यो साताको मौसमीको अवस्था र कृषि सल्लाह


  • 17
    Shares

मौसमी सारांश:
•    साताको शुरुवाती दिनमा पश्चिमी वायुको सामान्य प्रभाव रहनेछ।
•    प्रदेश नं-१ मा साताभर आंशिक बदली रहने, एक-दुई स्थानहरुमा वर्षाको संभावना र उच्च पहाडी तथा हिमाली भु-भागका एक-दुई स्थानमा हल्का हिमपातको संभावना छ। अन्य सबै प्रदेशहरुमा सामान्यतया सफा देखि आंशिक बदलीको सम्भावना छ।
•    बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर-पश्चिम प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।
•    तराईको अधिकांश भू-भागमा साताका अधिकांश दिनहरूमा बिहानीपख कुहिरो/हुस्सु लागेपनि दिउँसो हट्नेछ।
•    प्रदेश नं-१ र सुदूर-पश्चिम प्रदेश बाहेक अन्य स्थानहरुमा अधिकतम तापक्रम हल्का बढ्न सक्ने र केहि स्थानहरुमा उल्लेखनिय परिवर्तन नभएता पनि न्यूनतम तापक्रममा केहि गिरावट हुने संभावना छ।

कृषि सारांश:
 
•    चिस्यानको अवस्था हेरि ५०-५५ दिन भैसकेका गहुँबालीमा दोश्रो टपड्रेस २.९ के.जी. युरिया प्रति कठ्ठा वा ४.४ के.जी. युरिया प्रति रोपनीका दरले गर्नुहोस्।
•    गहुँबालीमा झारपात व्यवस्थापनको लागि छरेको ३०-४० दिनभित्र सल्फोसल्फ्युरन ७५% डब्लु.जी. २ ग्राम प्रति रोपनी वा १.३ ग्राम प्रति कट्ठा ४२ एम.एल. सरफेक्टेन्टमा मिसाई २५ लिटर पानीमा एक रोपनीको लागि वा १७ लिटर पानीमा एक कठ्ठाको लागि माटोमा चिस्यान भएको अवस्थामा फ्लेट फेन नोजलको प्रयोगले स्प्रे गर्नुहोस्।
•    बिहानीपख कुहिरो लाग्ने हुनाले गोलभेँडा तथा आलुबालीमा पछौटे डढुवा रोगको अनुगमन गर्नुहोस्। लक्षण देखापरेमा मेन्कोजेब ७५% डब्लु.पी. २ ग्राम प्रतिलिटर पानीमा मिसाएर आलुको बोट भिज्नेगरि अपरान्ह पछि स्प्रे गर्नुहोस्।
•    मध्यपहाडमा माघमा गरिने आलु खेतीका लागि कोल्डस्टोरबाट झिकि राम्रोसँग टुसाएको जनकदेव, कुफ्रिज्योति, डेजिरे, खुमल लक्ष्मी, खुमल रातो-२, खुमल सेतो-१, खुमल उज्वल, खुमल उपहार, खुमल विकास मध्ये उपलब्ध जातहरूको बीउ रोप्नुहोस्।
•    जाडोयाममा फलफूलका विरुवाहरु सुषुप्त अवस्थामा पुगेको हुनाले कटिङ्गद्वारा विरुवा प्रशारण गर्न सकिने अनार, अंगुर जस्ता फलफूलमा तीन आँख्ला भएको लामो शिसाकलम साइजको (१५-२० से.मी.) १ वर्ष पुरानो हाँगा छानी वालुवा, माटो र कम्पोष्ट मलखाद १:१:१ को अनुपातमा बनाइएको ब्याडमा कटिङ्ग राख्नुहोस्।
•    केराको वोट ओइलाउने (पानामा रोग) देखिएमा रोग लागेको बोट विरुवा उखेलेर हटाउने, नयाँ विरुवा सार्नको लागि रोग नलागेको क्षेत्रबाट ल्याउने तथा कार्बेन्डाजिम (बेभीष्टिन) १ लिटर पानीमा २ ग्राम घोली बोटको फेद भिजाउने तथा पातमा छर्नुहोस्। वा कपर अक्सिक्लोराइड २ ग्राम प्रति लिटर पानीमा घोली बोट र जरा भिज्नेगरि छर्नुहोस्।
•    लसुन र प्याजको, प्याजी डढुवा रोग व्यवस्थापनको लागि बारी सफा गरि रोगी पातहरु हटाई खाल्डो खनेर पुर्नुहोस्। रोगको अवस्था हेरि ७ दिनको फरकमा साफ वा सेक्टिन जस्ता बिषादीहरु २ ग्राम प्रति लिटर पानीका दरले सम्पूर्ण पातहरु भिज्नेगरि ३-४ पटक सम्म छर्केर उपचार गर्नुहोस्।
•    यो समयमा पन्छीहरुमा वर्डफ्लूको उच्च जोखिम रहेकोले आफ्ना फार्ममा जैविक सुरक्षा अपनाउनुहोस्। फार्ममा एकै पटक धेरै कुखुरामा श्वासप्रश्वास सम्बन्धि रोगको लक्षण देखा परेमा, मृत्युदर बढी भएमा वा बर्डफ्लू रोगको शंका लागेमा नजिकैको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा सम्पर्क राख्नुहोस्।
•    कुखुराका चल्लाहरुमा ब्रुडिङ निमोनिया तथा माउमा सि.आर.डी., एन.डी. (रानी खेत), आई.बि., एसाइटिस र कोलिब्यासिलोसिस हुनसक्ने भएकोले खोरमा उचित जैविक सुरक्षा, खोप तालिका, तापक्रम र भेन्टिलेसनको व्यवस्था गर्नुहोस्।
•    कमन कार्प जातका माछाको अण्डा टाँसिने प्रकृतिको हुने र यसबाट अण्डा बिग्रने/कुहिने हुदाँ अण्डा जोगाउनको लागि टाँसिने प्रकृतिका अण्डाहरुलाई फिँजाएर ह्याचलिङ्ग कढाउन वा कोरल्नको लागि खर, नरिवलको जटा, प्लास्टिक वा फाईवरको रेशा, झारपात आदि प्रयोग गरेर बनाईने गुन्द्री आकारको करिव २.५ मिटर लम्बाई र १ मिटर चौडाई भएको चट्टि वा लहरा आकारको संरचना “काकावन” तयार गर्नुहोस्।
•    जै, भेच, लुसर्न घाँस लगाएको ६० दिन पछि पहिलो कटिङ्ग गरि सिँचाई गर्नुहोस्। प्रत्येक कटाई पश्चात् जै/वर्सिम घाँसमा सिँचाई गरि २.१ के.जी. प्रति कठ्ठाका दरले युरिया टपड्रेस गर्नुहोस्।
•    कृषि र पशु सम्वन्धी जिज्ञासाको लागि पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजे सम्म फोन गर्नुहोस्।
•    कृषि-मौसम सल्लाह बुलेटिन नेपाल टेलिभिजनको NTV NEWS Channel बाट प्रत्येक शनिबार बेलुका ८ बजेको समाचार पछि प्रसारण हुने गर्दछ। यसको पुन: प्रसारण आईतबार बिहान ७ बजेको समाचारपछि पनि हेर्न सकिन्छ।

