बर्दिया : सिमिट इन्टरनेशनलद्वारा संचालित सिसा परियोजनाले क्वालिटी एग्रो सप्लायर्स भुरिगाउँको सहकार्यमा ठाकुरबाबा नगरपालिका २ कर्मालामा १ दिने कृषि यन्त्रको समस्या निवारण तथा सम्भार तालिम सम्पन्न गरेको छ ।
कोभिड १९ को महामारी पश्चात विदेशमा आफ्नो रोजगारी गुमाएर नेपाल फर्किएका युवाहरूलाई स्वदेशमा नै कृषिमा व्यवसाय गर्ने तथा मेसिनरी सेवा प्रदायकको रूपमा काम गर्न कृषि मेसिनहरू खरिद गर्न सहजिकरण गराइदिने कार्यक्रम अन्तर्गत केहि दिन अघि मात्र सिसा परियोजनाको सहजिकरणमा १३ जनाले एकैपटक डिजेलबाट चल्ने मिनिटिलर किनेर सेवा संचालन गरिसकेका छन् ।
विशेषगरी भर्खरै विकसित नयाँ सेवाप्रदायकहरूलाई लक्षित गरेर उनीहरूको सिप अभिवृद्धि गर्नको लागी उक्त कार्यक्रम आयोजना गरिएको परियोजनाका बाँके-बर्दियाका संयोजक सालिन आचार्यले बताए ।
तालिममा मिनिटिलरलाई कुशलता पूर्वक संचालन गर्न, मेकानिक्स बिना पनि समाधान गर्न सकिने सामान्य समस्याहरू निवारण गर्न साथै मेसिनको उचित रेखदेख गर्न सिकाएको कार्यक्रममा मुख्य प्रशिक्षक सिसा परियोजनाका इन्जिनियर इ. पदम प्रसाद पौडेलले जनाएका छन ।
जम्मा ३५ जना सहभागी भए मध्ये महिला सहभागीहरूको पनि उल्लेख्य सहभागीता रहेको उक्त प्रशिक्षणमा सहभागी महिला प्रशिक्षार्थी राम कुमारी थारूले तालिमबाट आफूले मिनिटिलरको डोरी फेर्न, फालिहरू फिट गर्न, मोबिल चेक गर्न, मोबिल गेरआयल फेर्न मेसिनलाई हेरचाह गर्न सिकेको बताईन । साथै मिनिटिलर स्टार्ट हुदै भएन, स्टार्ट बन्द भयो, धेरै तात्यो, अनौठो आवाज आयो, कालो निलो सेतो धुवा फाल्यो, फालि भाचिँयो, राम्रोसगँ जोतेन भने जस्ता समस्याहरू केके कारणले गर्दा आउछ, कसरी समाधानगर्ने भन्ने जस्तो कुरा समेत सिकेको शिव नारायण थारूले बताए ।
सिमिट इन्टरनेशनद्वारा संचालित सिसा परियोजनाले यु एस ए आई डीको सहयोगमा विगत २०६९ सालदेखि बाकेँ, बर्दिया जिल्लामा कृषिमा अनुसन्धान, यान्त्रिकीकरण र अनुसन्धानबाट आएका राम्रो नतिजाहरूलाई विस्तार गर्ने काम गर्दै आइरहेको छ । अहिले कोभिड १९ को महामारी पश्चात विदेशमा आफ्नो रोजगारी गुमाएर नेपाल फर्किएका युवाहरूलाई स्वदेशमा नै कृषिमा व्यवसाय गर्ने तथा मेसिनरी सेवा प्रदायकको रूपमा काम गर्न कृषि मेसिनहरू खरिद गर्न सहजिकरण गराइदिने काम गरिरहेको छ ।