सफल कृषि व्यवसायका लागि व्यावसायिक योजना


  • 808
    Shares

भनिन्छ, यदि प्रत्येक मिनेट तपाइ योजनामा बिताउनुहुन्छ भने त्यसले कार्यान्वयनमा दश मिनेट बचत गर्छ, र यसले तपाइको ऊर्जा हजार प्रतिशतले फिर्ता दिन्छ l यस सन्दर्भमा कृषि व्यवसायको थालनी र कार्यान्वयनका लागि आवश्यक व्यावसायिक योजनाको बारेमा चर्चा गरौँ l

के हो व्यावसायिक योजना ?

तपाई कृषि व्यवसाय गर्ने सोचमा हुनुन्छ भने आफ्नो व्यवसायको स्पष्ट उद्देश्य र सो उद्देश्य पूर्तिका लागि आवश्यक रणनीति अपरिहार्य छ l त्यहि उद्देश्य र रणनीतिको विस्तृत विवरण नै व्यावसायिक योजना हो जुन व्यवसाय सुरु गर्नु अघि आवश्यक लगानीको जोहो गर्न, व्यवसाय दिगोरूपमा सञ्चालन गर्न, आइपर्ने समस्या एवं जोखिमको व्यवस्थापन गर्न र लक्ष्य अनुरुप मुनाफा कमाउनका लागि मार्गदर्शनको रुपमा रहन्छ l व्यावसायिक योजना एक लिखित दस्तावेज हो जसले व्यवसाय सञ्चालनमा कोशेढुंगाको काम गर्छ l कृषि व्यवसायको थालनी देखि लक्षित उद्देश्य प्राप्तिका लागि आवश्यक रणनीतिको तार्किक विश्लेषण गरिने उक्त दस्तावेजमा कृषि व्यवसाय संचालनका लागि आवश्यक भौतिक पूर्वाधार, पुँजी, कामदारको माग तथा आपूर्ति, उत्पादन र तिनको बजारीकरण तथा प्रवर्द्धन र जोखिम न्यूनीकरणका उपायहरु समेटिन्छन् l

किन व्यावसायिक योजना?

कुनै पनि किसान तथा उद्यमी कृषिलाई व्यावसायिक रुपमै संचालन गर्नका लागि आफ्नो उद्देश्यमा स्पष्ट र व्यवसायप्रति प्रतिबद्ध हुन आवश्यक छ l यस अर्थमा व्यावसायिक योजनाले उक्त किसान तथा उद्यमीको चाहना, बस्तु/सेवाको उत्पादन र बजारीकरण, काम र कामदारको विवरण, लगानीकर्ताको सुनिश्चितता आदि कुराको चित्र देखाउछ l उत्पादनको पहिलो शर्त बजारीकरण भएकोले आफूले उत्पादन गर्ने वस्तुको बजार माग बारे समयानुकूल अनुसन्धान गरी सोही अनुरूप व्यवसाय सञ्चालन गर्न उक्त योजनाले सहयोग पुर्याउछ l कृषि व्यवसायी माग केन्द्रित र उत्पादन केन्द्रित व्यवसायमा लागि पर्दा उपभोक्ताको चाहना अनुसार गुणस्तर, मूल्य र उपलब्धताको सुनिश्चितता गर्न आवश्यक छ l त्यस संगै, व्यवसायको निरन्तरताको लागि खर्चको स्रोत यकिन गर्नुपर्छ जसले व्यवसाय अघि बढाउन र क्षमता अभिवृद्धि गर्न मद्दत पुग्छ l जस्तो आफुले संचालन गरेको व्यवसायमा रकमको आवश्यकता कति, कहिले, किन पर्दछ र कुन कुन स्रोतबाट जुटाउन सकिन्छ भन्ने कुराको सुनिश्चित गर्न र सोहि आधारमा विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ऋण सापटी लिन व्यावसायिक योजना निकै सहयोगी बन्न पुछ l कृषि व्यवसाय सञ्चालन गर्दा गरिएको लगानी वा खर्च र उत्पादित बस्तुको बिक्रीबाट प्राप्त आम्दानीलाई उपयुक्त लेखा-प्रणाली अपनाई आय-व्ययको हिसाब-किताब दुरुस्त राख्न पनि व्यावसायिक योजना आवश्यक छ l  एउटा राम्रो व्यावसायिक योजना बनाएर कृषि व्यवसाय सञ्चालन गरेको उद्यमी वा किसानले मनग्य फाइदा लिन सक्छ जसले गर्दा भविष्यमा व्यवसायको पुँजी बढाएर व्यवसायको आकार बढाउन सकिन्छ । व्यावसायिक योजनाले व्यवसाय सञ्चालन गर्दा आइपर्न सक्ने समस्याहरुलाई हटाउन पनि मद्दत गर्छ। किनकि योजना बनाउनाले अप्रत्याशित रूपमा आइपर्ने र अदृश्य समस्या र जोखिमहरुलाई सहज ढङ्गले हल गरी र अन्य विकल्पमा समेत चनाखो रही व्यवसायलाई निरन्तरता दिन सकिन्छ l कुनै पनि कृषि व्यवसायले लक्षित उपलब्धि हासिल गरिरहेको छ कि छैन भनेर समयानुकूल मूल्याङ्कन गर्न र आवश्यक परेको खण्डमा रणनीतिमा समेत परिमार्जन गर्न व्यावसायिक योजना आवश्यक छ l