खाद्यान्नबाली

•    धानचमर निस्कने बेला भएको हिँउदे मकैमा गोडमेल र सिँचाई गरिसकेपछि ३.६ के.जी. युरिया प्रति कठ्ठा वा ५.४ के.जी. युरिया प्रति रोपनीका दरले दोश्रो टपड्रेस गर्नुहोस्।
•    चिस्यानको अवस्था हेरि ५०-५५ दिन भैसकेका गहुँबालीमा दोश्रो टपड्रेस २.९ के.जी. युरिया प्रति कठ्ठा वा ४.४ के.जी. युरिया प्रति रोपनीका दरले गर्नुहोस्।
•    गहुँबालीमा झारपात व्यवस्थापनको लागि गहुँ रोपेको ३०-४० दिनभित्र सल्फोसल्फ्युरन ७५% डब्लु.जी. २ ग्राम प्रति रोपनी वा १.३ ग्राम प्रति कट्ठा ४२ एम.एल. सरफेक्टेन्टमा मिसाई २५ लिटर पानीमा एक रोपनीको लागि वा १७ लिटर पानीमा एक कठ्ठाको लागि माटोमा चिस्यान भएको अवस्थामा फ्लेट फेन नोजलको प्रयोगले स्प्रे गर्नुहोस्।
•    विशेष गरि पराल ओछ्याइएको र जिरो-टिलेज प्रविधि अपनाइने खेतमा लगाएको गहुँबालीमा फौजी कीरा (रातीको समयमा बालीमा नोक्सानी गर्ने र दिउँसो लुकेर बस्ने) ले नोक्सानी पु-याउने संभावना ज्यादा हुने भएकोले नियमित अनुगमन गर्नुहोस्।

