००० वर्गफिटको बाख्राको खोर तयार गरेका छन्। यो सँगै ९६० वर्गफिटको कृषि उपज संकलन केन्द्र, १३२ वर्गफिटको कृषि उपज बिक्री कक्ष र १० जना क्षमताको फार्मस्टे निर्माण गरिएको उनले बताए। 

अर्को वर्ष थप ३ विगाहा जमिनमा थोपा सिँचाइ जडान, २० जना क्षमताको फार्मस्टेको निर्माण, ५० जना क्षमताको सभाहल, ४ हजार वर्गमिटरको नेट हाउस र १ बिगाहा माछा पोखरी निर्माण गरी फर्मलाई प्रांगारिक कृषिको सिकाइ केन्द्रका रूपमा विकास गरिने आफ्नो योजना रहेको उनले सुनाए।

देशैभर अर्गानिक अभियान चलाउनुपर्छ 
कृषि वैज्ञानिक पोखरेलले देशैभर अर्गानिकमा जाने अभियान चलाउनु पर्नेमा जोड दिएका छन्। विषादी र रासायनिक मलको बढ्दो प्रयोगले माटोको उर्वराशक्ति गुमिसकेकाले केही वर्ष माटो सुधार अभियान चलाउनु पर्ने उनको सुझाव छ।

‘विषादी र रसायनिक मलको प्रयोग रोक्नैपर्छ, त्यसका लागि अहिलेबाटै सुरू गरौं,’ उनले भने।

उनका अनुसार माटोमा अर्गानिक म्याटर साढे २ देखि ५ प्रतिशत हुनु पर्नेमा आजभोलि ०.५ प्रतिशत पनि छैन।

‘जाने बुझेको थोरै भए पनि टेक्नोलोजी एप्लाई गर्न सकिन्छ भनेर लागिरहेको छु,’ उनले थपे, ‘अर्गानिकको भविष्य राम्रो छ नेपालमा, देशैभर अर्गानिकमा जाने अभियानै चलाउनुपर्छ।’

आफ्नै फर्ममा परीक्षण र अनुसन्धान सकेपछि किसान माझ अर्गानिक खेतीमा जाउँ भनेरै जाने बताए। 

‘रोग किरा लाग्छ, के गरौंभन्दा कैयन् जवाफ दिन गाह्रो छ,’ उनी भन्छन्, ‘अध्ययन, अनुसन्धानका निष्कर्षले किसानलाई सँगसँगै अर्गानिक अभियानमा लैजानेछौं।’ 

डेनमार्कमै करिब १० वर्ष अध्ययन अनुसन्धानमा सक्रिय पोखरेल स्थानीय बायोमासलाई ट्रिटमेन्ट गरेर नेपाली हावापानी सुहाउँदो नयाँ ग्रोइङ मिडिया विकास गर्न लागेका छन् ।

४ महिनामा ३ चरणको परीक्षण सकिएको छ। ‘६ महिनामा ग्रोइङ मिडियाको व्यावसायिक उत्पादनमा जाँदैछौं’, उनले थपे, ‘वार्षिक ६ सय टन उत्पादनको लक्ष्य छ।’

बेर्ना उमार्न, हुर्काउन ग्रोइङ मिडिया (कोकोपिट, पिटमस) उपयोगी मानिन्छ।

चलनचल्तीमा रहेका कोकोपिट, पिटमसको विकल्पका रूपमा स्थानीय ब्रान्डको ग्रोइङ मिडिया विकासमा पोखरेल लागिरहेका छन्।

कौसी, गमला, करेसाबारी, नर्सरी फर्ममा ग्रोइङ मिडिया (कोकोपिट, पिटमस) को खपत बढ्दो छ।

‘हामीले उत्पादन गरेको ग्रोइङ मिडिया अन्य फर्ममा पनि परीक्षण भइरहेको छ,’ उनी भन्छन्, ‘अहिलेसम्मको नतिजा राम्रो छ, बिरूवालाई आवश्यक १८ खाद्य तत्व व्यवस्थापन गर्न सजिलो देखिएको छ।’ सेतोपाटि बाट शाभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *