विदेशबाट फर्केका मोरङका युवाहरु केराखेतीमा


  • 133
    Shares

मोरङ, २९ फागुन । मोरङका युवा व्यावसायिक केराखेतीमा जुटेका छन् । विदेशमा १० नङ्ग्रा खियाउनका सट्टामा स्वदेशी माटोमै काम गर्ने उद्देश्यले व्यावसायिक केराखेती लगाउन अभियान सञ्चालन गरेका छन् ।
वैदेशिक रोजगारीका लागि कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरब, कुवेत तथा मलेशियालगायतका  पुगेका मोरङका १०  युवाले कानेपोखरी गाउँपालिका–१ होक्लाबारीमा ८५ बिघा जग्गामा मालभोग जातको केराखेती लगाएका छन् ।
उक्त केरा खेतीबाट वार्षिकरुपमा प्रतिबिघा रु तीन लाखसम्म आम्दानी गर्ने लक्ष्यका साथ कार्य गरिरहेको सोम केराखेती कृषि फार्मका धनी सोमनाथ चापगाईले जानकारी दिए । वैदेशिक रोजगारीमा तीन वर्षदेखि पाँच वर्षसम्म काम गरी स्वदेश फर्केका यी युवा व्यावसायिक केराखेती गरेर केही गर्ने सोचमा देखिएका छन् । तातो घाममा काम गर्नुभन्दा स्वदेशकै अनुकूल हावापानी र वातावरण काम गर्नु नै उचित ठानेका यी युवा कृषि क्षेत्रमा लागेका हुन् ।
परनिर्भरता हटाउने, व्यापार घाटा कम गराउने र स्थानीयस्तरमा रोजगार पनि सिर्जना गर्न सकिने भएकाले यसमा यी युवा आकर्षित भएका हुन् । अनेक सम्भावना रहेको हाम्रो मुलुकमा जाँगर नभएपछि विदेशिने गरेको र विदेशमा दुःख पाएपछि स्वदेशमै केही गर्न हिम्मत गर्नु सकारात्मक पक्ष रहेको कृषि निर्देशनालय विराटनगरका प्रमुख प्रकाश डाँगीले बताए । उनले भने “यो पेशामा शिक्षित युवाको सहभागी हुने निकै सुखद पक्ष हो । यसले गर्दा देशमा आवश्यकतापर्ने वस्तुहरुको अभाव टर्छ ।”  

सरकारले कृषिमा व्यवसायीकरण भनिए पनि हालसम्म सङ्घीय तथा प्रदेश सरकारबाट कुनै सहयोग नपाएको उनीहरुको गुनासो छ । उत्पादित केराको बजारको कुनै समस्या नरहेको  बताइएको छ ।
केराको मुख्य बजार भनेको काठमाडौंको बल्खु रहेको छ भने अन्यमा पोखरा, दाङ, विराटनगर, धरान, काँकरभिट्टा छन् । उनका अनुसार बजारमा केराको कोसाअनुसार रु तीनदेखि रु पाँचसम्ममा कमिशनका आधारमा थोक बिक्रेतालाई आफ्नो उपस्थितिमा बिक्री गर्ने गरेको जानकारी दिए । केराको बोटपिच्छै मललगायत औषधि छर्किनुपर्ने र समयसमयमा झारपातका गोडमेल आवश्यक रहेको छ । यसको राम्रो उत्पादनका लागि कात्तिकदेखि चैतसम्म १० देखि १२ पटक माटोको अवस्था हेरी सिँचाइ उपलब्ध गराउन बोरिङको व्यवस्था गरिएको अर्का व्यवसायी मणिराज तामाङले बताए ।
उनका अनुसार खेती लगाएको स्थानमा आवश्यकतानुसार निःशुल्क पाकेको केरा उपलब्ध गराउने हुनाले चोरी हुने अवस्था नगण्य रहेको विचार व्यक्त गरे । रोजगारी प्राप्त गरेका स्थानीय युवा नारायणबहादुर भण्डारीले बगानका कारण ग्रामीण क्षेत्रमा आर्थिकरुपमा केही वृद्धि भएको प्रतिक्रिया दिए । उनले विगतमा वैदेशिक रोजगारीका लागि अरब गए पनि स्वदेशमै रोजगारी उपलब्ध हुँदा परिवारसँग बस्न पाउँदा खुशी लागेको बताए ।    भण्डारीले केराखेती सम्बन्धमा अनुभव हासिल गरी भविष्यमा यसको खेती गर्ने सोच रहेको धारणा व्यक्त गरे ।

राम्रो सिँचाइको व्यवस्था भएको ठाउँमा जाडो महीनाबाहेक जुनसुकै समयमा पनि केरा रोप्न सकिन्छ । मलहरु केरा पसाउनुअघि दिनुपर्दछ । अग्ला केराको बोटलाई बाँस र अन्य काठबाट टेका दिएर बोट ढल्नबाट जोगाउनुपर्छ । केरा पकाउन सकिने फल भएकाले उच्च आम्दानीका लागि बजार मूल्य बुझेर ढिलो वा चाँडो बालीबाट नाफा लिन सकिन्छ ।
स्वास्थ्यको दृष्टिकोणले केरा उपयोगी फल हुनुका साथै यसमा भिटामिन ‘ए’, ‘वी’ र ‘सी’ जस्तो आवश्यक पोषिसो भिटामीन पर्दाथ पाइन्छ । दुब्लो पातलो मानिसले दुग्धमा खेरा खानाले छिट्टै तौल बढ्ने र हृष्टपुष्ट देखिने डा आबिद हुसेनले जानकारी दिए  । रासस

Leave a Reply

Your email address will not be published.