दार्चुला जिल्लामा पछिल्लो समय किसानहरु चक्लाबन्दी तरकारी र आलु खेतीतर्फ आकर्षित बनेका छन् । किसानहरु व्यवसायिक रुपमा तरकारी खेती गरुन, बजारीकरणमा सहज पहुँच होस् भन्ने हेतुले चक्लाबन्दीमा खेती गर्ने अबधारणको सुरुवात गरिएको कृषि ज्ञान केन्द्र दार्चुलाका प्रमुख प्रकाश कुमार पन्तले जानकारी दिनु भएको छ ।उहाँका अनुसार किसानहरु सामान्य रुपमा तरकारी खेती गर्दै आइरहेका छन् ।
तर व्यवसायी रुपमा खेती गर्दा कृषक स्वयं व्यवसायीकरण तर्फ उन्मुख हुने, स्थानीय ताजा उत्पादित तरकारी सबैले उपभोग गर्न पाउनुका साथै उत्पादित बस्तुलाई बाहिर पठाउन सहज हुने देखिएपछि पछिल्लो समय जिल्लाका अधिकाशं क्षेत्रका किसानहरु चक्लाबन्दी तरकारी खेतितर्फ लाग्न थालेको बताइएको छ । कृषि ज्ञान केन्द्रले चक्लाबन्दीमा खेती गर्नेलाई अनुदान सहयोगको कार्यक्रम अगाडी बढाएपछि किसानहरुलाई पनि अहिले सहज भएको बताइएको छ । ग्रामीण बस्तीमा पनि किसानहरु व्यवसायीक रुपमा, तरकारी, आलु खेती गर्नेको संख्या बढेको देखिन्छ ।
चक्लाबन्दीमा खेती गर्न २० रोपनी भन्दा बढी एउटै क्लस्टरमा जमिन हुनुपर्ने प्रावधान छ यदि एकजना व्यक्तिको मात्र त्यति मात्रामा जमिन नभएको अवस्थामा एक वा एक भन्दा बढी व्यक्तिहरू मिलेर पनि सामूहिक रुपमा खेती गर्न सकिने व्यवस्था रहेको कृषि ज्ञानकेन्द्र दार्चुलाले जनाएको छ ।
दार्चुला जिल्लामा ८ वटा स्थानीय तहमा लागु भएको कार्यक्रम अन्तर्गत किसानहरूले ११ वटा चक्लाबन्दीमा आलु खेति गरेका छन भने १२ वटा चक्लाबन्दीमा तरकारी खेति गरिहरेको कार्यालय प्रमुख पन्तले जानकारी दिनु भएको छ । ज्ञान केन्द्रल चक्लाबन्दी अन्तर्गत खेती गर्ने व्यक्ति वा समूहलाई ५० प्रतिशत अनुदान दिँदै आएको समेत जनाएको छ । दार्चुलामा चक्लाबन्दीमा तरकारी खेती गर्दा एउटै क्लस्टरमा २० रोपनी भन्दा बढी जमिनको अभाव, बढी उत्पादन भएको अवस्थामा कोल्ड स्टोरेजको समस्या रहेको प्रमुख पन्तले बताउनुभयो ।