भेटेरिनरी काउन्सिलको उपाध्यक्षमा कसले मार्ला बाजी ?


नेपाल पशु चिकित्सा परिषद(नेपाल भेटेरिनरी काउन्सिल)को निर्वाचन ३ माघमा हुने भएको छ । नेपाल पशु चिकित्सा परिषद् ऐन २०५५ को व्यवस्था अनुसार २ जना उपाध्यक्ष र ५ जना सदस्य छनोटका लागि निर्वाचन हुने भएको हो । परिषद्को अध्यक्ष भने सरकारले नियुक्त गर्ने व्यवस्था छ । सरकारको सल्लाहाकारको रुपमा रहेको काउन्सिलको हरेक ४–४ वर्षमा नयाँ निर्वाचन गर्नुपर्ने ऐनमा भएको व्यवस्था अनुसार परिषद्ले उक्त मितिमा निर्वाचत गर्न निर्वाचन कार्यकालिका समेत प्रकाशित गरिसकेको छ ।

कार्यतालिका अनुसार उम्मेद्वारीको दरखास्त वितरण १ माघ देखि ३ गते बिहान ९ बजेसम्म खुला गरिएको छ । उम्मेदवारी दर्ता गर्ने अन्तिम मिति माघ ३ गते बिहान साढे ९ बजेसम्म र उम्मेदवारको नामावली प्रकाशन माघ ३ गते बिहान १० बजेसम्म रहेको छ । उम्मेदवारीप्रति दाबीविरोध प्रस्तुत गर्ने माघ ३ गते बिहान १० बजेदेखि १०ः३० सम्म रहेको छ । उम्मेद्वारी फिर्ता लिने १०ः३० देखि ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन ११ः३० सम्ममा गर्ने कार्यक्रम छ । त्यस्तै, मतदान कार्यक्रम दिउँसो १ बजेदेखि ३ः३० बजेसम्म तोकिएको छ । अपरान्ह ४ बजेदेखि मतगणना सुरु गर्ने र साँझ ६ बजे मत परिणाम घोषणा गर्ने कार्यक्रम छ ।

निर्वाचनमा २ उपाध्यक्ष पदका लागि हालसम्म ५ जनाले उम्मेद्वारी दिने घोषणा गरेका छन् । उपाध्यक्ष पदका लागि नेपाल सरकारका सहसचिव डा. विमलकुमार निर्मल, डा. नविन उपाध्याय, डा. एगेन्द्र श्रेष्ठ, डा. सुविर सिंह र डा. स्वयंप्रकाश श्रेष्ठले उम्द्वारी दिने घोषणा गरेका हुन् । त्यस्तै, ५ जना सदस्य पदका लागि हालसम्म ९ जनाले उम्मेद्वारी घोषणा गरेका छन् । सदस्यका उम्मेदवारी घोषणा गर्नेहरुमा डा. सुजन राना, डा. मनोजकुमार शाही, डा. नारायण न्यौपाने, डा. मोदनाथ गौतम, डा. मुकुल उपाध्याय, डा. महेश ठाकुर, डा. विनोद कुमार यादाव, डा. सुदीप हुमागाईं, डा. सुवास श्रेष्ठ रहेका छन् ।

भेटेरिनरी काउन्सिलको उपाध्यक्ष पदमा तपाइँको उम्मेदवारी किन ?

पशुचिकित्सा क्षेत्रलाई ७० प्रतिशत ट्रयाकमा ल्यायौं, अर्को कार्यकालमा पूरा गर्ने छु
डा. स्वयंप्रकाश श्रेष्ठ
उपाध्यक्षको उम्मेदवार (नेपाल भेटेरिनरी काउन्सिल)