फलफूल बाली
•    जाडोयाममा फलफूलका विरुवाहरु सुषुप्त अवस्थामा हुने हुनाले कटिङ्गद्वारा विरुवा प्रशारण गर्न सकिने अनार, अंगुर जस्ता फलफूलमा तीन आँख्ला भएको लामो शिसाकलम साइजको (१५-२० से.मी.) १ वर्ष पुरानो हाँगा छानी वालुवा, माटो र कम्पोष्ट मलखाद १:१:१ को अनुपातमा बनाइएको ब्याडमा कटिङ्ग राख्नुहोस्।
•    यसै वर्ष कागती खेती शुरु गर्नु भएका कृषकहरुले कागतीको पात र कलिला मुनालाई तुसारोबाट जोगाउन बाँसको भाटा उल्टो भी आकार () मा गाडेर परालले छोप्नुहोस्।
•    सबै प्रकारका फलफूलमा मलखाद राख्ने उपयुक्त समय भएकोले सिफारिस गरिएको मात्रा मिलाई मलखाद राख्नुहोस्। मलखाद राखिसकेपछि सिँचाई गर्नुहोस्।
•    सिँचाई सुविधा भएका कागती बगैँचामा डबल रिङ्ग (डबल औँठी आकारको कुलेसो) बनाई सिँचाई गर्नुहोस्। सिँचाई सुविधा नभएमा स्याउला, घासपात वा कालो प्लाष्टिकको छापो राख्नुहोस्।
•    पतझड फलफूलको बगैँचा स्थापनाको लागि एक घन मिटर साइजको खाडल (१ मिटर गहिरो तथा १ मिटर ब्यास भएको) खनी करिब एक महिना सुकाउनुहोस्। सो खाडलमा सुकेका पातपतिंगर तथा झारपात राखी जलाउनुहोस्। यसो गर्नाले खाडलमा भएका किटाणुहरु तथा कीराका फुल नष्ट हुन्छन्।

•    पतझड फलफुल बगैंचामा काँटछाँट सुरु गर्नुहोस्। काँटछाँट गर्दा बनेका घाउहरु तथा बिरुवाको काण्डमा १० प्रतिशतको बोर्ड़ोपेष्ट (१०० ग्राम नीलोतुथो, १०० ग्राम चुन प्रति लिटर पानी) बनाई लगाउनुहोस्। साथै १ प्रतिशतको बोर्ड़ो मिश्रण (१० ग्राम नीलोतुथो, १० ग्राम चुना प्रति लिटर पानी) तयार गरि बिरुवाको सम्पूर्ण भाग भिज्नेगरि छर्नुहोस्।
•    सुख्खायाम भएकोले माटोमा ओस कायम राख्न फलफूलको बोट वरिपरि छापोको व्यवस्था गर्नुहोस्।
•    कागती वा निबुवा खेती गर्नुभएका कृषकहरुले कागतीको पात खन्ने सुलसुले लाग्ने भएकोले करेसाबारीमा भएका बोटमा गाईको गहुँत वा निमको पातको झोल १ भागमा ३ भाग पानी मिसाई ५-५ दिनको फरकमा ३ पटक छर्नुहोस्। व्यवसायिक कागती खेती गर्ने कृषकहरुले रोगर २ एम.एल. प्रति लिटर पानीमा घोलेर सात दिनको फरकमा ३ पटक छर्नुहोस्।
•    आँपको बोटमा विकृति (म्याङ्गो मालफर्मेसन) देखापरेमा रोगी कलिला हाँगाहरु काटछाँट गरेर हटाई १ ग्राम एन.ए.ए. (न्याप्थालिन एसिटिक एसिड) प्रति ५ लिटर पानीमा घोली बोटको पात भिज्नेगरि छर्नुहोस्। सूर्यको किरणले हर्मोनको असरलाई कम गर्ने हुँदा एन.ए.ए. घोल अँध्यारो ठाउँमा मात्र तयार गर्नुहोस्।
•    केराको काइयो बनिसकेपछि बुङ्गो काटेर हटाउनाले कोसाहरु प्रष्ट भइ घरिको तौल बढ्ने हुँदा नियमित अवलोकन गरि बुङ्गो हटाउनुहोस्।
•    बाक्लो कुहिरो लागिरहेका जिल्लाहरुका केरा खेती गर्ने कृषकहरुले टिस्यू कल्चर प्रविधिबाट तयार गरिएका केराको जि-९ वा विलियम हाइब्रिड जातहरु यसै वर्ष लगाउनु भएको छ भने बाँसको भाटा उल्टो भी आकार () मा गाडेर परालले छोप्नुहोस्। यसो गर्नाले अत्याधिक चिसोबाट केराको गुवो डढ्ने समस्या कम हुन्छ।
•    तराईका जिल्लाहरुमा गत वर्ष जस्तै यस वर्ष पनि केराको गुवो मर्ने/डढ्ने/कुहिने र पसाउन लागेको बुङ्गो बाहिर निस्कन नसक्ने समस्या देखिन सक्छ। यस्तो समस्या ठण्डी/कुहिरो/अति चिसोको कारणले हुन सक्ने भएकोले घरीलाई सेतो प्लाष्टिकले बेरिदिनुहोस्।
•    केराको वोट ओइलाउने (पानामा रोग) देखिएमा रोग लागेको बोट विरुवा उखेलेर हटाउने, नयाँ विरुवा सार्नको लागि रोग नलागेको क्षेत्रबाट ल्याउने तथा कार्बेन्डाजिम (बेभीष्टिन) १ लिटर पानीमा २ ग्राम घोली बोटको फेद भिजाउने तथा पातमा छर्नुहोस्। वा कपर अक्सिक्लोराइड २ ग्राम प्रति लिटर पानीमा घोली बोट र जरा भिज्नेगरि छर्नुहोस्।
•    स्याउको दादे रोग व्यबस्थापनका लागि बगैँचा सफा राख्नुहोस् साथै पात र कुहिएको फललाई टिपेर खाल्डोमा पुर्नुहोस्। बोटको प्रत्येक हाँगामा सुर्यको प्रकाश पुग्ने गरि रोगी हाँगा/ भागहरु काटेर हटाउनुहोस्, पात झर्नु भन्दा अगाडि कार्बेन्डाजिम ५०% डव्लु.पी. १ ग्राम प्रति लिटर वा थायोफोनेट मिथाईल ७०% डव्लु.पी. (टपसिन एम.) ०.७५ ग्राम प्रति लिटर पानीमा मिसाई १५ दिनको फरकमा २-३ पटक सम्पूर्ण बोट भिज्नेगरि छर्केर उपचार गर्नुहोस्।

