देबेन्द्र राज पौडेल
जानकी : ६३.३२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको जानकी गाउँपालिका प्रमुख औद्योगिक, ब्यापारिक र कृषि योग्य स्थल सहर बाँके जिल्लामा अवस्थित एक व्यापारिक तथा अद्यौगिक क्षेत्रमा प्रचिलित ठाउँ हो । यसको क्षेत्र सुर्खेतरोडको मनिकापुर एयरपोर्टको सीमानादेखि खजुरा रोड हुँदै साई गाउँ भारतको सीमाना संग जोडेको देखाउँछ ।
जानकी गाउँपालिकामा ६ वटा वडा रहेका छन् । गाउँपालिकाको कुल क्षेत्रफल छ । जानकी गाउँपालिकाको कुल जनसंख्या ३७८३९ रहेको छ । जसमध्ये पुरुषको जनसंख्या १९३३३ र महिला जनसंख्या १८४०६ रहेको छ ।
गाउँपालिकाको मुख्य बजार पिप्रवा चोक र मानपुर मानिन्छ । जानकी गाउँपालिका क्षेत्रसंग सिमाना जोडिएका ठाउँहरु पूर्वमा– नेपालगन्ज, पश्चिममा– खजुरा सिमाना, उत्तरमा– कोहल्पुर र दक्षिणमा – भारतको सिमाना रहेका छन् ।
पछिल्लो तथ्यांक अनुसार जानकी गाउँपालिकामा कुल घरधुरी ६७२४ रहेको छ । खेतीयोग्य जमिन कृषि उत्पादनका दृष्टिकोणले अव्बल मानिएको जानकीमा कुल खेतीयोग्य जमिन ५ हजार ६३ हेक्टर क्षेत्रफल रहेको छ । पालिकामा उद्योगहरु पनि रहेका छन् । जानकी गाउँपालिकामा बसोबास गर्ने मानिसहरुको मुख्य पेशा कृषि नै हो । यसको प्रमुख कारण भने उर्बर भूमि पनि हो । सिंचाईको अभावमा सयौं हेक्टर बाँझो रहने जानकीमा सिंचाईको उपलब्धता बढ्दै जानु, तीन तहकै सरकाले कृषिका लागि विभिन्न योजना बनाउनु, पालिकाले कृषिलाई आफ्नो मूल नीतिमा समावेश गरी कार्यक्रम बनाउँदै कार्यन्वयनमा लैजानुले कृषिको आधुनिकीकरण र व्यवसायिक कृषि खेती बढ्दै गएको छ ।
बाँकेमा स्थानीय तहमा जनप्रतिनिधि आएपछि कृषिलाई विशेष ध्यान दिइएको पाइन्छ । स्थानीय तहमा जनप्रतिनिधि आएपछि जनप्रतिनिधिलाई आफ्नो ठाउँको कृषिको सम्भावना, पालिकाले किसानलाई दिनुपर्ने सहयोग, किसानले समेत आफ्नो आवश्यकता जनप्रतिनिधिलाई भेटेर नै भन्न सक्ने भएकाले पहिले भन्दा अहिले सहज भएको छ ।
जानकी गाउँपालिकाले उब्जनी गरेको कृषि उत्पादन जानकी बाहेक अन्य ठाउँमा पनि किसानले बिक्री गर्दछन् । सडक सञ्जालसँग जोडिएकाले जानकीका किसानलाई आफ्नो उत्पादन बजारसम्म लग्न सहज छ । किसान आफ्नै आफ्नो उत्पादनको बजारीकरण गरेको पाइन्छ । पालिकाले पनि बिक्री केन्द्र तथा हाट बजारको योजना बनाइरहेको छ ।
जानकी गाउँपालिकाका कार्यपालिका सदस्य धर्मा थापा पालिकाले किसानलाई दिने अनुगमन दुरुपयोग नहोस् भन्नका लागि स्थलगत अनुगमन नियमित रुपमा गर्दै आएको बताउँछिन् । ‘हामीले अनुदानको मापदण्ड बनाएका छौं, सोही अनुसार किसानले अनुदान पाउँछन्’, उनी भन्छिन्, ‘पछिल्ला बर्ष जस्तो खेत बाँझो हुन छाडेको छ ।’ उनले सिक्टाको पानी आएपछि खेत सम्म पुर्याउनका लागि भित्री शाखाको काम पनि हुन थालेको जानकारी दिइन् ।
जानकी गाउँपालिकामा धान, गहुँ, तोरी, मकै, तरकारी, गाई, भैसी, माछापालनमा किसानहरु छन् । कृषिमा सम्भावना देखेपछि किसानहरु पनि त्यसतर्फ आकर्षित छन् । पछिल्ला दिन व्यवसायिक रुपमा कृषि उत्पादनका लागि किसानहरुले जग्गा भाडामा लिएर समेत खेती गरिरहेको पाइन्छ ।
