कुनै पनि प्राणीमा वंश विस्तारको आधार भनेकै भाले र पोथीबीच हुने समागम हो । वनस्पति वर्गमा भाले तत्व परागकणबाहेक सबै अंग स्थिर (अचल) हुन्छन् । किरा, हावा, पानी र अन्य जीवको माध्यमबाट चल अवस्थामा रहेका परागकण अचल अवस्थाको स्त्रीकेशरमा छिर्छ र परागसेचन हुने गर्छ ।
यस्ता परागसेचन गराउने माध्यमलाई परागसेचक भनिन्छ । परागसेचनले नै बाली तथा वनस्पतिको उत्पादन, वृद्धि, वंश विस्तार र निरन्तरता कायम राख्छ । परागसेचन प्रकृतिको आधारभूत प्रक्रिया हो, जसले प्रकृतिलाई जीवन्त बनाइरहेको छ । परागसेचन भएन भने बीजाशय सुकेर फल लाग्दैन । पर्याप्त परागसेचन भएन भने अपूर्ण आकारको फल निस्कन्छन् । पुष्ट, पोटिला र स्वस्थ फल पूर्ण परागसेचनबाट मात्रै सम्भव हुन्छ । व्यवस्थित परागसेचनले मात्रै उत्पादनमा ३५ प्रतिशत वृद्धि गर्ने तथ्य विश्व खाद्य संगठनले जनाएको छ । परागसेचक मासिँदै जानु भनेको वनस्पतिको वंश विस्तार र निरन्तरता रोकिनु हो ।
परागसेचन कृषिको एक आधारभूत आवश्यकता हो । कृषि उत्पादनमा जति माटो, पानी र बिउको महत्व छ, त्यति नै महत्व परागसेचनको पनि छ । हाम्रो कृषि उत्पादनलाई गुणात्मक र परिमाणात्मक हिसाबमा बढाउन सबैले भुलेको परागसेचकको यो पाटोलाई पनि कृषिसँगै लिएर जान आवश्यक छ ।
तर, परागसेचकको संख्या भने विश्वभर नै घट्दै गइरहेको छ । मलेसियाबाट सार्वजनिक ‘ग्लोबल पोलिनेटर इभ्यालुएसन’का अनुसार आर्थिक र सामाजिक हिसाबमा महत्वपूर्ण परागसेची जीवहरू लोप हुने खतरामा छन् । प्रतिवेदनमा परागसेचन प्रक्रियामा १६ प्रतिशत भूमिका निर्वाह गर्ने चरा-चमेरा लगायतका जीवहरू पनि लोपोन्मुख स्थितिमा रहेको तथ्य उल्लेख छ । लोप हुने सबैभन्दा खतराको स्थितिमा भने मौरी र पुतली रहेका बताइएको छ । मौरी र पुतलीमध्ये कुल नौ प्रतिशत भने लोप नै हुने संघारमा रहेको प्रतिवेदनले प्रस्ट्याएको छ । परा–परागसेची बालीहरूको उत्पादन विगतका पाँच दशकमा तीन सय प्रतिशतले बढेको देखिन्छ । तर, यस्ता बालीको उत्पादन स्थिरता र बाली विकास भने स्वयं परागसेचन हुने बालीको भन्दा कम रहेको पाइएको छ । जीव परागसेचनले विश्वव्यापी खाद्य उत्पादनको ५–८ प्रतिशत हिस्सा ओगट्ने र यसको बजार दुई सय ३५ देखि पाँच सय ७७ अर्ब अमेरिकी डलरबराबर रहेको आइपिबिएसको अध्ययनलाई कोट गरेर भर्खरै सार्वजनिक प्रोफेसर जेफ अलर्टनको ‘पोलिनेटरस एन्ड पोलिनेसन’ पुस्तकमा उल्लेख छ । (साभार कृषि प्रेस )