बिदेशमा कमाएको पैसा कृषि फार्ममा लगानी गर्दै युवा


मोरङ : डेढ दशक पसिना विदेशमा बगाएर स्वदेश फर्किएका दाजुभाइले करोडाैँ खर्च गरेर बहुउद्देश्य कृषिफार्म सञ्चालनमा ल्याएका छन् । मोरङको रतुवामाई नगरपालिका झुनाबारीमा ७ करोड २५ लाख रुपैयाँको लागतमा कृषिफार्म सञ्चालनमा आएको हो । 

स्थानीय टेकराज, शैलेन्द्र र सुमन कार्कीले फार्म सञ्चालन गरेका हुन् । दुई बाली धान फल्ने खेत मासेर उनीहरूले फार्म सञ्चालन गरेका हुन् । ४२ लाख रुपैयाँका दरले ९ बिघा जमिन खरिद गरेर उनीहरूले उत्पादन सुरु गर्नुका साथै संरचना निर्माण गरिरहेका छन् ।

फार्ममा १ हजार बंगुर, ६ सय बोयर बाख्राका पाठापाठी, ६ सय टर्की, २ सय स्थानीय कुखुरा ६ सय कड्कनाथ पाल्न सकिने गरी अलग–अलग गोठ निर्माण भइरहेको छ । गत वर्ष नै व्यवसाय सुरु गर्ने गरी योजना बनाए पनि कोरोना भाइरसका कारण ढिलो भएको शैलेन्द्र बताउँछन् । अस्ट्रेलिया र साउथ अफ्रिकाबाट शतप्रतिशत बोयर बाख्रा र बोका माग गरे पनि लकडाउनका कारण ढिलो भएको शैलेन्द्रको भनाइ रहेको छ । बंगुर तथा बोयरका पाठापाठी ल्याउन बैनाबापत केही रकमसमेत दिएको उनले बताए । ९ बिघामध्ये १ बिघामा माछापालन गरेका छन् भने अन्य क्षेत्रफलमा घाँस र संरचना निर्माण गरेका छन् ।

१० वर्ष भारतमा होटेल व्यवसाय गरेर फर्केका शैलेन्द्र आफ्नै माटोमा पौरख गर्ने योजना बनाएर फर्किएको वताउँछन् । उनका भाइ टेकराज कार्की पनि १२ वर्ष न्युजिल्यान्ड बसेर कमाएको सबै पैसा कृषि उद्यममै लगानी गरेका छन् । ३ वर्षभित्र १२ करोड रुपैयाँ लगानी पुर्‍याउने र वार्षिक १ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएको टेकराजको भनाइ रहेको छ । टेकराज र शैलेन्द्रसँगै साइला भाइ सुमन कार्कीले पनि कृषि र पशुपालनबाटै आर्थिक रूपमा समृद्ध बन्ने सपना देखेका छन् ।

११ वर्ष दुबई, कतार र मलेसिया बसेपछि उनको वैदेशिक रोजगारको यात्रामा पूर्णविराम लागेको छ । उनी भन्छन् दैनिक १४ घन्टासम्म अरूका देशमा पसिना बगाइयो अब त्यत्तिनै समयमा आफ्नै देशको माटोसँग रमाइन्छ । उनले पनि विदेशमा कमाएको सबै पैसा बहुद्देश्यीय कृषिफार्ममा लगानी गरेको बताए । कार्की दाजुभाइलाई मामा राजेन्द्र बुढाथोकीले समेत साझेदारका रूपमा सहयोग गरेका छन् । बुढाथोकी पनि आठ वर्ष साउदी अरबमा पसिना बगाएर फर्किएका हुन् । उनीहरूले गत माघमा फार्म दर्ता गरेका हुन् । 

करोडाैँ खर्च गरिसके पनि उनीहरूले कुनै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका छैनन् । लकडाउनका कारण बंगुर तथा बाख्रा–पाठा लगाउन ढिला भएकाले घाटा भएको उनीहरू बताउँछन् । घाटा भए पनि बैंक तथा वित्तीय संस्थाहरूले चिठी पठाउलान् भन्ने चिन्ता भने उनीहरूमा छैन । पहिलाजस्तै कोरोनाका कारण हामीलाई अहिले पनि समस्या भएको छ शैलेन्द्रले भने बंगुर र टर्की नेपालबाटै ल्याउने भएकाले जेठको पहिलो हप्तासम्ममा हाली सक्छौँ ।

Leave a Reply

Your email address will not be published.