कृषिबाट जीवनधान्ने मात्रै हो राम्रो आम्दानीको स्रोत हुने देखिएपछि पुरै परिवार नै कृषि उत्पादनमा लागेका किसानहरु पनि छन् । कतिपयले फार्म सञ्चालन गरेर अन्यलाई रोजगारी समेत दिएका छन् । ‘जानकीको कृषि उत्पादनलाई उद्योगसँग जोड्ने हो भने कृषि मार्फत नै पालिका समृद्ध हुन्छ’, किसानहरु भन्छन् । जानकीमा कसैको परिवार नै कृषिमा छ त कोही जग्गा भाडामा लिएर पनि कृषि गरेका छन् । कतिपय किसानले समूह बनाएर सामूहिक रुपमा कृषि कार्य गरेको पाइन्छ ।
जानकी गाउँपालिका वडा नं. ४ का बसन्त गडरिया व्यवसायिक रुपमा तरकारी खेती गर्दछन् । उनी धान, गहुँ बाहेक बर्षभरी तरकारी खेती गर्दछन् । जसबाट राम्रो आम्दानी भैरहेको गडरिया बताउँछन् । ‘पालिकाले पनि मल, बिउ तथा कृषि औजार खरिदमा सहयोग गर्दै आएको छ’, उनले भने, ‘अहिले तरकारी खेती नियमित आम्दानीको स्रोत बनेको छ ।’ गडरियाले तरकारी खेती गर्न लागेको पाँच बर्ष भयो । उनी आफ्नो उत्पादन खेतमै पनि बिक्री हुने गरेको बताउँछन् । ‘बजार मूल्य भन्दा केही रुपैयाँ घटाएर दिएपछि तरकारी किन्न खेतमै आउनुहुन्छ’, उनी भन्छन् ।
जाफर अली बागवानको परिवार नै कृषि पेशामा संलग्न छ । उनी १६ कठ्ठा क्षेत्रफलमा तरकारी लगाउँछन् । उनी खेतमै तथा बजारमा समेत तरकारी लगेर बेच्ने गरेको बताउँछन् । पालिकाले उनलाई कृषि औजार खरिदमा सहयोग गरेको छ । जसले गर्दा उनको लागतमा कमी आयो । बागवान माछा पालनको तयारीमा पनि छन् । त्यसका लागि पोखरी तयार गरिरहेको बताउँछन् ।
बाँकेमा कृषि उत्पादन बढ्दै जाँदा यसको लाभ किसानलाई मात्रै हुँदैन । यसले आयातमा पनि कमी ल्याउँछ । केही बर्षअघिसम्म बाँकेमा भारतकै तरकारी बिक्री हुने गर्दथ्यो । नेपालमा उत्पादन बढ्दै जाँदा भारतमा आउने तरकारीमा समेत कमी आएको छ ।
सम्भावना कृषिमा प्रशस्त रहेको छ । कृषिमा प्रविधिको प्रयोग, कृषकलाई ज्ञान र सीप दिनुका साथै मल र बिऊ समयमै उपलब्ध गराउने र सिंचाईको व्यवस्था, बजारीकरण गरिदिने हो भने आयात गर्नुपर्ने अवस्था रहँदैन ।
पढेलेखेकाले खेती गर्दैनन् सोंचमा पनि परिवर्तन आउन थालेको छ । पढेलेखेका शिक्षित युवाहरुले कृषि क्षेत्रलाई थप अगाडि बढाउन सक्छन् । त्यसकै उदाहरण हुन् जानकी गाउँपालिका वडा नं. ३ का गौतम रोकाय । भारतमा बिएसिएजी अध्ययन गरेका उनी अहिले भैसी पालन गर्दछन् । जसबाट उनले राम्रो आम्दानी गरेका छन् ।
कृषिले स्वरोजगार मात्रै होइन रोजगारी पनि सिर्जना गरेको छ, जानकी गाउँपालिकामा । त्यसैका उदाहरण हुन् जानकी गाउँपालिका वडा नं. ३ का धर्मराज बर्मा । व्यवसायिक तरकारी खेतीमा रहेका उनले ११ जनालाई रोजगारी दिएका छन् ।
परम्परागत कृषिले मात्रै अब बजारसँग प्रतिस्पर्धा गर्न गाह्रो हुन्छ । प्रविधिको प्रयोगले उत्पादन सँग लागतमा पनि कमी ल्याउँछ । त्यसैले अहिले जानकी गाउँपालिकामा कृषिमा प्रविधिको प्रयोग पनि बढ्दै गएको छ ।