नेपाल भेटेरिनरी काउन्सिलको मनोनित सदस्यको रुपमा अहिले म कार्यरत छु । मेरो पदावधि जेठ १६ गतेसम्मको छ । तर, मैले सदस्यको पदबाट राजीनामा दिएर उपाध्यक्षको पदमा उठ्ने तयारी गरिरहेको छु । यसअघिको कार्यसमितिमा मैले पनि उपाध्यक्ष पदमा उम्मेदवारी दाबी प्रस्तुत गरेको थिएँ । तर, अहिलेका उपाध्यक्षका लागि मैले उम्मेद्वारी फिर्ता लिएको हुँ । भेटेरिनरी क्षेत्रलाई असाध्यै सम्मानित पेशाको रुपमा अघि बढाउनु पर्छ भन्ने मेरो मान्यता हो । म नेवारको छोरो भएर जम्मिए पनि मर्दा भेटेरिनरियन नै भएर मर्न चाहन्छु । त्यसो हुँदा भेटेरिनरी क्षेत्रको हक अधिकार स्थापित गराउन मैले गत कार्यकालमा त्याग गरेको हुँ ।

नेपालको पशुचिकित्सा परिषद्लाई एउटा इन्स्टिच्युसनको रुपमा विकास गर्नका लागि नै मैले उपाध्यक्षमा उम्मेदवारी दिन लागेको हुँ । आजभन्दा ५ वर्षअघिसम्म यो परिषद्ले खासै केही काम गरेको थिएन । निर्वाचन हुन्थ्यो । परिषद्को गठन पनि हुन्थ्यो । तर, कसैलाई मतलब थिएन । तर, यसअघिको कार्यकालमा हामीले विश्वविद्यालय र ४ वटा भेटेरिनरी कलेजको पूर्वाधार विकासका लागि धेरै काम ग¥यौं । मापदण्ड बनायौं । मापदण्डअनुसार अहिले पनि २ ओटा कलेजले पूर्वाधार पूरा गर्न सकेका छैनन् ।

भेटेरिनरी डाक्टरहरुलाई अनुशाशित बनाउने, गल्ति गरे कारवाही गर्ने जस्ता काम गरेका छौं । अब ४ वर्षे कार्यकालमा यसलाई अझै संस्थागत बनाउन सके त्यसपछि जो आए पनि सही तरिकाले अघि बढ्ने थियो । नेपाल भेटेरिनरी काउन्सिल ऐन मन्त्रालयमा गएको २ वर्षदेखि थन्किरहेको छ । पशु चिकित्सा ऐनको सुधार गर्नुपर्ने छ । पशु बधशाला तथा मासु जाँच ऐन कार्यान्वयनमा लानु पर्ने छ । दाना पदार्थ ऐनलाई अघि बढाउनु पर्ने छ । दाना उद्योगमा भेटेरिनरी विज्ञ वा डाक्टर नै छैन भने गुणस्तरीय दाना बन्दैन । त्यसैले त्यस्तो डाक्टरलाई दाना उद्योगले नियुक्त गुर्नपर्छ । भेटेरिनरी डाक्टरले गर्ने रिफारिसलाई अवैध मानिन्छ । यसमा सुधार गर्नुपर्ने छ । एक स्वास्थ्य नीतिलाई अघि बढाउनु पर्ने छ ।

अघिल्लो कार्यकालमा नेपालको पशु चिकित्सा क्षेत्रको ७० प्रतिशत विषयहरुलाई संस्थागत गरिसकेका छौं । अनुभवको हिसाबले पनि झण्डै ३० वर्षदेखि यो क्षेत्रमा कार्यरत छु । भेटेरिनरी भित्रकै विभिन्न काम तथा क्षेत्रको अनुभव पनि मलाई छ । त्यसो हुँदो यो क्षेत्रलाई राम्ररी नेतृत्व गरी एउटा सही मार्गमा डोहो¥याउन सक्छु भन्ने हिसाबले म अघि बढ्न लागेको हुँ । त्यसो हुँदा उपाध्यक्षमा मेरो उम्मेदवारी रहन्छ । यसमा मलाई साथीहरुले विजयी गराउनु हुनेछ भन्ने विस्वास छ ।

मेरो क्षमता, अनुभव र ऊर्जा पशु चिकित्साको सुधारमा लगाउँछु
डा. विमल कुमार निर्मल
उपाध्यक्षका उम्मेदवार, (नेपाल भेटेरिनरी काउन्सिल, सहसचिव, कृषि तथा पशुपन्छी विकास मन्त्रालय)

विश्वका अन्य देशको अभ्यासलाई हेर्ने हो भने काउन्सिलले नियमन मात्रै गर्ने नभई नीति नियम र कानुन बनाउने पनि हो । विश्वविद्यालय तथा कलेजको नियमनका साथै प्रतिस्पर्धी बनाउनेबारे पनि नीतिगत निर्णय गर्नुपर्ने देखिन्छ । विश्वविद्यालय, कलेज र तिनले उत्पादन गर्ने जनशक्तिको रोजगारीको अवसर, वृत्तिविकासका विषयमा पनि सोच्नुपर्ने भएको छ ।पाठ्यक्रमअनुसार कलेजहरुको शिक्षक अस्पताल, प्रयोगशाला, प्रोजेक्टहरु भएको छ/छैन भन्ने सूक्ष्म नियमन आवश्यक छ । यो नियमन गर्ने काम काउन्सिलकै हो ।

सरकारको निकाय पशुसेवा विभागको संयन्त्र, त्यहाँ जाने बजेट, स्रोत, त्यहाँ कार्यरत कर्मचारीको स्तर, त्यस्तै निजी क्षेत्रमा कार्यरत भेटेरिनरियनहरुको अवस्था र स्तर, काउन्सिलकै बजेट, स्रोतलगायत हेर्दा आफूलाई भेटेरिनरियन भनेर गर्व गर्न सक्ने खालाको छैन । त्यसो हुँदा सरकारका मन्त्रालय, विभाग र निजी क्षेत्रका संस्थाहरुलाई समेत काउन्सिलले अनुगमन गर्नुपर्छ । नियमन र निर्देशन दिनुपर्छ । ताकी म भेटेरिनरीयन हुँ भनेर सबैले गर्व गर्न सक्ने ठाउँ रहोस् । कानुनअनुसार नै काउन्सिल भनेको सरकारको सल्लाहार वा ‘एडभाइजिङ ग्रुप’ हो । तर, सल्लाह त सरकारले मान्दै मान्दैन । कुनै पनि कानुनी विषयहरु काउन्सिलको सल्लाह नलिई अगाडि बढाउनै मिल्दैन । त्यस्तो पूर्ण पालना भएको छैन । केही काम भएको पनि छ । तर, सन्तोषजनक छैन ।

हाल म कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहसचिवको रुपमा कार्यरत रहेको छु । मन्त्रालयमै रहेर पनि नीति निर्माणको काम गर्न सकिन्छ । तर, अब सेवाबाट अवकाश हुन जम्मा ६ महिना मात्र बाँकी छ । त्यसो हुँदा अब मैले काउन्सिलबाट नै नेपालको पशुचिकित्सा क्षेत्रको सुधार गर्न सकिन्छ भनेर लागि परेको छु । आउने ४ वर्षभित्र काउन्सिलाई नै चुस्त दुरुस्त बनाउने मेरो अभियान छ । सरकारी सेवामा रहेको विभाग, प्रदेश र संघीय सरकारको मन्त्रालयमा समेत रहेर काम गरेको अनुभव छ । त्यो अनुभवलाई मैले काउन्सिलमा लगानी गर्न सक्ने छ । जस्तो कि झण्डै साढे दुई सय दाना उद्योगहरु छन् । ती उद्योगले कम्तिमा एउटा भेटेरियनलाई नियुक्त गरेर उच्च गुणस्तरको दाना उत्पादन गर्न लाग्दा राम्रो हुने थियो । ७ सय ५३ ओटै स्थानीय तहमा भेटेरिनरियन डाक्टरको व्यवस्था हुनुपर्ने नीतिगत व्यवस्था हामीले गरेका हौं ।
काउन्सिलमा मैले उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेको छु । नेतृत्वको लागि क्षमता, अनुभव र काम गर्ने ऊर्जा यी तिनओटै मापदण्ड पुगेको उम्मेदवार हुँदा राम्रो हुने छ । युवा पुस्ताका साथीहरुको पनि काउन्सिलमा प्रतिनिधित्व हुनु आवश्यक छ । त्यसो हुँदा म काउन्सिलमै रहेर आफ्नो क्षमता, अनुभव र ऊर्जालाई एक साथ प्रयोग गरी पूर्णकालिन रुपमा नेपालको पशिु चिकित्सा क्षेत्रमा सुधारको काम गर्न चाहेको छु । साथीहरुले मलाई उपाध्यक्ष पदमा मदतान गरी विजयी गराउनुहुने छ भन्ने अपेक्षा गरेको छु ।