कफि बाली
•    नर्सरी सेडहाउसमा चारैतिर एग्रो नेट र साधारण प्लाष्टिकको प्रयोग गर्नुहोस्।
•    समुन्द्र सतह देखि १००० मि. सम्मको उचाईमा लगाईएको कफी पाक्ने बेला भएकोले पहिलो टिपाई समयमै गर्नुहोस्। टिपिसकेपछि सम्भव भएको उचित विधीबाट पोस्टहार्भेस्ट व्यवस्थापन गर्नुहोस्।
•    बीउको लागि राम्रो बोट, हाँगा र झुप्पा छनोट गर्नुहोस् र राम्ररी पाकेका दानाहरुलाई बोक्रा खोल्स्याएर पार्चमेन्टलाई घाम नपर्ने ठाउँमा खरानीले उपचार गरेर राख्नुहोस्।
•    लामो समयदेखि वर्षात नभएकोले बगैंचामा सिँचाईको प्रवन्ध गर्नुहोस्।
•    कफी नर्सरीमा वृद्धि विकासको अवस्था हेरि झोलमल र शुक्ष्म खाद्यतत्वको छर्नुहोस्।
•    सिन्दुरे रोगको लक्षण देखिएमा बढी भएको छहारी हटाउनुहोस्। रोग लागेका हाँगा र पातहरु काटेर जलाउनुहोस्। १% को बोर्ड़ो मिश्रण तयार गरि पातको माथिल्लो र तल्लो भाग समेत भिज्नेगरि छर्कनुहोस्।
 चित्र: राम्ररी पाकेका कफीका चेरी    चित्र:: पातको माथिल्लो भागमा देखिएको सिन्दुरे रोगको लक्षण

