खजुराका युवा नेता भण्डारी बट्टाई पालनमा


खगेन्द्र दाहाल, खजुरा : बाँके जिल्लामै मान बहादुर भण्डारीको नाम एक चिरपरिचित नाम हो । मान बहादुरलाई धेरैले एक राजनितिज्ञ, समाजसेवि साथमा कलाकारका रुपमा चिन्दछन । अहिले आएर उनको परिचय त्यतिमा मात्र सिमित छैन । मान बहादुरले आफुलाई एक व्यवसायिक किसानको रुपमा पनि चिनाउन लागिपरेका छन ।

खजुरा गाउँपालिका वडा नम्बर ३ मनकामनामा स–परिवार बसोबास गर्दै आएका भण्डारीको परिवारले व्यवसायिक रुपमै बट्टाई पालन गरिरहेका छन । बट्टाई पालन गर्न लागेको धेरै समय भने भएको छैन, तर पनि मान बहादुरको मेहेनत र लगनले गर्दा छोटो समयमा राम्रो प्रतिफल दिन सफल हुनुभएको छ । रक्तिम सास्कृतिक मन्चको केन्द्रिय उपाध्यक्ष समेत रहेका भण्डारी एक कुसल कलाकारका साथै बक्ता पनि हुन ।

लामो समयदेखि राजनितिमा लागेका मान बहादुर राजनितिक गर्ने मात्रै नभएर समाज परिवर्तनका काममा अग्रसर भएका भेटिन्छन् । राजनिति गर्नेहरुपनि उत्पादनमा लाग्न पर्ने उहाँको धारणा छ । आफुले कृषिलाई व्यवसायिक बनाएर लैजादै गर्दा यसैमा किसानहरुलाई सहयोग गर्न सकिने भएकाले पनि बट्टाई पालनतर्फ लागेको उहाँले बताउनुभयो । आफ्नै ह्याचरी सहित बट्टाईको चल्ला उत्पादन तर्फ लाग्नुभएका भण्डारीले लोकल कुखुरा, हास, टर्कि, कडकनाथ लगाएतलाई पनि विस्तारै बढाउदै लैजान लाग्नुभएको छ ।

युवा नेता तथा अहिले एक व्यवसायिक किसान मान बहादुर भण्डारीले ५ महिना अघि स्थानिय गाउँघरबाट बट्टाईका माउ र भाले संकलन गरि व्यवसायको सुरुवात गर्नुभएको हो । सुरुमा ६ सय देखि सुरुवात गर्नुभएको भण्डारीले पछि ३ सय थपेर व्यवसायिक यात्रालाई अघि बढाउनुभएको हो । अहिले उहाँसगं ३ हजार बढि बट्टाई छन । २ लटमा ५५० वटा बट्टाई त उहाँले विक्रि पनि गरिसक्नुभएको छ । एउटा जोडिलाई ३ सयमा घरबाटै विक्रि हुने गरेको भण्डारीले बताउनुभयो । उहाँका अनुसार चल्ला, बयस्क देखि बट्टाईका अण्डा पनि सहजै विक्रि हुने गरेको छ ।

३२४० क्षमता भएको ह्याचरी घरमै रहेकाले पनि चल्ला निकाल्न उहाँलाई कुनै समस्या छैन । उक्त बट्टाई पालन तथा ह्याचरी सन्चालनमा हालसम्म ८ लाख जति लगानी भइसकेको छ । बट्टाईका चार वटा जातहरु उहाँसगं रहेका छन । बट्टाई पालनलाई थप बढाउन युवा नेता तथा किसान भण्डारीले नयाँ योजना बनाइसकेको र छिटै विभिन्न जिल्लामा यसको उत्पादन पुगाउने गरी प्रतिफल देखिने विस्वास व्यक्त गर्नुभयो । मान बहादुर लाई यो व्यवसायमा उनको घर परिवारले पुर्ण रुपमा सहयोग गरेको छ ।

उत्पादन दिनहुँ बढ्दै जादाँ बजारको अभाव हुने हो कि भन्ने डर मानबहादुरलाई लागिरहेको छ । छोटो समयमा यति राम्रो व्यवसाय सन्चालन गरेका उहाँको घरमा फार्म हेर्न र उत्पादित बट्टाई र अण्डा खरिद गर्न टाढा टाढा बाट आउने गरेका छन । बट्टाई पालन सुरु गर्नु अघि नजिकैको ज्ञानोदय नमुना माविमा क्यान्टिन सन्चालन गर्ने गर्दथे ।

कोरोना कहर र लकडाउन हुन थालेपछि विद्यालय पनि नियमित नहुदाँ भण्डारीले कृषि व्यवसाय रोजेका हुन । यो व्यवसाय उनको पहिले देखिको रोजाई व्यवसाय हो । बट्टाई पालन बाट प्रफुल्ल देखिने मान बहादुरले सिक्न चाहने र केहि गर्न रुचाउने युवाहरुलाई सहयोग पनि गर्दै आएका छन ।

Leave a Reply

Your email address will not be published.