दुई वर्षभित्रैमा देखिने गरी पशु चिकित्सा क्षेत्रमा ठोस सुधारका काम गर्ने छु
डा. नविन उपाध्याय
उपाध्यक्षको उम्मेदवार (नेपाल भेटेरिनरी काउन्सिल)

हाम्रा भेटेरिनरियन डाक्टरहरुलाई रजिष्ट्रेशन गर्ने काम पशु चिकित्सक काउन्सिलले गरेको छ । अग्रजहरुले गर्नुभएको यो कामको हामी प्रशंसा गर्दछौं । तर रिजिष्टर्ड डाक्टरहरुलाई निरन्तर र नियमित रुपमा प्रशिक्षित गर्ने, तालिम दिने लगायतका काम हुन सकेको छैन । मैले विश्वविद्यालय वा कलेजको अध्ययन पूरा गरिसकेपछि हालसम्म आउँदा कयौं नयाँ प्रविधि, औषधिलगायत नयाँ चिजहरु आइसकेका छन् । तर, काउन्सिलले त्यसमा अपडेट गराउने काम गर्नुपर्दछ । अन्तर्राष्ट्रिय अभ्यास पनि यस्तो छ । तर, हामीले यो काम गर्न सकेका छैनौं ।

दोस्रो कुरा विश्वविद्यालय तथा कलेज सञ्चालनका लागि काउन्सिलले मापदण्ड बनाउने हो भने त्यस्तो मापदण्ड हरेक विश्वविद्यालय तथा कलेजमा विना भेदभाव लागू गर्नुपर्ने छ । तर, शिक्षण संस्था नै सञ्चालन गरिरहेका भेटेरिनरीयनहरु नै काउन्सिलमा पदाधिकारीको रुपमा आय भने पक्षपात हुँदैन भन्न सकिन्न । औषधि ऐन २०३५ ले अहिलेसम्म नेपाल भेटेरिनरी काउन्सिललाई चिन्दैन । त्यहाँ बसेका डाक्टरलाई ‘प्रेस्क्रिप्सन राइट’ दिइँदैन । काउन्सिललाई सरकारको सल्लाहकार भनिए पनि अहिलेसम्म काउन्सिलमा रहेका पदाधिकारी वा नेतृत्वले सरकारलाई नीतिगत सल्लाह वा सुझाव दिँदैन । दिएका सुझाव कार्यान्वयन गर्न बाध्य पार्दैन ।

हिजो हामी भेटेरिनरी डाक्टरको पहिचान बनाउनु पर्ने अवस्था थियो । तर, कोभिडपछि हाम्रो पहिचान पनि बनेको छ । कोरोना भाइरसको पहिचान कसरी गर्ने, टेस्ट कसरी गर्नेलगायत विषयमा भेटेरिनरी डाक्टारले पनि जानेका रहेछन् भन्ने थाहा हुन थालेको छ । विश्व स्वास्थ्य संगठनले ल्याएको ‘एक स्वास्थ्य’ नीतिले पनि भेटेरिनरी डाक्टरको क्षेत्रकाधिकार बढाएको छ । तर, मानव चिकित्सकको तुलनामा भेटेरिनरी डाक्टारलाई सरकारले तल्लो दर्जामा रहेको छ । यो भेदभाव हुनु हुँदैन भनेर बोल्ने बेला आएको छ ।