तरकारी बाली
•    आलु रोपेको ६-८ हप्ताको समय (Tuber Initiation Stage) मा चिस्यानको हिसाबले संवेदनशील हुन्छ। यो समयमा आवश्यक चिस्यान कम हुदाँ उत्पादनमा प्रत्यक्ष प्रभाव देखिने हुँदा गोडमेल र उकेरा लगाई खेतको चिस्यान अनुगमन गरि सिँचाई गर्नुहोस्।
•    उच्च पहाडमा फागुनमा गरिने आलु खेतीका लागि कुफ्रिज्योति, खुमल लक्ष्मी, खुमल सेतो-१, खुमल उज्वल जातहरूको उपलब्धता सुनिश्चित गर्नुहोस्। जग्गा तयारीका लागि १००० के.जी. कम्पोष्ट मल तथा १०.९ के.जी. डि.ए.पी., २.२ के.जी. युरिया र ५.० के.जी. म्युरेट अफ पोटासका दरले उपलब्धता सुनिश्चित गर्नुहोस्।
•    उच्च पहाडमा भण्डारणमा राखिएको आलुमा नियमीत अनुगमन गर्नुहोस्।
•    सुख्खा याम भएकोले तराईमा आलु लगाएको जग्गामा माटो सुख्खा भई धाँजा फाटेमा आलुको दानामा लाग्ने पुतलीको प्रकोप बढि हुने र त्यसले पछि भण्डारणमा क्षति पुर्याउने हुँदा आलु खन्नु अघिसम्म जमीनबाहिर दाना निस्कन नपाउने गरि (कम्तीमा २ इञ्च) माटो चढाइ राख्नुहोस्। आलुका दाना बाहिर देखिएमा आलु हरियो भई विषाक्त हुने भएकोले त्यस्ता दाना खानका लागि प्रयोग नगर्नुहोस्।
•    मध्यपहाडमा माघमा गरिने आलु खेतीका लागि कोल्डस्टोरबाट झिकि राम्रोसँग टुसाएको जनकदेव, कुफ्रिज्योति, डेजिरे, खुमल लक्ष्मी, खुमल रातो-२, खुमल सेतो-१, खुमल उज्वल, खुमल उपहार, खुमल विकास मध्ये उपलब्ध जातहरूको बीउ रोप्नुहोस्।
•    तराईमा लगाइएको आलुबालीमा लाही कीराको प्रकोप बढ्ने र भाइरस रोग लाग्ने संभावना रहेकाले व्यवस्थापनका उचित विधिहरु अपनाउनुहोस्।

•    तराई, भित्री मधेश तथा बेँशी क्षेत्रमा कात्तिक-मंसिरमा लगाएको बीउ आलुमा रगिङ्ग गर्नुहोस्।
•    तराईमा लगाएको वीउ आलु परिपक्क भएको अवस्थामा हाल्म पुलिङ्ग गर्नुहोस्। हाल्मपुलिङ्ग गर्दा आलुका दाना बाहिर ननिस्कने गरि बोटलाई दुईतिरबाट दबाएर उखेल्नुहोस्।
•    बिहानीपख कुहिरो लाग्ने हुनाले आलुबालीमा पछौटे डढुवा रोगको अनुगमन गर्नुहोस्। यस्ता लक्षण देखापरेमा मेन्कोजेब ७५% डब्लु.पी. २ ग्राम प्रतिलिटर पानीमा मिसाएर आलुको बोट भिज्नेगरि अपरान्हपछि स्प्रे गर्नुहोस्। प्रकोप बढी भएमा फेनामिडोन १०% + मेन्कोजेब ५०% डब्लु.जी. वा डाइमेथोमोर्फ ५०% डब्लु.पी. १.५ ग्राम प्रतिलिटर पानीमा मिसाएर स्प्रे गर्नुहोस्। यस रोगबारे अनुसूची-२ मा विस्तृतमा दिईएको छ।
•    मध्यपहाडी क्षेत्रमा लहरे तरकारी बालीहरुको पोलीब्यागमा बेर्ना तयार गर्नुहोस्।
•    लहरे तरकारी बालीहरुको बेर्ना उम्रिसकेको भए सेतो प्लाष्टिकको छानो दिनको समयमा उघार्ने र रातिको समयमा छानो ओढाउनुहोस्।
•    नर्सरी ब्याडमा बेर्ना उमार्ने समयमा फेद काट्ने कीरा र बेर्ना कुहिने रोगको व्यवस्थापन गर्न क्लोरपाईरीफस १६% ई.सी. को ०.५ एम.एल. र कार्बेन्डाजिम (बेभिष्टिन) ५०% डब्लु.पि. को १ ग्राम प्रति लिटर पानीमा घोली स्प्रेयर बाट नर्सरी ब्याड भिज्नेगरि छर्नुहोस्।
•    बेर्ना सारेको तरकारी बालीहरुमा रिङ्ग बनाई १०-१५ ग्राम युरिया प्रति बोटको दरले टपड्रेस गर्नुहोस्।
•    गोलभेँडामा डढुवाको प्रकोप कम भएमा मेन्कोजेव ७५% डब्लु.पि २.५ ग्राम प्रति लिटर पानीमा घोलेर स्प्रे गर्ने र बढि भएमा क्रिलाक्सिल एम.जेड. ७२% डब्लु.पि. को धुलो २ ग्राम प्रति लिटर पानीमा घोलेर स्प्रे गर्नुहोस्।
•    लसुन र प्याजको, प्याजी डढुवा रोग व्यवस्थापनको लागि बारी सफा गरि रोगी पातहरु हटाई खाल्डो खनेर पुर्नुहोस्। रोगको अवस्था हेरि ७ दिनको फरकमा साफ वा सेक्टिन जस्ता बिषादीहरु २ ग्राम प्रति लिटर पानीका दरले सम्पूर्ण पातहरु भिज्नेगरि ३-४ पटक सम्म छर्केर उपचार गर्नुहोस्।  
          
