निवर्तमान कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले कृषि मन्त्रालयको शाख कृषि मलको सहज उपलब्धतामा जोडिएकाले अभाव हुन नदिन सबै लाग्न अनुरोध गरेकी छिन् ।
मन्त्रालयमा आयोजित विदाई कार्यक्रममा बोल्दै निवर्तमान कृषिमन्त्री अर्यालले मल बहुसरोकारको विषय भएकाले आपूर्तिमा निरन्तर अनुगमन गर्न आग्रह गरिन् । सरकारले किसानलाई दिने अनुदान पनि बढाएको उल्लेख गर्दै उनले अनुदानको रकम किसानले नपाउने अवस्था हुनु नहुने बताइन् ।
“कृषि मन्त्रालय भनेपछि मल छ कि छैन, यो सरोकारको विषय रैछ । सरकारले पनि अब बढाएर १३ अर्बमा पु¥याएको छ अनुदानको निम्ति किसानहरुलाई यो सानो पैसा त होइन नि । अब यो सरकारले जे उद्देश्यले त्यत्रो किसानहरुलाई राहत होस् भनेर अनुदानको प्रवन्ध गरेको छ” उनले भनिन्, “त्यो किसानहरुले उपभोग गर्न नपाउने खालको परिस्थिति सिर्जना भयो भने दुखद कुरा हुन्छ । हामीले मेहनत बेस्सरी गर्या छौँ । निगरानी गरिरहनुपर्ने छ ।
उनले किसान आयोगले पार्टीको घोषणा पत्रमा बोलेका कुराहरुलाई सरकारको नीति, कार्यक्रममा सम्बोधन गराउने र किसानका समस्या समाधान गराउने दिशातर्फ अघि बढ्न पनि आग्रह गरिन् । उनले जिम्मेवारीमा कतिसमय रहिन्छ भन्दा पनि जिम्मेवारीमा रहँदा के काम गरिन्छ भन्ने कुरा महत्व हुने भन्दै आफूले गर्न खोजेको धेरै काम सम्पन्न गर्न सकेकोमा सन्तोष महसुस गरेको बताइन् ।