कृषि व्यावसायिक योजनामा के के समेटिन्छन् ?

  • व्यवसायको छोटो सारांश (व्यवसायको नाम, प्रकार र उद्देश्यको  सटिक तर आकर्षक व्याख्या जसले योजना पढ्ने जो-कोहीलाई व्यवसायको बारेमा सुरुवाती जानकारी दिन्छ )
  • व्यवसायको पृष्ठभूमि (उद्देश्य, रणनीति, औचित्य पुष्टि र निर्दिष्ट लक्ष प्राप्तिको आधार)
  • कृषि उपजको उत्पादन र बजार योजना (बजारमा उपजको माग अध्ययन, प्राविधिक सम्भाव्यता र उत्पादन गर्न आवश्यक पर्ने सामग्रीहरू तथा प्रविधि र सेवाहरूको सहज उपलब्धता एवम् श्रमिक तथा आवश्यक जनशक्तिको उपलब्धताका आधारमा उत्पादन योजना बनाउने l त्यस्तै विक्री गर्ने बजारको यकिन, मुल्य निर्धारण, आपूर्ति र मुल्य शृंखला, बजारीकरण लागतको विवरण)
  • वित्तीय योजना (आवश्यक चल र अचल खर्चको विवरण, विक्री र आमदानी विवरण, व्यवसायको सम्पत्ति सूची, ह्रासकट्टी विवरण)
  • विश्लेषण (लाभ-लागत, पार बिन्दु, ऋण भुक्तानीको अवस्था)
  • आधारभूत नगद प्रवाह (व्यवसायमा जम्मा हुने र बाहिरिने नगदको लेखाजोखा)
  • समस्या तथा जोखिम व्यवस्थापन (जोखिम र अनिश्चितताको पूर्वानुमान गरी रणनीति तयार)
  • परिशिष्ट/अनुसूची (योजनालाई सहयोग पुग्ने तथ्यांक, तस्बिर, माथिल्ला खण्डमा नसमेटिएका तर भन्नै पर्ने कैफियत)

७. परिशिष्ट/अनुसूची

तथ्यांक विवरण, तस्बिर, व्यावसायिक योजनाका पुर्वशर्त, अन्य समेटिनुपर्ने कैफियत

यसरी आफुले गर्न चाहेको कुनै पनि कृषि व्यवसायलाई योजना मुताबिक सञ्चालन गरेमा व्यवसायको उद्देश्य पुरा गर्न मद्दत पुग्छ र असफल हुने सम्भावना पनि कम हुन्छ। तसर्थ, सफल कृषि व्यवसायका लागि उचित व्यावसायिक योजनामा ध्यान दिनु आवश्यक छ l

रविन गिरी (प्रा.अधिकृत)

कृषि अनुसन्धान निर्देशनालय, लुम्बिनी प्रदेश, खजुरा, बाँके

Leave a Reply

Your email address will not be published. Required fields are marked *