राजापुर : बर्दियाको राजापुर नयाँ गाउँका किसानलाई कुखुराको चल्ला वितरण गरिएको छ । एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय, बर्दियाले पोषण सुधारका लागि ग्रामिण कुखुरा वितरण कार्यक्रम अन्तर्गत विपन्न समुदायका किसानहरुलाई कुखुराको चल्ला वितरण गरेको हो ।
राजापुर नगरपालिका वडा नम्बर २ नयाँ गाउँका ३० जना परिवारलाई ५० वटाको दरले वितरण गरिएको थियो । दलित, पिछडिएका, आर्थिक अवस्था कमजोर भएकाहरुलाई उक्त कुखुराको चल्ला प्रदान गरिएको एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका अधिकृत भोजराज रावलले जानकारी दिनुभयो ।
उक्त नयाँ गाउँका ३० परिवारलाई खोर बनाउनका लागी प्रति खोर ५ हजार र औषधि उपचारका लागी ७ हजार ५ सय समुदायका लागी कार्यालयले प्रदान गरेको अधिकृत रावलले जनाउनुभयो । ग्रामिण किसानको पोषण सुधार र आय आर्जन गर्ने उदेश्यका साथ राजापुरका किसानलाई चल्ला वितरण गरिएको हो । चल्ला प्राप्त गर्ने किसानहरुलाई एक दिने कुखुरा पालन सम्बन्धि तालिम समेत कार्यालयले प्रदान गरिसकेको एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका डा. सुमन खनालले जानकारी दिनुभयो ।
चल्ला वितरण कार्यक्रममा राजापुर नगरपालिकाका पशुसेवा शाखाका प्रमुख पुर्ण बहादुर खत्रि, एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका प्राविधिक सहायक मनोज शर्मा लगाएत स्थानिय अगुवाहरुको सहभागिता रहेको थियो ।