म अहिले कार्यरत निकाय भेटेरिनरी गुणस्तर तथा औषधि नियमन कार्यालय हो । यो कार्यालयको मुल काम भनेकै भेटेरिनरी ऐन, कानुन, नीति निर्माण, मापदण्ड संशोधन गर्ने वा निर्माण गर्ने काम हो । विगत डेढ दशकदेखि म यो काम गर्दै आएको पनि छु । अनुभव छ । यी ऐन कानुनहरु अध्ययन गरी स्वास्थ्य र कृषि तथा पशुपन्छी विकास मन्त्रायमार्फत औषधि ऐन संशोधन गराउने, भेटेरिनरी काउन्सिलभित्र दर्ता भएका पशु चिकित्सकको प्रेस्क्रिप्सन राइट बनाउने, भेटेरिनरीयनहरुको नियमित सिकाइलाई जारी राख्न अन्तर्राष्ट्रिय स्तरको तालिमका कार्यक्रम सञ्चालन गर्ने, सटिफिकेटको व्यवस्था गर्ने लगायतका काम हामी गर्ने छौं । हामी काउन्सिलमा आयौं भने २ देखि साढे दुई वर्षमा नै देखिने गरी ठोस काम गर्ने छौं । म कुनै राजनीति दलको उत्तराधिकारी होइन । त्यसो हुँदा म विशुद्ध भेटरिनरी पेशालाई अघि बढाउन काउन्सिलको निर्वाचनमा उपाध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेको छु । साथीहरुको अमूल्य मत प्राप्त गरी मलाई विजयी गराउनु हुनेछ भन्ने विश्वास लिएको छु ।

पेशागत क्षेत्रमा सेवा गर्ने वातावरण बनाउनुपर्ने छ
डा. एगेन्द्र श्रेष्ठ
उपाध्यक्ष पदका उम्मेदवार, (नेपाल भेटेरिनरी काउन्सिल)

नेपाल पोलिटेक्निक इन्स्टिच्युटमा म संलग्न छु । आजभन्दा १० वर्षअघि यो इन्स्टिच्युट सुरु गर्दा सामान्य ढंगले सुरु गरिएको थियो । करिब ४ वर्षअघि काउन्सिलले यस्तो इन्स्टिच्युट सञ्चालन गर्न नयाँ मापदण्डको व्यवस्था गरेको छ । यो मापदण्ड पूरा नगरी त कलेज नै सञ्चालन गर्न पाइँदैन । त्यसो हुँदा काउन्सिलले तोकेको मापदण्ड पूरा नगरी हामी यो संस्था चलाउने पक्षमा छैनौं । चलाउने कोसिस गरियो भने पनि चल्दैन । काउन्सिलले भर्ना नै रोकिदिन्छ । हरेक ५÷७ वर्षमा अन्तर्राष्ट्रिय क्षेत्रमा आएका नयाँ प्रविधिसँग मापदण्ड परिमार्जन हुँदै जान्छ । त्यही मापदण्डा अनुसार नै हामीले हाम्रो शिक्षण अस्पताल, प्रयोगशालालगायत हरेक पूर्वाधार परिमार्जन गर्दै जानुपर्ने हुन्छ । त्यो त कुनै पनि हालतमा पूरा गर्ने नै छौं । अर्को कुरा हामी निजी स्तरमा चलेका कलेजले त झनै मापदण्ड अनुसार पूर्वाधार अब्बल बनाउन सके हामीकहाँ विद्यार्थीको संख्या पनि पढ्छन् । त्यसो हुँदा हामीलाई मापदण्ड पूरा गर्न नपाए हुन्थ्यो भन्ने लागेको छैन । अझ अब यस इन्स्टिच्युटलाई मापदण्डले सम्पन्न बनाउनु पर्ने आवश्यकता छ ।