अन्य
•    तरकारी बाली काट्ने र फलहरु टिप्ने अवस्थामा रोग तथा कीराहरु लागेमा यिनीहरुबाट आर्थिक क्षती थोरै हुने भएकोले बिषादी प्रयोग नगर्नुहोस्। यो अवस्थामा विषादी प्रयोग गरेमा बिषादीको अवशेष बालीमा रहन गई मानव स्वास्थ्य तथा वातावरणमा नकारात्मक असर पुग्दछ।
•    तापक्रम घट्ने क्रम जारी भएकोले मौरी घारलाई चारैतिरबाट प्लाष्टिक वा जुटको बोराले बेरेर राख्नुहोस्। साथै घारको नियमित निरीक्षण गरी मौरीलाई खानेकुरा कम छ भने आवश्यकता अनुसार चिनी चास्नी बनाएर खुवाउनुहोस्।


लाही कीरा (एफीड)
•    तापक्रम हुँदा लाही कीराको प्रकोप बढ्दै जाने हुनाले करेसाबारी र कौसी खेती गर्दा व्यवस्थापनका लागि एक भाग गाईको गहुँत ४ भाग पानीमा मिसाएर रातभरि राखि लाही लागेको ठाँउमा भिज्ने गरि भोलीपल्ट छर्कनुहोस् वा खरानीको धूलो लाही कीरा लागेको ठाँउमा बिहानीपख छर्कनुहोस्। प्रकोप ज्यादा भएमा डाइमेथोएट ३०% ई.सी., १.५ एम.एल. प्रति लिटरको दरले पानीमा मिसाई लाही लागेको ठाँउमा भिज्नेगरि छर्कनुहोस्।

पशुपालन
गाई, भैँसी, भेडा, बाख्रा
•    बाख्रामा सरदर शारीरिक तौलको ३% सम्म सुक्खा पदार्थको हिसाबले दाना र घाँसको अनुपात मिलाउनुहोस्। सरदर ५० के.जी. को बाख्रालाई उत्पादनको अवस्था हेरी २५० देखि ३५० ग्राम सन्तुलित दाना र ८ देखि १० के.जी. हरियो घाँस, हे (Hay) तथा पराल दैनिक रुपमा दिने व्यवस्था मिलाउनुहोस्।
•    व्यवसायिक रुपमा उखु खेती गरिने तराई क्षेत्रका ठाँउहरुमा खेर गएको उखुको टुप्पाबाट साइलेज बनाई जाडोयाममा पशु वस्तुलाई आहाराको रुपमा प्रयोग गर्नुहोस्। यसको प्रयोगले गाई भैँसीको दुध उत्पादनमा २०-२५% ले वृद्धि हुनसक्छ।
•    हिउँदको समयमा पशुवस्तुलाई हरियो घाँस र पोषणतत्वको कमी हुने र उत्पादन तथा उत्पादकत्वमा पनि कमी आउने भएकोले उक्त समयमा उग्राउने पशुहरु जस्तै-गाई, भैँसी, भेडा बाख्राहरुलाई युरिया मिश्रित पराल (४% युरिया) वा युरिया मोलासेस मिनरल ब्लक खुवाउँदा पशुको उत्पादनमा बृद्दि गर्न सकिन्छ। तर साना बाच्छा-बाच्छी र पाडा-पाडी (६ महिनाभन्दा कम उमेरका) लाई युरिया उपचार गरिएको पराल नखुवाउनुहोस्।
•    भैँसीमा कोल्ड स्ट्रोक बढी हुने भएकोले चिसोबाट बचाउन शरीरमा जुटको बोरा ओढाउनुका साथै मनतातो आहारा खुवाउनुहोस्।
•    यो समयमा गर्भिणी अवस्था र दुधालु गाई, भैँसी लाई सन्तुलित आहारको साथै थप ४०-५० ग्राम मिनरल मिक्स्चर मिसाएर खुवाउनुहोस्।
•    दूधालु गाईभैंसीहरुमा ई. कोलाई का कारण हुने थुनेलो रोगका लागि अनुकुल समय रहेकाले हरेक दिन दुधको गुणस्तर ठीक छ, छैन विचार गर्नुहोस्। दैनिक रुपमा दुध फाट्न थालेमा, स्वादमा बढी नुनिलो हुन थालेमा वा कल्चौडो/थुनमा केही फरक महसुस भएमा सुसुप्त अवस्थाको थुनेलो हुनसक्ने हुँदा दुधको जाँच गरि उपचारका आवश्यक उपायहरु अपनाउनुहोस्।

