विदेशको जागिर छाडेर नेपालमै फार्म खोलेर बसे तुफान


  • 245
    Shares

रमेश तुफान पण्डित १३ वर्षदेखि कृषिकर्ममा छन् । काठमाडौंको शखरापुरा नगरपालिका साँखु इन्द्रणीमा जीआरएस एग्रीकल्चर फार्म खाेलेर उनले कृषिलाई व्यावसायिक पेसाका रूपमा अघि बढाएका हुन् । देशका विभिन्न जिल्लामा पनि उनले फार्म चलाइरहेका छन् । 

उनकाे फार्ममा रायाेको साग, बोडी, सिमी, फूलकाेभी, बन्दाकाेभीलगायतका तरकारी उत्पादन हुन्छ । यहाँबाट वार्षिक ३० टन तरकारी उत्पादन हुने गरेकाे रमेश बताउँछन् ।

उनका अनुसार गोरखाको गोरखा नगरपालिकामा पिडालु, सिमलतरुल, घरतरुल, आलु र अर्ग्यानिक उत्पादनहरू वार्षिक १२ टन उत्पादन हुन्छ । गोरखाकै उनको फार्ममा २० वटा दुहुनाे गाईबाट दैनिक ८० लिटर दूध उत्पादन हुने गरेको रमेशले बताए । 

यसैगरी, रमेशले नवलपुर चोरमारामा समेत कृषि फार्म सञ्चालन गरिरहेका छन् । त्यहाँ उनले कागती खेती गरेका छन् ।  १० हजारभन्दा धेरै कागती रोपेकोमा ४ हजार बोट कागती फल्न थालेका छन् । साेही फार्मा उनले बाख्रा र कुखुरा पनि पालेका छन् । 

उनका अनुसार सबैतिरका फार्ममा गरी उनले अहिलेसम्म साढे ३ करोड लगानी गरेका छन् । उनले तीन जिल्लामा सय रोपेनीभन्दा धेरै जग्गामा खेतीपाती गरिरहेका छन् ।

उनकाे फार्ममा अहिले १५ जनाले राेजगारी पाएका छन् ।

यसअघि उनी रोजगारीका लागि मलेसिया गएका थिए । त्यहाँ आफूले कृषि क्षेत्रमै काम गरेकाे बताउँछन् । कृषिमै काम गरिरहेका अन्य ५ जना साथीले नेपालमा अर्ग्यानिक उत्पादन गर्नुपर्छ भन्ने कुरा भएर स्वदेश फर्किएको रमेशकाे भनाइ छ ।  उनी मलेसियाकाे मासिक झण्डै लाख रूपैयाँकाे नाेकरी छाेडेर नेपालमै फार्म खोलेर बसेका हुन् ।

उनका अनुसार कृषिमा अन्य पेसाजस्तो एकैपटक धेरै नाफा कमाउन सकिँदैन । ‘तर, ढंगका साथ निरन्तर गरियाे भने भविष्यमा राम्राे हुन्छ’, उनी भन्छन् । 

सरकारले उत्पादन, आधुनिक प्रविधिमैत्री खेतीपाती र कृषिमा नागरिक आर्कषण बढाउन अनुदान रकमकाे प्रभावकारी वितरणमा जाेड दिनुपर्ने उनी बताउँछन् । ‘सरकार कृषिका नीतिमा अडकिएको छ । किसानले उत्पादन गरेका सामाग्री बजारीकरणका लागि सहयोग गर्दैन । ठूलाे कुरा उत्पादन हो । त्यही भएर कृषिमा उत्पादन बढ्दै गएपछि नयाँ योजनाका लागि नीति बनाउनुपर्छ’, उनले भने, ‘नेपालको कृषि क्षेत्र अव्यवस्थित छ । सरकारले यो क्षेत्रका लागि बर्सेनि नीति तथा कार्यक्रम ल्याए पनि परम्परागत प्रणालीमै अल्झिएको छ ।’

सरकारले अनुदानका नाममा गरेको लगानी वालुवा पानी हालेजस्तो मात्र भएको उनको भनाइ छ । किसानले खेतीपातीमा रोग लाग्दा औषधि उपचार गर्न प्राविधिकसमेत नपाउने समस्या रहेको र नोक्सानी बेहाेर्नुपर्ने बाध्यता रहेको रमेश बताउँछन् । 

स्वदेशमा कृषक र कृषिमा उत्पादन बढाउने उद्देश्यले एउटा सञ्जाल नै बनाएर काम गरिरहेको उनले बताए । ‘कृषिमा पहिला त नेपाल निर्भर हुनुपर्छ भन्ने हाम्रो उद्देश्य हो । नेपालीहरूले विदेशी तरकारी होइन, स्वदेशमा उत्पादित तरकारी किनेर खानुपर्छ भनेर हामी कृषिमा संघर्ष गरिरहेका छौँ’, उनले भने । _सिलापत्र

Leave a Reply

Your email address will not be published.