त्यसो हुँदा आफैंले काउन्सिलको नेतृत्व गर्न पाए मापदण्ड नप¥याए पनि हुन्थ्यो भन्ने मलाई लागेको होइन । हामीले ६ तलाको पशु अस्पताल निर्माण गरिरहेका छौं । त्यो पनि नेपालमै पहिलो पटक । अर्कोकुरा रामपुर कृषि तथा वन विश्वविद्यालयबाट पनि काउन्सिलको नेतृत्व हुँदै आएको छ । इन्स्टिच्युट चलाउनेले नेतृत्व गर्नै पाउँदैन भन्ने होइन ।
यति धेरै वर्ष यो क्षेत्रमा योगदान गरेकोले मलाई यो क्षेत्रबारे भएका समस्या, समाधानका उपायहरुबारे जानकारी छ । समस्याहरु समाधानको अनुभव पनि छ । त्यसो हुँदा यो क्षमता र अनुभवलाई काउन्सिलमै गएर प्रयोगमा ल्याउन सके नेपालको पशु चिकित्सा क्षेत्रलाई अझ सुधार गर्न सकिन्थ्यो भन्ने लागेको छ । मानिसको भन्दा अझ जटिल हुन्छ पशुस्वास्थ्को उपचार । मासिका डाक्टरले भन्दा धेरै प्रजातिका पशु पन्छीको उपचार यो क्षेत्रका डाक्टरहरुले गर्नुपर्ने अवस्था छ । त्यसो हुँदा यस क्षेत्रको सुधार आवश्यकता छ । अहिले नेपालमा एउटा पनि भेटेरिनरी अस्पताल छैन । जिल्ला पशु अस्पतालमा एउटा एक्सरे मेसिन छैन । ल्याब छैन । यी सबै विषयमा सुधार ल्याउनु पर्ने छ ।

१५ महिने, ३५ दिने तालिम लिएको जेटी÷जेटिएहरु फिल्डमा कुदेर पशुपन्छीको उपचार गर्ने अनि ५ वर्ष पढेका चिकित्सक चाहिँ सर्टिफिकेट दराजमा कोचेर ‘डा.’ लेखेको नाम प्लेट अगाडि बसेर प्रशासक जस्तो जागिर खाइरहेका छन् । त्यसो हुँदा यसलाई सुधार गर्नुपर्ने छ । आफूलाई भेटेरिनरी डाक्टर भन्ने लजाउनु पर्ने अवस्थाको अन्त्य गर्नुपर्ने छ । यसैका लागि उपाध्यक्ष पदमा मेरो उम्मेदवारी हो । काउन्सिलको नेतृत्व गर्न यी यस्ता विषयमा सुधार ल्याउन म लागि पर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।

भेटेरिनरी काउन्सिलका अधुरा काम पूरा गर्ने छु
डा. सुविर सिंह
उपाध्यक्षका उम्मेदवार, (नेपाल भेटेरिनरी काउन्सिल)

नेपालको पशु चिकित्सा क्षेत्रमा पेशागत रुपले विभिन्न कानुन, नियमहरु निर्माण गुर्नपर्ने देखिन्छ । जस्तै उदाहरणको लागि नेपालमा पशु स्वास्थ्य सेवा ऐन छ । यसले खासमा सरकारी सेवामा रहेका पुशचिकित्सकको बारेमा धेरै बोलेको छ । निजी क्षेत्रमा कार्यरत पशु चिकित्सकको विषयमा मौन छ । सरकारी सेवामा भन्दा निजी क्षेत्रमा कार्यरत पशु चिकित्सकको संख्या धेरै छ । यसैले हाम्रा नियम कानुनहरु प्रभावकारी हुन नसकेका हुन् । म परिषद्मा आउनुभन्दा पहिला भेटेरीनरी एसोसिएसनमा महासचिव रहेर काम गरिआएको छु । मैले जहिले पनि प्रचारमुखी भन्दा पनि कार्यन्वयनमुखी भएर काम गर्ने प्रयास गरेको छु ।