कुखुरा, हाँस, बंगुर
•    यो समयमा पन्छीहरुमा बर्डफ्लूको उच्च जोखिम रहेकोले आफ्ना फार्ममा जैविक सुरक्षा अपनाउनुहोस्। फार्ममा एकै पटक धेरै कुखुरामा श्वासप्रश्वास सम्बन्धि रोगको लक्षण देखा परेमा, मृत्युदर बढी भएमा वा बर्डफ्लू रोगको शंका लागेमा विशेष सतर्कता अपनाई नजिकैको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा सम्पर्क राख्नुहोस्।
•    कुखुराका चल्लाहरुमा ब्रुडिङ निमोनिया तथा माउमा सि.आर.डी., एन.डी. (रानी खेत), आई.बि., एसाइटिस र कोलिब्यासिलोसिस हुनसक्ने भएकोले खोरमा उचित जैविक सुरक्षा, खोप तालिका, तापक्रम र भेन्टिलेसनको व्यवस्था गर्नुहोस्।
•    जाडोयाममा चिसोको कारण बंगुरका पाठा-पाठीको मृत्युदर बढि हुने भएकोले बंगुरको खोरमा ९०-१०० डिग्री फरेनहाइट तापक्रम हुने व्यवस्था गर्नुहोस्। भर्खरै जन्मेका (२-३ दिनसम्मका) पाठापाठीहरुलाई ३२२ फिटको काठको बाकस बनाई त्यसभित्र पराल वा घाँस राखेर माथिपट्टि २०० वाटको बत्ती झुण्ड्याएर बाली वंगुरका पाठापाठीलाई चिसोबाट बचाउनुहोस्। काठको बाकसलाई थोरै हावा पस्ने गरि माथिबाट ढाक्नुहोस्।

मत्स्यपालन
•    कमनकार्प जातका माछाहरुको प्रजनन समय भएको हुँदा माउ माछा छनौट गरि पोखरी तयार गर्नुहोस्। साथै गुणस्तरीय बीज उत्पादन गर्न हप्ता दिनको अन्तरमा भिटामिन सी ०.५ के.जी. र भिटामिन ई २५०० एम.जी. प्रति के.जी. माछाको दरले दानामा मिसाई खुवाउनुहोस्।
•    माउ माछा राख्ने पोखरीमा जलीय झारपातहरु हटाई ४५०-६०० के.जी. घर पोत्ने चुन, ३ टन गोबर मल, १५ के.जी. डि.ए.पी. र २३ के.जी. युरिया प्रति हेक्टरका दरले हाल्नुहोस्। मल राखेको ३-५ दिनपछि पानीको गहिराई १.५ मिटर भन्दा बढी कायम हुने गरि पानी भर्नुहोस् र पानी भर्दा जालीबाट छानेर मात्र पठाउनुहोस्। करिब ५-७ दिनपछि पानीको रंग
हरियो हुन्छ। त्यसपछि कार्प जातका माउ माछालाई १५००-२००० के.जी. प्रति हेक्टरका दरले पूर्णरुपमा तयार गरिएको पोखरीमा स्टक गर्नुहोस्।
•    कमन कार्प जातका माछाको अण्डा टाँसिने प्रकृतिको हुने र यसबाट अण्डा बिग्रने/कुहिने हुदाँ अण्डा जोगाउनको लागि टाँसिने प्रकृतिका अण्डाहरुलाई फिँजाएर ह्याचलिङ्ग कढाउन वा कोरल्नको लागि खर, नरिवलको जटा, प्लास्टिक वा फाईवरको रेशा, झारपात आदि प्रयोग गरेर बनाईने गुन्द्री आकारको करिव २.५ मिटर लम्बाई र १ मिटर चौडाई भएको चट्टि वा लहरा आकारको संरचना “काकावन” तयार गर्नुहोस्।
•    तराई क्षेत्रमा कमन कार्प जातका माछाको प्रजनन माघको मध्यबाट सुरु हुने हुँदा भुरा राख्ने पोखरीको तयारी गर्नुहोस्। पोखरीलाई जलीय झारपात र जंगली माछा हटाई खनजोत गरी ३-४ दिनसम्म सुकाउनुहोस्। सुकाएको पोखरीमा घर पोत्ने चुन ४५०- ६०० के.जी. प्रति हेक्टर, १०- १५ के.जी. कुखुराको मल वा गाईको मल १५-२० के.जी. प्रति ५०० वर्ग मीटरका दरले प्रयोग गर्नुहोस्। चुना र मल राखेको ३-५ दिनपछि पानीको गहिराई ६०-७० से.मी. कायम हुने गरी पानी भर्नुहोस् र सकभर मूल वा बोरिंगको पानी जालीबाट छानेर मात्र पठाउनुहोस्।
•    प्रजननको लागि छनौट गरिएको रेन्बो ट्राउटको माउ माछालाई ३०-३५% प्रोटिनयुक्त सन्तुलित दाना दिनुहोस्। साथै निषेचित अण्डालाई नियमित अनुगमन गर्नुहोस्। २५० डिग्री डे वा पानीको तापक्रम औसत ११ डिग्री सेल्सियस पुगेका ह्याचरीमा १७-१८ दिनसम्म आँखा बनेको/उम्रेको अण्डा तयार हुने हुँदा आवश्यक सरसफाई गरि बिक्रि गर्नुहोस्।
•    जाडोयाममा ट्राउटको दानामा ओसिलोपना बढी भै ढुसीको संक्रमण हुन्छ। यस्तो दाना खुवाउँदा ट्राउट माछामा कलेजो सुन्निने रोग हुन सक्दछ। ढुसीको संक्रमण हुन नदिन दानालाई ओभानो तथा चारैतिर हावा खेल्ने कोठामा भण्डारण गर्नुहोस्। कलेजो सुन्निने रोगको असरलाई न्यूनिकरण गर्न भिटामिन- ई (α-Ocopherol) २०-३० एम.जी. प्रति के.जी. माछाको वजनको अनुपातमा १५ दिनको अन्तरालमा दानामा मिसाई दिनुहोस्।
•    कलेजोको केकमा मिनरल प्रचुर मात्रामा पाउने भएकोले भर्खर निस्केको ट्राउटको भुरालाई सहायक दानाको रुपमा प्रयोग गर्नुहोस्। कलेजोको केक बनाउनको लागि स्थानीय बजारमा सजिलै पाइने राँगा वा बंगुरको कलेजो ल्याउनुहोस्। सर्बप्रथम कलेजोको बाहिरी आवरणमा रहेको पातलो सतहलाई सावधानीपूर्वक निकाल्नुहोस् र चक्कुले स-साना टुक्रा (१-२ से.मी.) मा काट्नुहोस् र रक्तनलीलाई भुराले पचाउन नसक्ने भएकोले त्यसलाई पनि निकाल्नुहोस्। त्यसपछि अन्दाजी २०० ग्राम जतिको कलेजोको टुक्रालाई ग्रेण्डरमा राखी पेस्ट गराउनुहोस्। पेस्ट तयार भएपछि मसिनो जालीमा राम्रोसँग एउटा सफा बाटामा राख्नुहोस् र १-२ ग्राम भिटामिन र मिनरल प्रति के.जी. पेस्टमा मिसाउनुहोस् त्यसपछि पेस्टलाई ट्रे वा कचौरामा राखेर डी-फ्रिजमा २४ घण्टासम्म राख्नुहोस्। ट्रे वा कचौरामा राखेको केकलाई चिसो पानीमा डुबाएर निकाल्नुहोस्। त्यसपछि स-साना टुक्रा बनाएर भुरालाई खुवाउनुहोस्।

घाँसेबाली
•    ईपिल ईपिल घाँसको बीउ पाक्ने समय भएकोले पाकेको कोसाहरु बोटबाट टिपेर राम्ररी घाममा सुकाउनुहोस्। सुकिसकेका कोसालाई एकै ठाउँमा थुपारी लठ्ठीले चुटेर बीउ झार्नुहोस् र नाङ्लोमा केलाएर सफा गर्नुहोस्। ओभानो प्लाष्टिक वा जुटको बोरा वा टिनको बट्टामा बीउ टन्न भरेर टम्म बन्द गरि ओभानो तर सितल ठाँउमा भण्डारण गर्नुहोस्।
•    जै, भेच, लुसर्न घाँस लगाएको ६० दिन पछि पहिलो कटिङ्ग गरि सिँचाई गर्नुहोस्। प्रत्येक कटाई पश्चात् जै/वर्सिम घाँसमा सिँचाई गरि २.१ के.जी. प्रति कठ्ठाका दरले युरिया टपड्रेस गर्नुहोस्।

स्रोत : नेपाल कृषि अनुसन्धान परिषद्, राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रद्वारा जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा जारी

Leave a Reply

Your email address will not be published.