हाम्रो चार वर्षको कार्यकाल हेर्दा पनि काउन्सिललाई जिवन्त रुपमा अघि बढाने काम गरेको छु । हुन त मेरो एक्लो प्रयासले भने यो सम्भव भएको होइन । सबै साथिभाइहरु मिलेर गरेका छौँ । कलेजहरुमा न्युनतम मापदण्ड लागु गर्ने सवालमा होस् वा लाइसेन्स परीक्षाको सवालमा होस् । म त्यसलाई कार्यन्वयन गर्ने पक्षमा लागे । तर अहिले पनि नेपालमा सञ्चालनमा रहेका कलेज मध्ये धेरैले न्युनतम मापदण्ड पुरा गरेका छैनन् । र, आधि काम भएको जस्तो भएको छ । त्यसैले बाँकी रहेको आधा काम दोस्रो कार्यकालमा पूरा गर्न सक्छु । यो कार्यन्वयनपछि नेपालमा भेटेरिनरी शिक्षाले आयाम परिवर्तन गर्न सक्छ । त्यसको लागि म दोस्रो कार्यकालमा काम गर्ने जमर्काेमा जुटेको हुँ । हामीले गरिरहेको कामलाई निरन्तरता दिनको लागि अब बन्ने नयाँ कार्यसमितीलाई गाइड गर्ने छु । र, पुरै नयाँ कार्यसमिति बन्दा काम गर्ने उहाँहरुलाई पनि असहज हुन्छ जस्तो लाग्छ ।

भेटेरिनरी पेशालाई कृषिको आधुनिकरणसँग जोड्ने प्रयास मेरो मुख्य प्रयास हुनेछ । हाम्रो पेशालाई उद्योगसँग जोड्ने प्रायास गर्छु । पाँच वर्ष भेटेरिनरी शिक्षा पढ्ेर पास भएर आएका चिकित्सकहरु कहाँ जागिर खाने भन्ने विषयमा अन्योलता छ । त्यस्तै कुखुरा तथा पशु पालक किसानहरु कुखुरा पशुलाई रोग लागे के गर्ने, त्यसबारे तालिम दिन माग गरिरहेका छन् । त्यसैले पेशागत भेटेरिनरियन र किसानबीचको यो दूरीलाई क मगर्ने मेरो प्राथमिकतामा रहेकोे छ । त्यस्तै नियम कानुन लाई व्यवाहारिक रुपमा कसरी लागु गर्न सकिन्छ भन्ने कुरालाई पनि मैले सोचमा राखेको छु । देशमा संघ, प्रदेश र स्थानीय सरकारको बीचमा हाम्रो पेशा पहिलेको भन्दा थप प्रभावकारी हुनुपर्ने भए पनि त्यस्तो हुन सकेको छैन् । संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वयको नहुँदा रोग फैलिने सम्भावना बढिरहेको छ । भावी पुस्ताको पढाइको गुणस्तर कस्तो हुनुपर्छ । भइसकेका पशु चिकित्सकलाई नयाँ ज्ञान प्रदान गर्ने प्रयास गर्ने छु ।

हामीले सरकारलाई तीन वटा ऐन बनाउने कुरामा पूर्णरुपमा सहयोग गरेका छौँ । पहिलो औषधी ऐन बनाउने सन्दर्भमा सल्लाह दियौँ भने पुश कल्याणकारी ऐन बनाउने विषयमा पनि हामी आफैं अग्रसर भएर लागेका थियौँ । त्यस्तै तेस्रो पुश प्रजनन् ऐन बन्ने चरणमै छ । त्यसमा पनि हामी सरसल्लाह दिएका छौँ । यी सबै कामलाई अझ व्यवस्थित बनाउन र परिषद्लाई चुस्त दुरुस्त बनाउन आगमी कार्यकालका लागि उपाध्यक्ष पदमा मैले उम्मेद्वारी दिने घोषणा गरेको हुँ । मलाई साथीहरुले मतदान गरी विजयी गराउनु हुनेछ भन्ने विश्वास लिएको छु ।

Leave a Reply

Your email address will not be published.